मङ्गलबार, ०२ असार २०८३
ताजा लोकप्रिय
२४ घन्टाका ताजा अपडेट

क्व्होलासोंथारलाई विश्वसम्पदा सूचीमा दर्ता गराउन माग

बिहीबार, ०३ वैशाख २०८३, ०१ : २७
बिहीबार, ०३ वैशाख २०८३

सारांश

  • तमु प्ये ल्हु सङ्घ हङकङले क्व्होलासोंथारलाई विश्वसम्पदा सूचीमा राख्न माग गरेको छ।
  • अध्यक्षको नेतृत्वमा गएको टोलीले क्व्होलासोंथारको भ्रमण गरी ऐतिहासिक पक्ष उजागर गरेको छ।
  • सङ्घले क्व्होलासोंथारको संरक्षण र पूर्वाधार विकासको लागि जोड दिएको छ।

गण्डकी । तमु प्ये ल्हु सङ्घ हङकङले तमु समुदायको ऐतिहासिक स्थल क्व्होलासोंथारलाई विश्वसम्पदा सूचीमा दर्ता गराउन सरकारसँग माग गरेको छ ।

सङ्घका अध्यक्ष मनबहादुर क्रोम्छै तमु नेतृत्वको टोलीले हालै गरिएको क्व्होलासोंथारको भ्रमणपश्चात् बुधबार पत्रकार सम्मेलन गरी भ्रमणको निष्कर्ष सार्वजनिक गर्दै एक हजार २०० वर्षदेखिको इतिहास र महत्त्वलाई उजागर गर्दै विश्वसम्पदा सूचीमा दर्ता गराउन माग गरेको हो ।

भ्रमण टोलीले यही चैत २५ देखि ३० गतेसम्म कास्कीको ताङतिङ, कर्पुडाँडा, तप्रोखर्क, क्व्होलासोंथार हुँदै सिक्लेससम्मको पदयात्रा गर्दै त्यहाँको धार्मिक तथा ऐतिहासिक महत्त्वका विभिन्न विषयबारे जानकारी लिएको सङ्घका अध्यक्ष तमुले जानकारी गराए ।

सङ्घले क्व्होलासांथारमा भएका महत्त्वपूर्ण सामग्रीहरू हराउँदै गएकाले सम्बन्धित निकायले नीति नियम बनाई संरक्षण गर्नुपर्ने माग गरेको छ । क्व्होलासोंथार भ्रमणमा जाने समयमा आकस्मिक उद्धारका लागि हेलिप्याड निर्माण गर्नुपर्ने, त्यस स्थलको प्रचारप्रसार गर्दै विश्वभरका मानिसलाई आकर्षित गर्नुपर्ने, क्होलासोंथार जाने मार्गमा ठाउँठाउँमा खानेपानी, शौचालयजस्ता पूर्वाधार विकास गर्नुपर्ने जनाएको छ ।

सङ्घका केन्द्रीय महासचिव हर्क गुरुङले क्व्होलासोंथारको ऐतिहासिकता उजागर गर्न सकिएमा त्यो तमु समुदायको मात्रै नभएर राष्ट्रकै प्रमुख पर्यटकीय गन्तव्यका रूपमा विकास हुने बताए । सबैको सामूहिक प्रयासबाट यसको प्रवर्द्धन र विकास गरिनुपर्ने उनको भनाइ छ ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रासस
रासस

राष्ट्रिय समाचार समिति नेपालकाे  सरकारी समाचार संस्था हाे ।

लेखकबाट थप