सोमबार, ०८ असार २०८३
ताजा लोकप्रिय

म्याराडोनाको मृत्यु प्रकरण : चिकित्सकमाथि पुनः सुनुवाइ सुरु

बुधबार, ०२ वैशाख २०८३, ११ : ५३
बुधबार, ०२ वैशाख २०८३

सारांश

  • फुटबल खेलाडी डिएगो म्याराडोनाको मृत्यु प्रकरणमा सात जना स्वास्थ्यकर्मीमाथि अर्जेन्टिनाको अदालतमा पुनः सुनुवाइ सुरु भएको छ।
  • म्याराडोनाको उपचारमा लापरबाही गरेको आरोपमा दोषी ठहरिएमा चिकित्सकहरूलाई ८ देखि २५ वर्षसम्मको जेल सजाय हुन सक्नेछ।
  • अदालतमा जुलाईसम्म चल्ने उक्त सुनुवाइमा म्याराडोनाका छोरीहरू लगायत करिब १०० जनाले बकपत्र दिनेछन्।

ब्युनोस आयर्स । फुटबल जगतका महान् खेलाडी डिएगो म्याराडोनाको मृत्युको विषयलाई लिएर अर्जेन्टिनामा सात जना चिकित्सक तथा स्वास्थ्यकर्मीमाथि पुनः सुनुवाइ सुरु भएको छ। एक वर्षअघि प्राविधिक कारणले स्थगित भएको यो मुद्दा मंगलबारदेखि सान इसिड्रोको अदालतमा नयाँ न्यायाधीशहरूको टोलीले हेर्न थालेको हो। 

सन् २०२० मा ६० वर्षको उमेरमा हृदयाघातका कारण निधन भएका म्याराडोनाको उपचारमा लापरबाही गरेको आरोपमा उनको मेडिकल टोलीका सदस्यहरूले ‘लापरबाहीपूर्ण हत्या’ (नेग्लिजेन्ट होमिसाइड) को मुद्दा खेपिरहेका छन्। यदि दोषी ठहरिएमा उनीहरूलाई ८ देखि २५ वर्षसम्मको जेल सजाय हुन सक्छ।

म्याराडोनाको मृत्यु मस्तिष्कको शल्यक्रियापछि घरमै आराम गरिरहेका बेला भएको थियो। अनुसन्धानकर्ताहरूले अभियुक्तहरूलाई म्याराडोनाको स्वास्थ्य अवस्था गम्भीर रहेको थाहा हुँदाहुँदै पनि ज्यान जोगाउन आवश्यक कदम नचालेको आरोप लगाएका छन्। 

मेडिकल विज्ञहरूको एक प्यानलले म्याराडोनाले घरमा पाएको उपचारलाई अपूर्ण र लापरबाह भन्दै उपयुक्त अस्पतालमा उपचार भएको भए उनको बाँच्ने सम्भावना रहने निष्कर्ष निकालेको थियो। प्रारम्भिक पोष्टमार्टम रिपोर्टले फोक्सोमा पानी जमेका कारण उनको मुटुले काम गर्न छोडेको देखाएको थियो।

अदालतमा मुद्दा खेपिरहेकाहरूमा म्याराडोनाका मुख्य चिकित्सा सल्लाहकार लियोपोल्डो लुके र मनोचिकित्सक अगस्टिना कोसाचोभसहित सात जना छन् भने एक नर्सको छुट्टै सुनुवाइ हुनेछ। जुलाईसम्म चल्ने अनुमान गरिएको यस सुनुवाइमा म्याराडोनाका छोरीहरूसहित करिब १०० जनाले बकपत्र दिनेछन्। यसअघि गत मे महिनामा एक न्यायाधीशले डकुमेन्ट्रीका लागि अदालतभित्र अनधिकृत छायाङ्कन गर्न दिएको भन्दै राजीनामा दिएपछि पहिलो सुनुवाइ रद्द भएको थियो।

म्याराडोनाको निधन हुँदा अर्जेन्टिनाले तीन दिने राष्ट्रिय शोक मनाएको थियो। अर्जेन्टिनोस जुनियर्सबाट खेल जीवन सुरु गरेका उनले अर्जेन्टिनालाई सन् १९८६ को विश्वकप जिताउन मुख्य भूमिका खेलेका थिए, जसमा इङ्गल्याण्ड विरुद्धको चर्चित ‘ह्यान्ड अफ गड’ गोल पनि सामेल छ। 

करियरको उत्तरार्धमा लागुऔषध दुर्व्यसन र प्रतिबन्धको सामना गरेका उनले सन् १९९७ मा व्यावसायिक फुटबलबाट संन्यास लिएका थिए। खेलाडीका रूपमा संन्यास लिएपछि उनले अर्जेन्टिनाको राष्ट्रिय टोलीसहित विभिन्न देशका क्लबहरूको प्रशिक्षण सम्हालेका थिए।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

एजेन्सी
एजेन्सी
लेखकबाट थप