राजधानीको तारकेश्वरमा भएको सवारी दुर्घटनामा प्रहरी निरीक्षक घाइते
सारांश
- काठमाडौँको तारकेश्वरमा सवारी दुर्घटना हुँदा ट्राफिक प्रहरी निरीक्षक अभय लामा घाइते भएका छन् ।
- मोटरसाइकललाई ट्रकले ठक्कर दिँदा घाइते भएका लामाको ललितपुरस्थित बिएण्डबी अस्पतालमा उपचार भइरहेको छ ।
- दुर्घटना गराउने ट्रक चालकलाई प्रहरीले नियन्त्रणमा लिएको छ ।
काठमाडौँ । राजधानीको तारकेश्वर नगरपालिका–८ स्थित डाँडागाउँमा भएको सवारी दुर्घटनामा परेर प्रहरी निरीक्षक (इन्स्पेक्टर) घाइते भएका छन् ।
उपत्यका ट्राफिक प्रहरी कार्यालयमा कार्यरत इन्स्पेक्टर अभय लामा दुर्घटनामा परेर घाइते भएको सोही कार्यालयका एसपी नरेश सुवेदीले रातोपाटीलाई जानकारी दिए ।
रामेछाप घर भएका उनी कार्यालयको काम सकेर गएराति फुटुङस्थित डेरामा जाँदै गर्दा दुर्घटनामा परेका थिए । उनले चलाएको बागमती प्रदेश–०२–०२९ प ९४१५ नम्बरको मोटरसाइकललाई बागमती प्रदेश–०३–००१ ख १७१५ नम्बरको ट्रकले ठक्कर दिएको सुवेदीको भनाइ छ ।
ट्रकको ठक्करबाट उनको टाउको, अनुहार, दुवै हातखुट्टा र छातीमा चोट लागेको छ । उनको ललितपुरस्थित बिएण्डबी अस्पतालमा उपचार भइरहेको सुवेदीले जानकारी दिए ।
दुर्घटना गराउने ट्रक चालक मकवानपुरको मनहरी गाउँपालिका–५ घर भएका ३८ वर्षीय आइत राम मोक्तानलाई प्रहरीले पक्राउ गरेको छ ।
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण