बुधबार, ०३ असार २०८३
ताजा लोकप्रिय

काठमाडौँलाई सडक मानवमुक्त बनाउन पशुपति क्षेत्रमा स्क्रिनिङ सेन्टर

बिहीबार, ०३ वैशाख २०८३, ११ : ०१
बिहीबार, ०३ वैशाख २०८३

सारांश

  • काठमाडौँ महानगरपालिकाले सडकमा रहेका बेसहारा र सहयोगापेक्षी व्यक्तिहरूको उद्धार गरी व्यवस्थापन गर्न पशुपति क्षेत्रमा स्क्रिनिङ सेन्टर स्थापना गर्ने भएको छ।
  • महानगरले उद्धार गरिएका व्यक्तिहरूको अवस्था हेरी वर्गीकरण गर्दै उनीहरूलाई परिवारसँग पुनर्मिलन गराउने वा आश्रममा राख्ने योजना बनाएको छ।
  • सडक मानवमुक्त सहर बनाउने अभियान अन्तर्गत महानगरले प्रहरी र विभिन्न संघ-संस्थासँगको सहकार्यमा निरन्तर उद्धार कार्य गरिरहेको छ।

काठमाडौँ । काठमाडौँ महानगरपालिकाले सडकमा अलपत्र परेका बेसहारा र सहयोगापेक्षी व्यक्तिहरूको उद्धार तथा व्यवस्थापन कार्यलाई तीव्रता दिएको छ। महानगरकी कार्यवाहक प्रमुख सुनिता डंगोलले पशुपति क्षेत्र लगायतका विभिन्न स्थानमा पुगेर सडकमा रहेका नागरिकहरूको उद्धार कार्यको नेतृत्व गरिरहेकी छन्। 

महानगरले सडकबाट उद्धार गरिएका व्यक्तिहरूलाई सिधै आश्रममा नराखी पहिले ‘स्क्रिनिङ सेन्टर’मा लैजाने र उनीहरूको आवश्यकता अनुसार वर्गीकरण गर्ने नयाँ प्रक्रिया सुरु गरेको छ। पशुपति क्षेत्रमा सडक मानवहरूको सङ्ख्या उल्लेख्य रहेकाले उनीहरूको सहज व्यवस्थापनका लागि पशुपति क्षेत्र विकास कोषसँगको समन्वयमा सोही क्षेत्रमा एउटा ‘डेडिकेटेड स्क्रिनिङ सेन्टर’ बनाउने सहमति भएको कार्यवाहक प्रमुख डंगोलले जानकारी दिएकी छन्। 

उद्धार गरिएकाहरूमध्ये परिवार भएकालाई पुनर्मिलन गराइने, शारीरिक रूपमा अशक्तलाई अस्पताल लगिने र मानसिक स्वास्थ्य समस्या भएकाहरूलाई विशेष उपचार केन्द्रमा पठाइने महानगरको योजना छ। जसको कोही छैन र साँच्चिकै सहारा आवश्यक छ, उनीहरूलाई मात्र मानव सेवा आश्रममा स्थानान्तरण गरिनेछ।

डंगोलका अनुसार उद्धार गरिएका कतिपय व्यक्तिहरू पुनः सडकमा फर्किनुको मुख्य कारण ‘व्यवहारगत समस्या’ हो। सडकमा बस्दा मदिरा र लागुऔषध सजिलै पाउने र खुला आकाशमुनिको स्वतन्त्रतामा अभ्यस्त भएकाहरूलाई आश्रमको अनुशासनमा बस्न कठिन हुने गरेको पाइएको छ। 

उनीहरूको मनोविज्ञान बुझेर काउन्सिलिङ र रिह्याबको व्यवस्था गर्न महानगरले काम गरिरहेको छ। यो अभियान पशुपतिमा मात्र सीमित नभई कालिमाटी, स्वयम्भू लगायत काठमाडौँका सबै क्षेत्रमा क्रमशः विस्तार गरिनेछ।

बुधबार राति पशुपतिनाथ मन्दिर परिसरमा भएको उद्धार कार्यमा गायिका तथा समाजसेवी आनी छोइङ डोल्मा पनि सहभागी भएकी थिइन्। उनले बेसहारा नागरिकको अभिभावक राज्य र स्थानीय सरकार हुनुपर्नेमा जोड दिँदै सडकमा रहेकाहरूको मनको घाउ निको पार्न मनोवैज्ञानिक परामर्शको आवश्यकता औंल्याइन्। 

पारिवारिक दुर्व्यवहार वा वियोगले गर्दा पीडा भुल्न धेरैले कुलतको सहारा लिने गरेको र उनीहरूलाई सही बाटोमा ल्याउन नागरिकस्तरबाट पनि सहयोग हुनुपर्ने उनको भनाइ छ।

महानगरका कर्मचारी वसन्त आचार्यका अनुसार पशुपति क्षेत्र विकास कोषको परिसरभित्र छिट्टै स्क्रिनिङ सेन्टर सञ्चालनमा आउनेछ। काठमाडौँ महानगरपालिका, पशुपति क्षेत्र विकास कोष, मानव सेवा आश्रम र सुरक्षा निकायहरूको संयुक्त पहलमा यो अभियान अगाडि बढाइएको हो। 

नेपाल प्रहरी, सशस्त्र प्रहरी र महानगर प्रहरीको सामूहिक प्रयत्नले काठमाडौँलाई छिट्टै सहयोगापेक्षी सडक आश्रित मुक्त सहर बनाउने लक्ष्य राखिएको छ। यो कार्य एक–दुई दिनको मात्र नभई पूर्ण सफलता नमिलेसम्म निरन्तर चलिरहने महानगरले जनाएको छ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप