घाँटीमा ८ वर्षसम्म १२ सेन्टिमिटर लामो स्टिलको चपिस्टिक
सारांश
- चीनको डालियानमा एक व्यक्तिले आफ्नो घाँटीमा ८ वर्षदेखि १२ सेन्टिमिटर लामो स्टिलको चपिस्टिक बोकेर बाँचेको अनौठो घटना सार्वजनिक भएको छ।
- अत्यधिक दुखाइ बढेपछि अस्पताल पुगेका ४६ वर्षीय वाङको घाँटीबाट डाक्टरहरूले शल्यक्रियामार्फत सफलतापूर्वक उक्त चपिस्टिक बाहिर निकालेका छन्।
डालियान । चीनको डालियानमा एक व्यक्तिले आफ्नो घाँटीमा १२ सेन्टिमिटर लामो धातुको चपिस्टिक ८ वर्षसम्म बोकेर बाँचेको एउटा पत्याउनै नसकिने घटना सार्वजनिक भएको छ। धेरैजसो मानिसका लागि घाँटीमा सानो कसिङ्गर बिझाउँदा पनि सहन गाह्रो हुन्छ, तर ४६ वर्षीय वाङले भने झन्डै एक दशकसम्म यो फलामको रड घाँटीमै राखेर सामान्य जीवन बिताइरहेका थिए।
हालै डालियान म्युनिसिपल सेन्ट्रल अस्पतालका डाक्टरहरूले शल्यक्रियामार्फत उक्त चपिस्टिक सफलतापूर्वक बाहिर निकालेपछि यो अनौठो घटना विश्वभर चर्चाको विषय बनेको हो। घटना ८ वर्षअघिको हो, जतिबेला वाङ खानपानका क्रममा झुक्किएर एउटा पूरै स्टिलको चपिस्टिक निल्न पुगेका थिए।
अस्पतालका अनुसार वाङलाई त्यसबेला मद्यपानको लत थियो, जसका कारण उनले कसरी चपिस्टिक निले भन्ने स्पष्ट खुलाएका छैनन्। चपिस्टिक निलेलगत्तै उनलाई घाँटीमा केही अड्किएको महसुस र हल्का दुखाइ त भयो, तर श्वास फेर्न कुनै कठिनाइ नभएपछि उनले त्यसलाई खासै वास्ता गरेनन्।
सुरुमा अस्पताल जाँदा डाक्टरहरूले घाँटी चिरेर मात्र यो निकाल्न सकिने र त्यसमा जोखिम रहेको बताएपछि वाङ डराएका थिए। जोखिम मोल्नुभन्दा दुखाइ सहेरै बस्ने निर्णय गर्दै उनी घर फर्किएका थिए।
विगत ८ वर्षदेखि वाङले घाँटीमा हुने सामान्य असजिलो र कहिलेकाहीँ हुने दुखाइलाई सहँदै आएका थिए। तर, पछिल्लो समय उनलाई बिहानपख घाँटीमा असह्य पीडा हुन थाल्यो।
दुखाइ कम गर्ने औषधि खाँदा पनि निको नभएपछि उनी अन्ततः उपचारका लागि अस्पताल पुगे। एक्सरे गर्दा डाक्टरहरू समेत छाँगाबाट खसे जस्तै भए जब उनीहरूले वाङको घाँटीको माथिल्लो भागमा १२ सेन्टिमिटर लामो धातुको डण्डी ठिंग उभिएको देखे। अझ अचम्मको कुरा त के थियो भने, वाङले डाक्टरहरूलाई यो ८ वर्षअघि नै छिरेको कुरा निकै सामान्य शैलीमा बताएका थिए।

भाग्यवश, यति लामो समयसम्म घाँटीमा विदेशी वस्तु रहँदा पनि वाङको घाँटीभित्र कुनै ठूलो घाउ, रक्तस्राव वा पिप जमेको थिएन। तर, चपिस्टिकले बिस्तारै वरपरका रक्तनली र तन्तुहरूमा क्षति पुर्याउन सक्ने जोखिम भने उच्च थियो।
यसपटक डाक्टरहरूले घाँटीबाहिरबाट चिर्नुको साटो मुखभित्रैबाट सानो प्वाल पारेर गरिने आधुनिक प्रविधि अपनाउने योजना बनाए। डा. हुआङ वेइपेङको नेतृत्वमा रहेको टोलीले सावधानीपूर्वक उक्त १२ सेन्टिमिटर लामो खिया नलाग्ने स्टिलको चपिस्टिक सकुशल बाहिर निकाल्यो।
शल्यक्रियाको केही दिनमै वाङको दुखाइ निको भयो र उनको स्वास्थ्यमा तीव्र सुधार आयो। डालियान अस्पतालले यो घटनालाई सर्वसाधारणका लागि एउटा चेतावनीको रूपमा प्रकाशित गरेको छ।
शरीरभित्र झुक्किएर कुनै वस्तु छिरेमा त्यसलाई बेवास्ता नगर्न र तुरुन्तै चिकित्सकको सल्लाह लिन अस्पतालले आग्रह गरेको छ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
खराब मौसमको कारण फ्रान्स र इराकबिचको दोस्रो हाफ सुरु हुन थप १५ मिनेट ढिलाइ
-
लगातार दोस्रो जिततर्फ फ्रान्सको पाइला: पहिलो हाफको समाप्तिमा इराकमाथि १–० को अग्रता
-
क्षयरोगीलाई पोषणका लागि खाद्यान्न सहयोग
-
खतरनाक ‘हिट स्ट्रेस’ मा विश्वव्यापी वृद्धि
-
एम्बाप्पेको गोलमा इराकविरुद्ध फ्रान्सलाई सुरुवाती अग्रता
-
चीन र इयूका व्यापार प्रमुखहरू अर्को साता भेट्ने
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण