मङ्गलबार, ०९ असार २०८३
ताजा लोकप्रिय

२०१२ को दिल्ली बलात्कारको झल्को दिने गरी भारतमा अर्को क्रूर सामूहिक बलात्कार

मङ्गलबार, ०९ असार २०८३, १४ : ४१
मङ्गलबार, ०९ असार २०८३

सारांश

  • भारतको बिहार राज्यमा एक महिलालाई आफ्नै घरमा सामूहिक बलात्कार गरी यौनाङ्गमा विभिन्न वस्तुहरू घुसाइएको घटना सार्वजनिक भएको छ ।
  • घटनास्थलमा गोलीको खोका फेला परेको र अस्पतालका अधिकारीहरूले वस्तु प्रयोग गरी आक्रमण भएको पुष्टि गरेपछि यो घटनाले राष्ट्रिय ध्यान तानेको छ ।
  • प्रहरीले दुई जना अभियुक्तलाई पक्राउ गरेको र बाँकीलाई खोजी गरिरहेको जनाएको छ, तर पीडित महिलाले प्रहरी र स्वास्थ्य निकायबाट सुरुमा कम सहयोग पाएको आरोप लगाएकी छन् ।

काठमाडाैँ । भारतको राजधानी दिल्लीमा बसभित्र एक महिलामाथि भएको सामूहिक बलात्कारले विश्वव्यापी चर्चा बटुलेको १३ वर्षपछि महिलामाथि गरिएको क्रूरताको हिसाबले त्यससँग तुलना गर्न सकिने अर्को घटना उत्तरी राज्य बिहारबाट सार्वजनिक भएको छ।

चार साना बालबालिकाकी २८ वर्षीया आमा सोमा (नाम परिवर्तन)ले बीबीसी हिन्दीलाई बताए अनुसार उनीमाथि आफ्नै घरमा पुरुषहरूको एक समूहले आक्रमण गरी सामूहिक बलात्कार गरेको थियो र उनीहरूले उनको यौनाङ्गमा विभिन्न वस्तुहरू समेत घुसाएका थिए ।

घटना जुन ११ को रात बिहारको बेगुसराय जिल्लाको एक गाउँमा भएको थियो । बेगुसरायलाई भारतका सामाजिक र आर्थिक रूपमा सबैभन्दा पछाडि परेका जिल्लामध्ये एक मानिन्छ ।

अस्पतालका अधिकारीहरूले उनीमाथि वस्तु प्रयोग गरेर आक्रमण गरिएको पुष्टि गरेपछि यो घटनाले राष्ट्रिय ध्यान तान्यो । चिकित्सकहरूले ती वस्तुहरू निकालिदिएका थिए । सोमा आफैले पनि एउटा गोलीको खोका प्रस्तुत गरेकी थिइन्, जुन उनको भनाइअनुसार आक्रमणमा प्रयोग गरिएका वस्तुमध्ये एक थियो ।

पासविय आक्रमणको विवरण सुनाउँदै सोमाले भनिन् कि त्यो रात उनी आफ्नो एक कोठे घरबाहिर रहेको शौचालयमा थिइन्, जहाँ पाँच जना पुरुष  जबर्जस्ती पसे । उक्त शौचालयमा ढोका थिएन, लाज ढाक्नका लागि केवल कपडाको पर्दा झुण्ड्याइएको थियो ।

‘उनीहरूले मेरो कपडा खोले, मुख बाँधे र हात बाँधे । मैले प्रतिरोध गर्ने प्रयास गर्दा ब्लेडले मेरो छाती चिरे र बलात्कार गरे,’ उनले भनिन् । केहि समय पछि घटनाबारे उनका श्रीमानलाई शङ्का लागेपछि बाहिर निस्कन खोजे । ‘तर घर बाहिरबाट ताल्चा लगाइएको थियो। उहाँले छिमेकीलाई बोलाउनुभयो । छिमेकी आएर ढोका खोले । त्यसपछि मात्र सबैले मेरो अवस्था देखेपछि रुन थाले ।’

बेगुसरायका प्रहरी प्रमुख मनिष भन्छन्, ‘चिकित्सकीय प्रतिवेदनले यौन हिंसा भएको पुष्टि गरेको छ ।’ ‘यस मुद्दामा तीन जना नाम तोकिएका र दुई जना अज्ञात अभियुक्त छन् । हामीले दुई जनालाई पक्राउ गरिसकेका छौँ । यसका लागि गठन गरिएको विशेष अनुसन्धान टोलीले अन्य अभियुक्तलाई पक्राउ गर्न छापा मारिरहेको छ र अनुसन्धान जारी छ,’ उनले भने ।

प्रहरीका अनुसार केही अभियुक्तको विगतमा पनि आपराधिक गतिविधिसँग सम्बन्ध रहेको छ र उनीहरूमाथि सामूहिक बलात्कारसम्बन्धी कसुर लगाइएको छ । सोमाका अनुसार आक्रमण भएकै रात उनले प्रहरी र स्वास्थ्य निकायबाट निकै कम सहयोग पाइन् ।

उनका ई–रिक्सा चालक श्रीमानले बेहोस अवस्थाकी पत्नीलाई घरबाट करिब तीन किलोमिटर टाढाको प्रहरी चौकीमा लगेका थिए । तर उनले आरोप लगाएअनुसार प्रहरीले उजुरी दर्ता गर्न अस्वीकार गर्‍यो र बरु चिकित्सककहाँ लैजान सुझाव दिँदै फर्काइदियो ।

बेगुसराय प्रहरीले पछि प्रहरी चौकी प्रमुख राजीव कुमारलाई ‘लापरबाही, उदासीनता र असंवेदनशीलता’ का कारण निलम्बन गरिएको जनाएको छ । प्रहरीले घटनासम्बन्धी एफआईआर जुन १३ मा दर्ता गरिएको पनि जनाएको छ ।

आक्रमणपछि सोमाले उचित स्वास्थ्य सेवा पाउन पनि सङ्घर्ष गर्नुपरेको बताएकी छन् । घटनाको रात उनलाई नजिकैको निजी क्लिनिकले आपत्कालीन सेवा नदिने र डाक्टर ड्युटीमा नरहेको भन्दै फर्काइदिएको थियो । त्यसपछि उनलाई सरकारी सामुदायिक स्वास्थ्य केन्द्रमा लगियो । त्यहाँको प्राथमिक उपचारपछि जिल्ला अस्पताल पठाइयो ।

जुन १२ मा होस खुलेपछि उनले आफ्ना श्रीमान् र उपचार गर्ने चिकित्सकलाई सामूहिक बलात्कारबारे बताएकी थिइन् । ‘इन्जेक्सन लगाउँदै गर्दा डाक्टरले मलाई सोध्नुभयो, ‘तिमीमाथि बलात्कार पनि भएको हो ?’ मैले बारम्बार भनिरहेँ, ‘हो म्याडम, ममाथि बलात्कार भएको हो,’ उनले भनिन् ।

तर बेगुसरायका सिभिल सर्जन अशोक कुमारका अनुसार, ती महिलालाई पेट दुखेको गुनासोसहित अस्पताल ल्याइएको थियो र सामूहिक बलात्कारबारे अस्पताललाई जुन १३ मा मात्रै जानकारी दिइएको थियो ।

‘त्यसपछि चिकित्सकहरूले तुरुन्तै उनको स्वास्थ्य परीक्षण गरेका थिए,’ उनले भने । त्यसपछि अस्पतालले सोमालाई घर पठायो, तर उनी भोलिपल्ट फेरि बेहोस भएपछि पुनः अस्पताल भर्ना गराइन् । एक दिनपछि उनलाई फेरि डिस्चार्ज गरिएको थियो ।

‘जुन १८ को बिहान सोमाले आफ्नो योनिबाट खसेको एउटा गोलीको खोका हामीलाई देखाइन्,’ उनले भने । त्यसपछि उनले उनलाई पुनः अस्पताल लगे । सिभिल सर्जन कुमारका अनुसार त्यो एउटा खाली कारतुसको खोका थियो ।

‘हामीले पुनः परीक्षण गर्‍यौँ र चिकित्सकहरूले उनको शरीरबाट अन्य वस्तुहरू पनि निकाले । अहिले उनको अवस्था स्थिर छ र उनी स्वास्थ्यलाभ गरिरहेकी छन्,’ उनले बताए ।

सोमाको घटनाले भारतमा सन् २०१२ मा दिल्लीमा २३ वर्षीया फिजियोथेरापी छात्रामाथि भएको सामूहिक बलात्कार तथा त्यसपछिको मृत्युको घटनासँग तुलना गरिएको छ । उक्त घटनामा पनि पीडितामाथि विभिन्न वस्तु प्रयोग गरी अत्यन्त क्रूर हिंसा गरिएको थियो ।

सन् २०१२ को दिल्ली बस सामूहिक बलात्कारपछि भारतमा यौन अपराधहरूमाथि निगरानी बढेको छ । त्यो अपराधले विश्वव्यापी आक्रोश, भारतभर व्यापक प्रदर्शन र बलात्कारसम्बन्धी कानुनलाई कडा बनाउने प्रक्रियालाई जन्म दिएको थियो । गम्भीर घटनाहरूमा मृत्युदण्डको व्यवस्था समेत लागू गरिएको थियो ।

दोषी ठहरिएका चार जनालाई सन् २०२० मा फाँसी दिइएको थियो । एक जनाको जेलमै मृत्यु भयो भने एक किशोर अभियुक्त सुधार केन्द्रमा सजाय भुक्तान गरेपछि रिहा गरिएको थियो ।

तर त्यसपछि यौन अपराधमाथि निगरानी बढे पनि भारतमा हरेक वर्ष ३० हजारभन्दा बढी बलात्कारका घटना दर्ता हुने गरेका छन् । बलात्कारविरोधी अभियानकर्ता योगिता भयाना भन्छिन्, ‘हामीले कुनै पाठ सिकेका छैनौँ ।’

उनका अनुसार धेरै घटना रिपोर्ट नै हुँदैनन् वा सार्वजनिक ध्यानमा आउँदैनन्, किनभने समाज यस्ता अत्यन्त क्रूर घटनाप्रति बिस्तारै संवेदनहीन बन्दै गएको छ । ‘यस्ता घटनाहरू भइरहनुको कारण बलात्कार गरे मृत्युदण्डसम्म हुन सक्छ भन्ने सन्देश भारतको अन्तिम कुनासम्म पुगेको छैन । समाजमा पर्याप्त डर उत्पन्न भएको छैन,’ उनले बताइन् ।

सोमाको घटनाले यति धेरै ध्यान पाउनुको कारण उनको गोप्य अङ्गभित्र गोलीको खोका हालिएको भन्ने समाचार हो । कम्तीमा उनी बाँचिन्, र म यसलाई सकारात्मक पक्षका रूपमा हेर्छु,’ भयाना भन्छिन् । बेगुसरायमा सोमाले अहिले पनि अस्पतालको शय्यामा उपचार गरिरहेकी छन् । 

उनी अझै पनि गम्भीर पीडामा छिन्, तर चाँडै निको भएर आफ्ना छोराछोरीकहाँ फर्किने आशा राखेकी छन् । अभियन्ताहरूका अनुसार यो घटना यौन हिंसाको सामना गर्ने महिलाहरूले, विशेष गरी साना सहर र गाउँहरूमा, नियमित रूपमा भोग्ने प्रहरी र स्वास्थ्य निकायहरूको उदासीनताको कथा पनि हो ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

एजेन्सी
एजेन्सी
लेखकबाट थप