पिउने पानीको बोतलमा प्लास्टिकको ‘नेक–सिल’ प्रयोग गर्न नपाइने, लेबलिङमा कडाइ
सारांश
- सरकारले पिउने पानीको बोतलमा प्रयोग हुने प्लास्टिकको 'नेक-सिल'मा पूर्ण प्रतिबन्ध लगाएको छ।
- पानीको बोतल र जारमा कम्पनीको विवरण अनिवार्य रूपमा एम्बुसिङ वा प्रिन्ट गर्नुपर्ने व्यवस्था गरिएको छ।
- नियम कार्यान्वयनका लागि बोतल उद्योगीलाई ३५ दिन र जार उत्पादकलाई ६० दिनको समयसीमा दिइएको छ।
काठमाडौँ । सरकारले बजारमा उपलब्ध हुने पिउने पानी (बोतल र जार) को गुणस्तर सुनिश्चित गर्न र वातावरणीय प्रदूषण न्यूनीकरण गर्न नयाँ नियम लागू गरेको छ । वाणिज्य, आपूर्ति तथा उपभोक्ता संरक्षण विभागले एक सूचना जारी गर्दै पानीको बोतलको बिर्कोमा प्रयोग गरिने थप प्लास्टिकको ‘नेक–सिल’मा पूर्ण प्रतिबन्ध लगाएको छ ।
वाणिज्य विभाग, खाद्य प्रविधि तथा गुण नियन्त्रण विभाग, वातावरण विभाग र नेपाल बोतल वाटर उद्योग सङ्घका प्रतिनिधिहरूको संयुक्त बैठकको निर्णयअनुसार यो नयाँ व्यवस्था कार्यान्वयनमा ल्याइएको हो ।
साथै अबदेखि पानीको बोतलको बिर्को सिल गरिसकेपछि त्यसको माथि थप प्लास्टिकको ‘नेक–सिल’ वा बाह्य प्लास्टिक लेयर राख्न पाइने छैन । यसको सट्टा उत्पादकले आफ्नो पहिचान खुल्ने गरी बोतलको बिर्कोमै अनिवार्य रूपमा ‘एम्बुसिङ’ , स्क्रिन प्रिन्ट वा लेजर प्रिन्ट गर्नुपर्नेछ। यो व्यवस्था पूर्ण रूपमा लागू गर्न उद्योगीहरूलाई ३५ दिनको समयसीमा दिइएको छ ।
पिउने पानीको जारमा पनि अबदेखि अनिवार्य रूपमा एम्बुसिङ वा स्क्रिन प्रिन्टमार्फत लेबलिङ गर्नुपर्ने उल्लेख छ । जारमा खाद्य प्रविधि तथा गुण नियन्त्रण विभागबाट प्राप्त अनुज्ञापत्र नम्बर र उत्पादक कम्पनीको नाम, ठेगाना वा लोगो स्पष्ट देखिने गरी राख्नुपर्ने व्यवस्था गरिएको छ ।
नयाँ उत्पादन हुने जारको हकमा यो व्यवस्था तत्काल लागू हुनेछ भने पुराना उत्पादकहरूलाई यो व्यवस्था पूर्ण रूपमा कार्यान्वयन गर्न ६० दिनको समय उपलब्ध गराइएको छ ।
नयाँ नियमको पालना भए–नभएको अनुगमन गर्न वाणिज्य विभाग, वातावरण विभाग र खाद्य प्रविधि तथा गुण नियन्त्रण विभागले संयुक्त टोली परिचालन गर्नेछन् । वातावरणीय प्रदूषण कम गर्ने र उपभोक्तालाई गुणस्तरीय पानीको सुनिश्चितता प्रदान गर्ने उद्देश्यले यो कदम चालिएको विभागले जनाएको छ ।
खाद्य प्रविधि तथा गुण नियन्त्रण विभागले यससम्बन्धी थप विस्तृत प्राविधिक मापदण्डहरू चाँडै जारी गर्ने सूचनामा उल्लेख छ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
‘बाध्यकारी श्रम’को आरोपमा बेलायत र क्यानडासहित ६० व्यापार साझेदारमाथि भन्सार शुल्क लगाउने ट्रम्पको चेतावनी
-
‘घरदैलोको अदालत’ले विश्वास जित्दै, दलित समुदायको पहुँच भने कमजोर
-
ट्राफिक कारबाहीमा एकैदिन २२ लाख ७६ हजार राजस्व सङ्कलन
-
सोच्ने कामको जिम्मा एआईलाई दिनु हुँदैन
-
यस्तो छ आजका लागि कृषिउपजको थोक मूल्य
-
कांग्रेस केन्द्रीय अनुशासन समितिको बैठक बस्दै
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण