१० बजे १० समाचार : गृहमन्त्रीको बदलिँदो रुप, कांग्रेसको विवाद झनै बल्झियो
आज २०८३ वैशाख २ गते बुधबार । आज दिनभरका मुख्य १० घटनाक्रम रातोपाटी डटकमको नियमित प्रस्तुति ‘१० बजे १० समाचार’मा प्रस्तुत गरेका छौँ–
- मन्त्रिपरिषद् बैठक निर्णय
सरकारले सम्पत्ति जाँचबुझ आयोग गठन गर्ने निर्णय गरेकाे छ । बुधबार बसेकाे मन्त्रिपरिषद्को बैठकले सम्पत्ति जाँचबुझ आयोग गठन गर्ने निर्णय गरेकाे शिक्षामन्त्री सस्मित पोखरेलले जानकारी दिए।
- कांग्रेस विवाद
शेरबहादुर देउवा र नेता डा. शेखर कोइराला समूहले आधिकारिकता दाबी गर्दै सर्वोच्च अदालतमा दायर रिटको पेसी भोलि (बिहीबार)का लागि तोकिएको छ । तर त्यसको अघिल्लो दिन अर्थात् बुधबार केन्द्रीय अनुशासन समितिले निवर्तमान कार्यवाहक सभापति पूर्णबहादुर खड्कालाई स्पष्टीकरण सोध्यो । विधानविपरीत क्रियाकलाप गरेको भन्दै उनीमाथि ७ दिने स्पष्टीकरण सोधिएको छ, जसको कारण कांग्रेसभित्रको विवाद झनै उत्कर्षमा पुगेकाे छ ।
- स्थानीय जनप्रतिनिधिको अवस्था
नेपालको संविधानले परिकल्पना गरेको ‘गाउँ–गाउँमा सिंहदरबार’ को अवधारणा कार्यान्वयन गर्ने मुख्य थलो हो स्थानीय तह । तर पछिल्लो समय यही ‘सिंहदरबार’ चलाउने जनप्रतिनिधिहरू भने विभिन्न अज्ञात र स्वघोषित समूहहरूको निसानामा पर्न थालेका छन् ।
- बदलिँदो रूप
चैत १३ मा गृह मन्त्रालयको नेतृत्व सम्हालेसँगै गुरुङले आफ्नो रफ्तार बढाए । गौरीबहादुर कार्की नेतृत्वको आयोगको सिफारिस अनुसार पूर्वप्रधानमन्त्री केपी शर्मा ओली र तत्कालीन गृहमन्त्री रमेश लेखकलाई पक्राउ गर्न गृहमन्त्री गुरुङले चासोमात्र देखाएनन्, प्रहरीलाई निर्देशनसमेत दिए ।
- न्यायाशीधलाई नैतिक संकट
सरकारले मन्त्रीहरूलाई पुल्चोकस्थित क्वार्टरमा अस्थायी बसोबासका लागि व्यवस्थापन गरेपछि सर्वोच्च अदालतका न्यायाधीशहरू नैतिक संकटमा परेका छन् । एउटै कम्पाउन्डभित्रको क्वार्टरमा न्यायाधीश र मन्त्रीहरू रहने अवस्थाले न्यायाधीशहरू समस्या परेका हुन् ।
- ‘राष्ट्रिय प्रतिबद्धतापत्र’ मस्यौदा
राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का वरिष्ठ नेता बालेन्द्र (बालेन) शाह नेतृत्वको सरकारले शासकीय सुधार गर्न १८ बुँदे ‘राष्ट्रिय प्रतिबद्धतापत्र’को मस्यौदा सार्वजनिक गरेपछि यसबारे दलहरूभित्र र बाहिरसमेत बहस र चर्चा भइरहेको छ ।
- कर्मचारीको विदेश भ्रमण
आर्थिक वर्ष २०८१/०८२ मा कृषि मन्त्रालयअन्तर्गतका कर्मचारीहरूले विभिन्न ३२ देशका भ्रमण गरेका छन् । यस अवधिमा उनीहरूले इटालीदेखि रुवाण्डाका विभिन्न क्षेत्रसम्म पुगेका छन् । कृषि तथा पशुपन्छी विकास मन्त्रालयको दस्ताबेजअनुसार यी भ्रमणको मुख्य उद्देश्य कृषिसँग सम्बन्धित गोष्ठी, तालिम तथा बैठकहरूमा सहभागी हुनुथियो ।
- अर्बौँ लगानी, बालुवामा पानी
काठमाडौंँ । सरकारको भाषामा कृषि क्षेत्रमा सधैँ किसानहरूले कचकच गरिरहेको एउटा विषय छ– ‘अनुदान’ । सरकारले कृषिमा आधुनिकीकरण, लगानी वृद्धि र प्रोत्साहन भन्दै अनुदानमा अर्बौं लगानी गरिरहेको छ । यसमा सङ्घीय सरकार, प्रदेश सरकार र स्थानीय सरकार सबै सक्रिय छन्, तर अनुदान प्रणाली गतिलो नहुँदा किसानले गुनासो गर्ने मुख्य विषय पनि यही बन्दै आएको छ ।
- ७ डीआईजी बढुवा गरिँदै
सशस्त्र प्रहरीमा विगत तीन महिनादेखि रोकिएको डीआईजी बढुवा प्रक्रिया सुरु भएको छ । सशस्त्र प्रहरी बलमा प्रशासनतर्फ ६ जना र कानुन समूहतर्फ एकजना गरी कुल सात डीआईजीको दरबन्दी रिक्त छ ।
- बालेन नबोल्दा
बालेन्द्र (बालेन) शाह प्रधानमन्त्री नियुक्त भएको १९ दिन बितेको छ । यो बिचमा प्रधानमन्त्री शाहले शपथ ग्रहण गर्दा शपथकै व्यहोरा पढे, नेपाली सेनाको एउटा कार्यक्रमलाई संक्षिप्त रूपमा सम्बोधन गरे, त्यसबाहेक सर्वसाधारणले सार्वजनिक रूपमा वा सञ्चारमाध्यममार्फत उनको बोली सुन्न पाएका छैनन् ।
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण