बिहीबार, २१ जेठ २०८३
ताजा लोकप्रिय

पोखरामा प्रहरीको ‘स्वीप अप्रेसन’ : नयाँ वर्षमा हुलदंगा गर्ने १८ जना पक्राउ, ४१ सवारी साधनमाथि कारबाही

बुधबार, ०२ वैशाख २०८३, ०७ : १८
बुधबार, ०२ वैशाख २०८३

सारांश

  • नयाँ वर्षको अवसरमा पोखरामा शान्ति सुरक्षा कायम राख्न कास्की प्रहरीले चलाएको स्वीप अप्रेसनमा १८ जना पक्राउ परेका छन्।
  • प्रहरीले मादक पदार्थ सेवन गरी होहल्ला गर्ने र सार्वजनिक शान्तिमा खलल पुर्‍याउने गतिविधिमा संलग्न ४१ वटा सवारी साधनलाई कारबाही गरेको छ।

पोखरा । नयाँ वर्ष २०८३ को अवसरमा पर्यटकीय नगरी पोखरामा शान्ति सुरक्षा कायम राख्न कास्की प्रहरीले चलाएको ‘स्वीप अप्रेसन’ का क्रममा १८ जना व्यक्ति र ४१ वटा सवारी साधन कारबाहीमा परेका छन्। मादक पदार्थ तथा लागू पदार्थ सेवन गरी हो–हल्ला गर्ने, सवारी साधनको स्वरूप परिवर्तन गरी ध्वनि प्रदूषण फैलाउने र सार्वजनिक शान्तिमा खलल पुर्‍याउने गतिविधि बढेको जनगुनासोपछि प्रहरीले यो कदम चालेको हो।

जिल्ला प्रहरी कार्यालय कास्कीका सूचना अधिकारी एवं प्रहरी नायव उपरीक्षक हरिबहादुर बस्नेतका अनुसार वैशाख १ गते दिउँसो ३ बजेदेखि साँझ ६ बजेसम्म पोखराका विभिन्न रणनीतिक स्थानहरूमा प्रहरी टोली परिचालन गरिएको थियो। अप्रेसनका क्रममा पोखरा महानगरपालिकाको काहुडाँडा, चाउथे, मेथलाङ र बेगनास क्षेत्रबाट मादक पदार्थ र लागू औषध सेवन गरी सवारी चलाउने तथा उच्छृङ्खल गतिविधिमा संलग्नहरूलाई नियन्त्रणमा लिइएको छ।

विशेष गरी काहुडाँडा क्षेत्रबाट ८ जना मानिस र १० वटा सवारी साधन नियन्त्रणमा लिइएको छ भने चाउथेमा ट्राफिक प्रहरीसहितको टोलीले ९ वटा सवारी साधनमाथि कारबाही गरेको छ। यस्तै, पर्यटकीय क्षेत्र मेथलाङबाट १३ वटा सवारी साधन र ५ जना व्यक्तिलाई नियन्त्रणमा लिइएको छ। त्यसैगरी, बेगनास ताल क्षेत्रमा गरिएको चेकिङका क्रममा ८ वटा सवारी साधनलाई कारबाही गरी छाडिएको छ भने लागू औषध सेवन गरी सवारी चलाउने एक चालकसहित अन्य ४ जनालाई प्रहरीले हिरासतमा लिएको छ।

पक्राउ परेका सबै व्यक्ति र सवारी साधनमाथि थप अनुसन्धान गरी कारबाही प्रक्रिया अगाडि बढाइएको प्रहरीले जनाएको छ। सवारी साधनको स्वरूप परिवर्तन (मोडिफाइड) गरी चर्को आवाज निकाल्ने र सडकमा स्टन्ट देखाउनेहरूलाई प्रहरीले विशेष निगरानीमा राखेको छ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप