बिहीबार, २१ जेठ २०८३
ताजा लोकप्रिय

संघीय सरकारले प्रदेश र स्थानीय सरकारलाई ठाडो निर्देशन दिन मिल्दैन– मुख्यमन्त्री आचार्य

सोमबार, ३० चैत २०८२, १८ : २१
सोमबार, ३० चैत २०८२

बुटवल । लुम्बिनी प्रदेशका मुख्यमन्त्री चेतनारायण आचार्य ले संघीय सरकारले प्रदेश र स्थानीय सरकारमाथि अनावश्यक हस्तक्षेप गर्न खोजेको भन्दै संविधानले दिएको अधिकारभन्दा बाहिर गएर ठाडो निर्देशन जारी नगर्न आग्रह गरेका छन् । 

दाङको तुलसीपुर उपमहानगरपालिका को ३४औँ स्थापना दिवसका अवसरमा सोमबार आयोजित उद्घाटन कार्यक्रममा मुख्यमन्त्री आचार्यले प्रदेश र स्थानीय सरकार संविधानअनुसार स्वायत्त रहेको स्पष्ट पारे । उनले संघीय सरकारले निर्देशन दिन सक्ने भए पनि ठाडो हस्तक्षेप स्वीकार्य नहुने बताए । 

उनले भने, 'संविधानले निर्दिष्ट गरेका अधिकार कार्यान्वयनका लागि संघीय सरकारसँग समन्वय, सहकार्य र सहअस्तित्वमा अघि बढ्न हामी तयार छौँ ।' 

मुख्यमन्त्री आचार्यले भदौ महिनापछि विभिन्न खालका निर्देशन आउने क्रम बढेको उल्लेख गर्दै त्यसप्रति संघीय सरकारको गम्भीर ध्यानाकर्षण गराए । साथै सञ्चार क्षेत्रप्रति गरिएको व्यवहारप्रति पनि प्रदेश सरकार गम्भीर रहेको बताउँदै त्यस्ता निर्णय अविलम्ब सच्याउन माग गरे । 

उनले तीनै तहका सरकार योजनाबद्ध ढंगले अघि बढ्नुपर्ने आवश्यकता औंल्याउँदै राष्ट्रियताको सवाललाई कमजोर पार्न नहुने धारणा राखे । 

कार्यक्रममा उनले तुलसीपुर उपमहानगरपालिका का सम्पूर्ण नगरवासीलाई शुभकामना व्यक्त गर्दै विगत ३४ वर्षमा नगरको विकासमा योगदान पुर्‍याउने अग्रज तथा सामाजिक अभियन्ताहरूप्रति सम्मान व्यक्त गरे । शिक्षा, स्वास्थ्य, पूर्वाधार तथा सामाजिक क्षेत्रमा उल्लेखनीय प्रगति भएको उल्लेख गर्दै संघीयता कार्यान्वयनपछि विकासको गति अझ तीव्र भएको बताए । 

टीकाराम खड्काको अध्यक्षतामा सम्पन्न कार्यक्रममा प्रतिनिधिसभा सदस्य कमल सुवेदी, निवर्तमान नगरप्रमुख घनश्याम पाण्डेलगायत विभिन्न राजनीतिक दलका प्रतिनिधि, सामाजिक संघसंस्थाका प्रमुख तथा नगरवासीहरूको सहभागिता थियो ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप