रामेछापमा पुष्पलाल मार्क्सवादी विश्वविद्यालय उद्घाटन
सारांश
- रामेछापको भँगेरीमा पुष्पलाल मार्क्सवादी विश्वविद्यालयको औपचारिक उद्घाटन गरिएको छ।
- विश्वविद्यालयको पहिलो ब्याचमा ३० जना विद्यार्थी सहभागी भई मार्क्सवादी शिक्षा प्राप्त गरेका छन्।
- जेठ महिनामा विज्ञ सम्मेलन आयोजना गरी नयाँ पाठ्यक्रम पारित गर्ने योजना रहेको छ।
रामेछाप । रामेछापको भँगेरीस्थित पुष्पलाल–गङ्गालाल जन्मस्थलमा पुष्पलाल मार्क्सवादी विश्वविद्यालय उद्घाटन गरिएको छ । नेपाल राष्ट्र बैङ्कका पूर्वगभर्नर एवम् राष्ट्रिय योजना आयोगका पूर्वउपाध्यक्ष दीपेन्द्रबहादुर क्षेत्री, क्रान्तिकारी कम्युनिस्ट पार्टी नेपालका प्रवक्ता तथा मार्क्सवादी दर्शनशास्त्री हेमन्तप्रकाश ओली ‘सुदर्शन’, मार्क्सवादी सौन्दर्यशास्त्री प्रा. डा. गोपीन्द्र पौडेल, समाजवादी कम्युनिस्ट पार्टी नेपालका महासचिव पूर्णबहादुर सिंह ‘समरजङ्ग’ र पुष्पलाल मार्क्सवादी विश्वविद्यालयका परिकल्पनाकार एवम् अध्यक्ष अशोक सुवेदीले संयुक्त रूपमा विश्वविद्यालय उद्घाटन गरेका हुन् ।
पुष्पलाल–गङ्गलाल जन्मस्थल भँगेरीमा रहेको पुष्पलाल–गङ्गालालको सालिकमा २४ गते पूर्वगभर्नर क्षेत्री, दर्शनशास्त्री सुदर्शन, सौन्दर्यशास्त्री पौडेल, महासचिव समरजङ्ग र अध्यक्ष सुवेदीले संयुक्त रूपमा विश्वविद्यालयको ब्यानर उद्घाटन गरेपछि भँगेरी, सिर्जनानगर र मन्थली नगरपालिकाको सभाकक्षमा अध्यापकहरूले शिक्षार्थीहरूलाई पाँच दिनसम्म मार्क्सवाद अध्यापन गरेका थिए । पहिलो ब्याचमा तीसजना विद्यार्थी सहभागी रहेको विश्वविद्यालयले जनाएको छ । साधनस्रोतको सीमितताका कारण पहिलो ब्याचमा यसभन्दा बढी विद्यार्थीलाई पठनपाठन गराउन नसकिएको बताइएको छ ।

कक्षामा पूर्वगभर्नर अर्थशास्त्री क्षेत्रीले मार्क्सवादी अर्थशास्त्र, सुदर्शनले मार्क्सवादी दर्शनशास्त्र, पौडेलले मार्क्सवादी सौन्दर्यशास्त्र, महासचिव समरजङ्गले वैज्ञानिक समाजवाद र सुवेदीले मार्क्सवादी विश्वविद्यालय र वर्गसङ्घर्षका विषयमा अध्यापन गरेका थिए ।
कक्षा समापनपछि मार्क्सवादी कक्षा लिने पहिलो ब्याचलाई दीक्षित गरिएको छ । चैत २४ गतेदेखि २८ गतेसम्म भएको मार्क्सवादी कक्षाको पहिलो ब्याचलाई दीक्षित गरिएको हो । पुष्पलाल मार्क्सवादी विश्वविद्यालयको पहिलो ब्याचलाई अध्यापक क्षेत्री, सुदर्शन, पौडेल र सुवेदीले दीक्षित गरेका हुन् ।
दीक्षान्त समारोहमा शिक्षार्थीका तर्फबाट जनवर्गहरूबाट किसान प्रतिनिधि विजय पौडेल, महिला प्रतिनिधि सीता गौतम, सहिद परिवार तथा सञ्चार प्रतिनिधि धर्बिन्द्र विक, युवा प्रतिनिधि सरोज न्यौपाने, मजदुर प्रतिनिधि सुजाता रोका, स्रष्टा प्रतिनिधि रसुवाली कवि, विद्यार्थी प्रतिनिधि मुक्ति गैरेलगायतले मार्क्सवादी कक्षा लिएर दीक्षित हुँदा आफूहरू गौरवान्वित भएको र सिकेको ज्ञानलाई समाजमा व्यवहारमा लगाउने बताए ।
दीक्षान्त समारोहमा विश्वविद्यालयका परिकल्पनाकार सुवेदीले प्राध्यापकहरू क्षेत्री, सुदर्शन, पौडेल र समरजङ्गलाई दोसल्ला र आभारपत्रसहित अभिनन्दित गरेका थिए । पुष्पलाल माकर्सवादी विश्वविद्यालय उद्घाटन तथा कक्षा आरम्भका क्रममा समाजवादी कम्युनिस्ट पार्टी नेपालका स्थायी समिति सदस्यहरू माधव गौतम, विनोद थापा, खम्बु चन्द, क्रान्तिकारी कम्युनिस्ट पार्टी नेपालकी सचिवालय सदस्य अम्बिका चन्द ‘सुदृष्टि’, नेपाली कम्युनिस्ट पार्टीका बागमती प्रदेश सदस्य दीपक प्रसाईं, रामेछाप नगरपालिकाका प्रमुख लवश्री न्यौपाने, मन्थली नगरपालिकाका प्रमुख लव श्रेष्ठलगायतले शुभकामना प्रदान गरेका थिए भने विश्वविद्यालयका संस्थापक सदस्य विश्वम्भर लामिछानेले स्वागत गरेको जानकारी विश्वविद्यालयले दिएको छ ।

नेपालमा क्रियाशील विभिन्न १९ कम्युनिस्ट÷वामपन्थी पार्टीका प्रमुख, पुष्पलाल अध्ययन समाज, पुष्पलाल स्मृति प्रतिष्ठान, कोरियाली जुछे विचारका अनुयायी संस्था र प्रमुखहरूले शुभकामना प्रेषित गरेको विश्वविद्यालयले जनाएको छ । विश्वविद्यालयले जेठ महिनासम्ममा काठमाडौँमा मार्क्सवादी अध्येताहरूको विज्ञ सम्मेलन आयोजना गर्ने र विज्ञ सम्मेलनमार्फत परिमार्जनसहित विकसित पाठ्यक्रम पारित भएपछि देशका विभिन्न स्थानमा कक्षा सञ्चालन गरिने जनाइएको छ । मार्क्सवाद लेनिनवाद माओवादको दर्शन, सिद्धान्त र विचारलाई संसारका उत्पीडित, श्रमिक, सर्वहारा वर्गसम्म पु-याई मालेमालाई नयाँ उचाइमा उठाएर प्रयोगमा नवीनता र सिर्जनशीलता ल्याउन विश्वविद्यालय स्थापना र कक्षा सञ्चालन गरिएको जानकारी अध्यक्ष सुवेदीले दिएका छन् । वर्गसङ्घर्षका क्रममा रुस, चीन, जर्मनी, कोरिया, क्युबा, भियतनाम, नेपाल, भारत, पेरूलगायत मुलुकबाट प्राप्त ज्ञान र विज्ञानप्रविधिलाई विशेष ध्यान दिइएको बताइएको छ । पुष्पलाल मार्क्सवादी विश्वविद्यालय उद्घाटनपछि विश्वविद्यालयका लागि वैचारिक प्राज्ञिक समूह, पाठ्यक्रम विज्ञ, राजनीतिक–वैचारिक समूह, दार्शनिक–वैचारिक समूह, सल्लाहकार समूह र व्यवस्थापन समूह पनि प्रस्ताव गरिएको छ ।
रामेछाप, काठमाडौँ र देशका विभिन्न स्थानमा विगत २० वर्षदेखि हितप्रसाद उपाध्याय जूनमाया सुवेदी साहित्य प्रतिष्ठान, मार्क्सवादी साहित्य प्रतिष्ठान र रामेछाप साहित्य प्रतिष्ठानले सञ्चालन गर्दै आएको मार्क्सवादको विचारधारात्मक कामलाई यस वर्षदेखि पुष्पलाल मार्क्सवादी विश्वविद्यालयले ग्रहण गरेको बताइएको छ । मार्क्सवादी विश्वविद्यालय विश्वमै प्रथम भएको र यसको विस्तार सबै मुलुकमा गरिने जानकारी आयोजकहरूले दिएका छन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
कीर्तिमानी मूल्यका ऋषभ पन्तले तलब घटाएर रोजे पुरानै टोली, कुलदीपसँग भयो साटासाट
-
त्रिवि केन्द्रीय क्याम्पसमा पोस्टर प्रदर्शन, तस्बिरहरू
-
शिक्षा ऐन नआउँदा विद्यालय शिक्षामा विकृति र व्यवस्थापकीय समस्या देखियो : शिक्षासचिव पौडेल
-
चीनमा भारी वर्षाका कारण ९ हजार भन्दा बढी बिस्थापित, विद्यालयहरू बन्द
-
५ दिनभित्र होल्डिङ सेन्टर खाली गर्न सुकुमबासीलाई अल्टिमेटम
-
नेपालमा बोसमो पहिलो ब्रान्ड स्टोर सञ्चालन, प्रिमियम होम अप्लायन्स बजारमा विस्तार
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण