सोमबार, ०८ असार २०८३
ताजा लोकप्रिय
२४ घन्टाका ताजा अपडेट

महिलाको अकाल मृत्यु रोक्न क्यान्सर स्क्रिनिङलाई निरन्तरता दिन पूर्वमन्त्री पौडेलको आग्रह

शुक्रबार, ०४ वैशाख २०८३, १२ : ४४
शुक्रबार, ०४ वैशाख २०८३

सारांश

  • पूर्व स्वास्थ्य मन्त्री प्रदीप पौडेलले पाठेघरको मुखको क्यान्सरबाट हुने महिलाको अकाल मृत्यु रोक्न स्क्रिनिङ कार्यक्रमलाई निरन्तरता दिन सरकारलाई आग्रह गरेका छन्।
  • उनले महिलाको स्वास्थ्य रक्षाका लागि आफू मन्त्री हुँदा सुरु गरिएका एचपीभी खोप र स्क्रिनिङ अभियानलाई प्राथमिकता दिन जोड दिएका छन्।

काठमाडौँ । पूर्व स्वास्थ्य तथा जनसंख्या मन्त्री प्रदीप पौडेलले पाठेघरको मुखको क्यान्सरका कारण हुने महिलाहरूको अकाल मृत्यु रोक्न आफूले सुरु गरेको निःशुल्क क्यान्सर परीक्षण (स्क्रिनिङ) कार्यक्रमलाई प्राथमिकताका साथ निरन्तरता दिन सरकारलाई सुझाव दिएका छन्। मातातीर्थ औँसीको अवसरमा शुभकामना सन्देश जारी गर्दै पौडेलले महिला स्वास्थ्यका गम्भीर विषयमा सरकारको ध्यानाकर्षण गराएका हुन्।

समाजमा अझै पनि महिलाको स्वास्थ्य दोस्रो प्राथमिकतामा परिरहेको चर्चा गर्दै पौडेलले समयमै परीक्षण नहुँदा कैयौँ आमा र दिदीबहिनीहरूले ज्यान गुमाउनुपरेको तितो यथार्थ स्मरण गरेका छन्। आफू मन्त्री रहँदा पाठेघरको मुखको क्यान्सरबाट किशोरीहरूको रक्षाका लागि एचपीभी खोप अभियान र महिलाहरूको पाठेघर परीक्षणका लागि राष्ट्रियस्तरको स्क्रिनिङ कार्यक्रम सुरु गरेको उनले उल्लेख गरेका छन्। 

वर्तमान सरकारले यो अभियानलाई अझ परिस्कृत र प्रभावकारी रूपमा अघि बढाउनेमा उनले विश्वास व्यक्त गरेका छन्। नेपालमा महिलाको ज्यान लिने प्रमुख कारणमध्ये पाठेघरको मुखको क्यान्सर अग्रपंक्तिमा रहेको छ। 

यसलाई मध्यनजर गर्दै थालिएका दुवै अभियानको मुख्य उद्देश्य क्यान्सरका कारण बढिरहेको मृत्युदर घटाउनु रहेको पौडेलको भनाइ छ। उनले स्वस्थ महिलाबाट नै स्वस्थ परिवार र समुन्नत राष्ट्र निर्माण सम्भव हुने भएकाले यो विषयलाई राज्यको मुख्य कार्यसूचीमा राख्न माग गरेका छन्। 

आमाहरूको सम्मानका लागि उनीहरूको स्वास्थ्य रक्षा गर्नु नै आजको दिनको वास्तविक सार्थकता हुने सन्देश उनले दिएका छन्।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप