भीआईपीलाई अनिवार्य हो ‘पिर्के’ सलामी ?
सारांश
- गृहमन्त्री सुधन गुरुङले सुरक्षा निकायबाट दिइने पिर्के सलामी नलिने घोषणा गरेका छन्।
- विगतमा भीआईपीहरूले पिर्कामा चढेर सलामी लिने प्रवृत्तिले सामाजिक सञ्जालमा आलोचना खेप्दै आएको थियो।
- पूर्व सुरक्षा अधिकारीहरूले सलामी लिने विषयलाई फौजी संस्कारसँग जोडे पनि जथाभावी सलामी लिने प्रचलन गलत भएको बताएका छन्।
काठमाडौँ । गृहमन्त्री सुधन गुरुङले नवलपरासी (बर्दघाट सुस्ता पूर्व)मा पुगेर सुरक्षा निकायले दिने सलामी नलिने घोषणा गरे । गुरुङको सचिवालयका अनुसार आइतबार सशस्त्र प्रहरीको गैंडाकोटस्थित गुल्ममा पुगेर सो घोषणा गरेका हुन् ।
बिगतमा पिर्के सलामी लिँदा र दिँदा विवाद र स्टन्ट भएको थियो । २०७६ ताका रातो कपडा ओछ्याएको पिर्कामा चढेर सलामी लिएको घटना सामाजिक सञ्जालमा भाइरल हुन्थे । ओखढुंगाबाट प्रदेश सभा सदस्य जितेका अम्बिरबाबु गुरुङलाई सिद्धिचरण नगरक्षेत्रका विद्यार्थीहरूले सलामी दिएको घटना विवादमा परेको थियो ।
त्यसबेला राष्ट्रपति रनिङ शिल्ड प्रतियोगिता उदघाटन कार्यक्रममा विद्यार्थीहरूले पिर्कामा उभ्याएर तत्कालीन प्रदेश सभा सदस्य गुरुङलाई सलामी दिएका थिए ।
२०७६ असारमै ओखलढुंगा ‘ख’ बाट चुनाव जितेका माओवादी केन्द्रका पोलिटब्यूरो सदस्य मोहनकुमार खड्काले लिएको सलामी पनि विवादमा परेको थियो । सुनकोशी गाउँपालिकास्तरीय प्रथम अन्तरमाध्यमिक विद्यालय खेलकुद उदघाटनमा उनलाई विद्यार्थीहरूले पिर्के सलामी दिएका थिए ।
सामाजिक सञ्जालमा पिर्के सलामीको विरोध गर्ने नेकपा एमालेकी नेतृ रामकुमारी झाँक्री मन्त्री हुँदा आफैँ विवादमा परिन् । २०७८ पुसमा आफ्नो गृहजिल्ला गुल्मीमा जाँदा सहरी विकासमन्त्री रहेकी झाँक्रीलाई प्रहरीले पिर्के सलामी दिए । सो सलामीबारे आलोचना भएपछि झाँक्रीले स्पष्टिकरण दिइन् ।
नागरिकको भन्दा उपल्लो दर्जा करार गर्ने गरी पिर्कामा उभिएर सलामी थाप्ने प्रवृत्ति हिजोदेखि नै थियो । स्थानीय तह, प्रदेश र सङ्घीय संसदको निर्वाचनसँगै पिर्के सलामीका तस्बिरले सामाजिक सञ्जाल रङ्गिने गरेको थियो । सामाजिक सञ्जालमा त्यसबारे तीव्र आलोचना भएपछि पछिल्लो समय त्यस्तो प्रवृत्ति रोकिँदै गएको छ ।
अहिले गृहमन्त्री गुरुङले पिर्के सलामी नलिने घोषणा गरेपछि त्यसबारे पुनः चर्चा सुरु भएको छ । सलामी दिने फौजभन्दा केही उँचो ठाउँमा भीआईपीलाई राखेर सलामी दिने प्रचलन फौजी संगठनमा छ । फौजमा सलामी दिएपछि लिनुपर्ने परम्परा रहेको पूर्वडीआईजी हेमन्त मल्लले बताए । उनले भने, ‘व्यक्तिलाई होइन, झण्डालाई सलामी दिने कल्चर हो, त्यो लिनुपर्छ ।’
_nfCSq2VJaZ.jpg)
तर, सलामी दिने नाममा जथाभावी दिनु र लिनु नहुने पूर्वडीआईजी मल्ल बताउँछन् । ‘जथाभावी लिनु हुँदैन, सलामी लिने ठाउँ हुन्छ,’ उनले भने ।
सलामी दिँदा सुरक्षाकर्मीहरूले अफिसियल पोसाक लगाउने र लिनेले भद्र पोसाक लगाउने प्रचलन रहेको उनको भनाइ छ । सलामीको प्रचलनबारे उनले भने, ‘पञ्चायत अघिदेखि नै सुरु भएको यो फौजी संस्कार हो ।’
पछिल्लो समय पदमा पुगेकाहरूलाई रिझाउन कतिपय सुरक्षा अधिकृतहरूले भीआईपी बस्ने होटल र सडकमै सलामी दिन थालेपछि ‘विवाद’ बढेको हो । पूर्वडीआईजी मल्लले भने, ‘बाटोमा होइन, भीआईपीलाई कार्यालयमै सलामी दिनुपर्ने कल्चर हुन्छ ।’
सलामी कल्चर विकृत भएर कतिसम्म भएको थियो भने धनकुटाको महालक्ष्मी नगरपालिकाका तत्कालीन मेयर परशु नेपालले टेबलमा चढेर सलामी लिए । उनी नेकपा एमालेका कार्यकर्ता हुन् ।
भीआईपीलाई सलामी दिनेबारे प्रहरी र सशस्त्र प्रहरी बलको कार्यादेशमा व्यवस्था गरिएको छ । अहिलेका गृहमन्त्री सुधन गुरुङले पिर्के सलामी नलिने निर्णय गरेको विषय ‘उचित’ रहेको पूर्व आईजीपी सर्वेन्द्र खनालले बताए ।

खनालले भने, ‘औपचारिक समारोह र निरीक्षण कार्यक्रममा चाहिँ लिनुपर्ने कल्चर छ ।’ अनौपचारिक भिजिट गर्दा चौकी तहमा सलामी दिने जनशक्ति पनि नहुने उनको भनाइ छ ।
‘सलामी दिँदा १–८ को टोली चाहिन्छ । त्यसमा एकजना कमाण्डर र अरु ८ जना सलामी टोली हुन्छन्,’ पूर्व आईजीपी खनालले भने, ‘दरबन्दी नै कम भएको ठाउँमा सलामी दिनुपर्दा व्यवस्थापन गर्न पनि असहज हुने गरेको मेरो अनुभव छ ।’
अनिवार्य ‘गार्ड अफ अनर’
पिर्के सलामी अनिवार्य हुनुपर्ने व्यवस्था नभए पनि फौजमा त्यो संस्कार हो, तर औपचारिक समारोहमा दिइने ‘गार्ड अफ अनर’ चाहिँ अनिवार्य हुने सुरक्षा अधिकृतहरू बताउँछन् । विदेशका राष्ट्रप्रमुख र सैनिक प्रमुख भ्रमणमा आउँदा सेनाले ‘गार्ड अफ अनर’ दिने प्रचलन छ ।
नेपालका भीआईपीहरू विदेशको औपचारिक भ्रमणमा जाँदा पनि त्यहाँ ‘गार्ड अफ अनर’ प्रदान गर्ने प्रचलन छ ।
गृहमन्त्री र गृहसचिवहरू सुरक्षा संगठनको प्रधान कार्यालय भ्रमणमा जाँदा औपचारिक सलामी दिने कल्चर छ । त्योचाहिँ अनिवार्य रहेको पूर्वडीआईजी मल्लले बताए ।

पञ्चायती व्यवस्थामा अञ्चलाधीशहरूले पिर्के सलामी लिने गरेका थिए । पछिल्लो समय स्थानीय तहमा चुनाव जितेकाहरूले पिर्के सलामी मोह देखाएको भन्दै आलोचना हुने गरेको छ । स्थानीय तहका प्रमुखहरूले स्थानीय चौकी र खेलकुद कार्यक्रमको उद्घाटन तथा समापन समारोहमा पिर्का, कसैले कुर्सीमा त कसैले टेबुलमै चढेर सलामी खाए । जनताको प्रतिनिधिभन्दा पनि वंशीय शासक नै ठान्ने प्रवृत्तिले पिर्के सलामीले केही समय निरन्तरता पाए पनि आलोचना बढेपछि अहिले घटेको छ ।
तर, सुरक्षा बलको कार्यालयमा उच्च सुरक्षा अधिकृत र भीआईपीहरूले राइफलमार्फत सलामी लिनुचाहिँ कल्चर भएको सुरक्षा अधिकृतहरूको विष्लेषण छ । खेलकुदको एउटा कार्यक्रममा पिर्के सलामी लिँदा पूर्वप्रधानमन्त्री बाबुराम भट्टराईको पनि आलोचना भएको थियो ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
आज पाँच जिल्लाका साना नदीमा बाढीको जोखिम
-
रास्वपा महाधिवेशन नसकिएपछि फेरि सर्यो प्रतिनिधि सभा बैठक
-
इरानको चेतावनी लगत्तै होर्मुजमा सिङ्गापुरको जहाजमाथि आक्रमण
-
प्रतिनिधिसभा बैठकमा आज पाँच विधेयक प्रस्तुत हुने
-
बुटवल–गोरुसिङ्गे सडकको डाइभर्सन बग्यो, वैकल्पिक सडक प्रयोग गर्न प्रहरीको आग्रह
-
भेनेजुएलामा शक्तिशाली भूकम्प : २३५ जनाको मृत्यु, ४ हजारभन्दा बढी घाइते
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण