बिहीबार, २१ जेठ २०८३
ताजा लोकप्रिय
शव परीक्षणमा ढिलाइ

काफलको रुखमुनि मृत फेला परेकी किशोरीको शव परीक्षणमै ढिलाइ, अनुसन्धान अल्झियो

आइतबार, २९ चैत २०८२, १८ : ३४
आइतबार, २९ चैत २०८२

सारांश

  • बैतडीको पुर्चौडीस्थित जङ्गलमा मृत फेला परेकी किशोरीको शव परीक्षणमा ढिलाइ हुँदा अनुसन्धान प्रभावित भएको छ।
  • मृतकका आफन्तले हत्याको आशंका गरेपछि प्रहरीले एक युवकलाई नियन्त्रणमा लिएर अनुसन्धान अघि बढाएको छ।
  • शव परीक्षणका लागि खटिएका चिकित्सक तालिममा रहेकाले रिपोर्ट आउन बाँकी छ।

धनगढी । ११ दिनअघि बैतडीको पुर्चौडीस्थित जङ्गलमा काफलको रुखमुनि लडिरहेको अवस्थामा मृत फेला परेकी किशोरीको शव परीक्षणमै ढिला हुँदा अनुसन्धान प्रक्रिया नतिजामुलक हुन सकेको छैन ।

पुर्चौडी नगरपालिका–३ घर भई स्थानीय मालिका माध्यमिक विद्यालयमा कक्षा ९ मा अध्ययनरत १६ वर्षीय गमला पार्कीको शव रुखमुनि फेला परेको हो । उनको मृत्यु शङ्कास्पद देखिएको छ ।

काफलको रुखको फेदमा गमलाको शव उत्तानो अवस्थामा फेला परेको थियो । उनले बैजनी र कलेजी रङको सुट लगाएकी थिइन् भने घाँटीमा सल बेरिएको थियो ।

शव भुइँमा फेला परेका कारण पनि उनले आत्महत्या गरेको नभई कसैले हत्या गरेको हुन सक्ने स्थानीयको आशंका छ ।

विद्यालयबाट घर फर्कने क्रममा हराएकी गमलाको घरबाट करिब एक किलोमिटर टाढा जङ्गलमा यसरी शव भेटिनुले घटनालाई थप रहस्यमय बनाएको छ ।

घटना सार्वजनिक भएलगत्तै जिल्ला प्रहरी कार्यालय बैतडीले अनुसन्धान अघि बढाए पनि हत्या वा आत्महत्या के हो भन्ने प्रस्ट भइसकेको छैन । मृतकका आफन्तले गमलाको मृत्यु स्वाभाविक नभएको भन्दै आत्महत्या दुरुत्साहन मुद्दामा उजुरी दिएका छन् । सोही जाहेरीका आधारमा प्रहरीले स्थानीय एक युवकलाई नियन्त्रणमा लिएको छ ।

जिल्ला प्रहरी कार्यालय बैतडीका सूचना अधिकारी सुरज सिंहले घटनामा एक जना शंकास्पद व्यक्तिलाई नियन्त्रणमा लिएर अनुसन्धान भइरहेको जानकारी दिए । उनीसँग सोधपुछ भइरहेको प्रहरीको भनाइ छ ।

प्रहरी निरीक्षक सिंहका अनुसार गमलाको शव परीक्षणका लागि डडेलधुरा अस्पतालमा पठाइएको भए पनि सम्बन्धित चिकित्सक तालिमका क्रममा धनगढी रहेका कारण शव परीक्षण हुन सकेको छैन ।

सम्बन्धित चिकित्सक आइतबार डडेलधुरा फर्कने जानकारी प्राप्त भएको र शव परीक्षण रिपोर्टका आधारमा अनुसन्धान टुङ्गोमा पुर्‍याइने प्रहरीले जनाएको छ ।

प्रहरीले अहिले पक्राउ परेका व्यक्तिसँगको बयानलाई आधार मानेर अनुसन्धान गरिरहेको छ ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप