बालेन नबोल्दा के–के बिग्रियो ?
सारांश
- प्रधानमन्त्री बनेको १९ दिन बितिसक्दा पनि बालेन शाहले सार्वजनिक रूपमा सम्बोधन नगर्दा उनको मौनतालाई लिएर विभिन्न कोणबाट चर्चा भइरहेको छ।
- बालेन बोल्नुभन्दा काममा केन्द्रित हुने स्वभावका हुन् र उनले पदमा रहँदा कम बोल्ने कुरा पहिले नै स्पष्ट पारिसकेका थिए।
- विज्ञहरूका अनुसार प्रधानमन्त्रीले जथाभावी बोल्नुभन्दा काममा ध्यान दिनु आवश्यक छ, तर संवेदनशील भूराजनीतिक विषयमा भने बोल्न जरुरी हुन्छ।
काठमाडौँ । बालेन्द्र (बालेन) शाह प्रधानमन्त्री नियुक्त भएको १९ दिन बितेको छ । यो बिचमा प्रधानमन्त्री शाहले शपथ ग्रहण गर्दा शपथकै व्यहोरा पढे, नेपाली सेनाको एउटा कार्यक्रमलाई संक्षिप्त रूपमा सम्बोधन गरे, त्यसबाहेक सर्वसाधारणले सार्वजनिक रूपमा वा सञ्चारमाध्यममार्फत उनको बोली सुन्न पाएका छैनन् ।
प्रधानमन्त्री बालेन प्रतिनिधि सभा बैठकमा सहभागी भए । यद्यपि प्रतिनिधि सभालाई समेत उनले सम्बोधन गरेनन् । प्रधानमन्त्रीले संसद् बैठकलाई किन सम्बोधन गरेनन् भन्नेबारे पनि सामाजिक सञ्जालतिर चर्चा भयो ।
संविधान निर्माण भए यताको मात्र लेखाजोखा गर्ने हो भने शेरबहादुर देउवा, केपी शर्मा ओली, पुष्पकमल दाहाल ‘प्रचण्ड’ पटक–पटक प्रधानमन्त्री बने । यी तीन जनामध्ये तुलनात्मक रूपमा शेरबहादुर देउवा कम बोल्ने गर्दथे, तर बोल्दै नबोल्ने होइन । प्रचण्ड पनि ‘मपाईंत्व’मा आधारित रहेर बोल्ने गर्दथे । देशमा आएको परिवर्तन, जनतालाई अधिकार सम्पन्न तुल्याएको, निरन्तरताको क्रमभङ्ग गरेको लगायतका विषयमा उनी चर्चा गर्दथे ।

ओलीचाहिँ आफूलाई थाहा नभएको र आफूले नजानेको कुनै विषय नै छैन भनेजसरी कुनै कार्यक्रममा घण्टौँ प्रवचन दिन पछि पर्दैनथे । कोरोना कालमा बेसार–पानी खाएर रोग प्रतिरोधात्मक क्षमता बढाउन सकिने प्रवचन सुनाएका उनले हिन्दु देवहरू ब्रह्मा, विष्णु, शिव, रामदेखि विकास निर्माणमा ‘घर–घरमा ग्याँसको पाइपलाइन, समुद्रमा नेपाली झण्डा अङ्कित पानीजहाजसम्मको चर्चा नगरेका होइनन् ।
पछिल्लो दशक यस्ता प्रधानमन्त्री देख्ने–सुन्ने बानी परेका नेपाली जनताका लागि बालेन शाह ‘रहस्यमय’ बनेका छन् । आखिर प्रधानमन्त्री बालेन किन बोल्दैनन् भन्ने प्रश्नलाई लिएर कतिपयको मनमा जिज्ञासाको आँधी चलिरहेको छ । खासगरी आफूलाई ‘चर्चित अन्तर्वार्ताकार’ भन्न चाहने केही अनुहारले पनि बालेनको मौनतामा बेलाबखत प्रश्न उठाएको पाइन्छ । सामाजिक सञ्जालमा पनि कतिपयले बालेन नबोलेकोबारे चासो राख्न थालेका छन् ।
स्वभावले नै बालेन कम बोल्छन् । उनी बोल्नभन्दा बढी काम गर्न रुचाउँछन् । संसदीय राजनीतिमा प्रवेश गर्ने घोषणाका क्रममा गत माघमा जनकपुरधाममा आयोजित रास्वपाको घोषणा सभालाई सम्बोधन गर्दै बालेनले आफू महानगरको नगर प्रमुख पदबाट राजीनामा दिइसकेका कारण बोल्न मौका पाएको बताएका थिए । त्यसअघि काममा व्यस्त भएकाले सार्वजनिक रूपमा बोल्न नपाएको उनको जिकिर थियो ।
_Fiho8rPE5u.jpg)
घोषणा सभामै उनले उपस्थित जनसमुदायसँग आफ्नो लागि काम मागेका थिए । मैथिली भाषामा सम्बोधन गर्दै उनले ‘तपाईंहरू मलाई काम दिनुस्’ भनेका थिए ।
बालेनको त्यही बोली र काम माग्ने शैलीलाई नेपाली जनताले विश्वास गरे । चुनावमा बालेनलाई मात्र होइन, उनलाई भावी प्रधानमन्त्रीका रूपमा अघि सारेको राष्ट्रिय स्वतन्त्र पार्टीलाई समेत जनताले झन्डै दुई तिहाइ सिटसहित प्रतिनिधि सभाको ठुलो दल बनाए । परिणामस्वरुप अहिले बालेनले सरकारको नेतृत्व गरिरहेका छन् ।
- बालेन किन बोल्नु पर्यो ?
बालेनले जनकपुरमा आयोजित आफ्नो पहिलो राजनीतिक सभामै आफू पदीय जिम्मेवारीमा रहेका कारण बोल्न नपाएको, राजीनामा दिएर सङ्घीय राजनीतिमा प्रवेश गर्न लागेको र आफ्नो लागि काम माग्न आएको प्रस्ट पारिसकेका थिए ।
यसको अर्थ बालेन पदीय जिम्मेवारीमा रहँदा बोल्दैनन् वा कम बोल्छन् भन्ने विषय माघमै जनताले बालेनकै अभिव्यक्तिबाट बुझिसकेका थिए । कुनै कार्यक्रममा घण्टौँसम्म प्रवचन दिन पछि नपर्ने प्रधानमन्त्री सायद जनतालाई मन परेको थिएन कि ! जता पायो त्यतै, जुन पायो त्यही विषयवस्तुमा बोलिरहने प्रधानमन्त्रीभन्दा काममै केन्द्रित हुने प्रधानमन्त्री पो जनताले चाहेका थिए कि ! जनताले बालेन र उनको पार्टीलाई दिएको अभूतपूर्व मतका पछाडि यस्ता आशङ्का लुकेका पनि हुन सक्छन् । ‘बालेन बोलेनन्’ भन्दै आएको वर्गले यस्ता आशङ्कातिर ध्यान दिन सकेका छैनन् वा चाहेका छैनन् ।
बोलेको भरमा हुने भए घर–घरमा पाइपलाइनबाट अहिलेसम्म ग्यास किन आउन सकेन ? समुद्रमा झन्डावाल पानीजहाज कुद्ने अभिव्यक्ति सुनेका नेपालीहरू किन नारायणी र सप्तकोशीमा चलेका मोटरबोट चढेर ‘नेपाली पानीजहाज’ भन्दै व्यङ्ग्य गरिरहेका छन् ? ‘बालेन बोलेनन्’ भन्ने विषयलाई लिएर गुनासो गर्नेहरूले हिजोका दिनमा बोल्ने प्रधानमन्त्रीहरूले बोलेका कुरा कति पूरा गरे भन्नेबारे पनि लेखाजोखा गर्ने कि !

बालेन नबोल्दा समस्या त पत्रकारितामा पनि परेको छ । प्रधानमन्त्रीले घण्टौँसम्म बोलिदिएको खण्डमा समाचारका लागि आकर्षक हुने अनेक शीर्षक भेटिन्छ । भाषणमा आधारित रहेर कैयौँ समाचार तयार हुन्छ । प्रधानमन्त्रीले बोलेका कुरा समाचार नबन्ने कुरै भएन, त्यसमाथि पनि हरेक विषयमा धाराप्रवाह प्रवचन दिँदा समाचारको बाढी नै आउने भइगयो ।
प्रधानमन्त्रीले बोलेका समाचार नलेख्दासम्म, प्रधानमन्त्रीलाई दुई/चार प्रश्न नसोधेसम्म पत्रकारिताको पहिचान नै मेटिने भने होइन । सबै पत्रकारले प्रधानमन्त्रीकै समाचार लेख्ने भन्ने होइन र हुँदैन । यद्यपि, कतिपयलाई प्रधानमन्त्रीको अन्तर्वार्ता, प्रधानमन्त्रीले बोलेका कुराका आधारमा समाचार लेख्न पाए हुन्थ्यो भन्ने चासो स्वाभाविक लाग्ला । यद्यपि सञ्चारकर्मीको चासो प्रधानमन्त्रीले बोले वा बोलेनन् भन्नेमा होइन, के गरे र के गरेनन् भन्नेमा रहने हो भने त्यसले सरकारलाई खबरदारी र मार्गनिर्देश दुवै गर्न सक्छ ।
जनसरोकारका कैयौँ मुद्दा छन् । सरकारी सेवा–प्रवाहमा देखिएका कैयौँ समस्या समाधान गर्नुपर्ने खाँचो छ । जनताले परिवर्तनको प्रत्याभूति आफ्नो दैनिक जीवनसँग जोडिएर आएको हेर्न चाहेका छन् । यसका लागि सरकारले गर्नुपर्ने काम अनगिन्ती छन् । आज संसदमा यताबाट उता उफ्रिएर सरकार ढाल्न र बनाउन कसैसँग ‘जादुयी नम्बर’ छैन । रास्वपाले एकल बहुमत प्राप्त गरी सरकार गठन गरेको छ । यस्तो अवस्थामा सरकारले राजनीतिक स्थायित्वका साथै जनताको दैनिक जीवनमा सुधार देखिने गरी काम गर्नुपर्ने खाँचो छ । यसका बाबजुद हामी प्रधानमन्त्री बोले कि बोलेनन् भन्ने विषयमा अल्झिएर बस्ने हो भने कामचाहिँ कसले र कहिले गर्ने ?
- प्रधानमन्त्री कहिले–कहाँ बोल्नुपर्छ ?
जानकारहरू प्रधानमन्त्रीले जुनसुकै विषयमा जहाँ पायो त्यहीँ बोलिरहन आवश्यक नपर्ने बताउँछन् । तत्कालीन प्रधानमन्त्रीद्वय सुशील कोइराला र शेरबहादुर देउवाको सल्लाहकार (परराष्ट्र) रहेर काम गरिसकेका दिनेश भट्टराईले प्रधानमन्त्री भनेको देशको प्रतिनिधित्व गर्ने पद भएकाले जुनसुकै समय, जहाँ पायो त्यहाँ बोलिरहन आवश्यक नहुने तर्क गर्दछन् ।

‘प्रधानमन्त्रीले सबै कुरामा बोलिरहनु पर्छ भन्ने छैन,’ भट्टराईले रातोपाटीसँग भने, ‘तर केही कुरामा चाहिँ प्रधानमन्त्रीले बोल्नैपर्ने हुन्छ ।’ भट्टराईका अनुसार हाम्रोजस्तो भूराजनीतिक चासो भएको मुलुकमा प्रधानमन्त्रीले खासगरी छिमेकी मुलुक, दातृ राष्ट्र, सहयोगी मित्र राष्ट्र लगायतसँग आफ्ना कुरा राख्ने र उनीहरूलाई विश्वासमा लिन जरुरी हुन्छ ।
सोही क्रममा प्रधानमन्त्री बालेनले केही दिन अघि विभिन्न मुलुकका राजदूतसँग सामूहिक भेट गरेको भट्टराईले बताए । ‘आवश्यक परेमा प्रधानमन्त्रीले कुनै मुलुकको राजदूतलाई छुट्टै बोलाएर भेट्न पनि सकिन्छ, तर विषय वा परिस्थितिको गम्भीरतालाई हेरेर,’ उनले भने, ‘अन्यथा प्रधानमन्त्रीले खासै सार्वजनिक मञ्चमा बोलिरहन पर्दैन ।’
प्रधानमन्त्रीले बुझेर, सोचेर, विचार पुर्याएर बोल्नुपर्नेमा भट्टराईले जोड दिए । भर्खरै जिम्मेवारी सम्हालेका कारण पनि प्रधानमन्त्रीले सार्वजनिक रूपमा सम्बोधन गर्ने, अन्तर्वार्ता दिने वा आफ्ना कुरा राख्ने अवसर आइसकेको छैन भन्ने महसुस गरेर नबोलेको हुन सक्ने उनको भनाइ छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
२ प्रतिक्रिया
भर्खरै
-
सिंगापुर विकास मोडलबारे कांग्रेस केन्द्रीय कार्यालयमा छलफल
-
पोखरा बसपार्कका सुकुमबासी सार्न प्रस्ताव गरिएका यी हुन् ६ ठाउँ
-
श्रीलङ्का केयर होम आगलागी: प्रबन्धक पक्राउ
-
अनौपचारिक श्रम बजारमा ज्याला ठगी संरचनागत समस्या : अध्ययन
-
पोखरा बसपार्क क्षेत्रका घर नभत्काउन उच्च अदालतको अल्पकालीन आदेश
-
बागमतीमा ८ मन्त्रालयअन्तर्गत १९१ कार्यालय कायम (नामसहित)
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण