मोदी गाउँपालिकामा पहिलो ‘लिफ्ट’ खानेपानी आयोजनाको काम सुरु
सारांश
- मोदी गाउँपालिकामा पहिलो लिफ्ट खानेपानी आयोजनाको काम सुरु भएको छ।
- आयोजनाले तिलहार, थामर्जुङ र दराकका बासिन्दालाई खानेपानीको सुविधा दिनेछ।
- यो आयोजना मोदी गाउँपालिका, गण्डकी प्रदेश सरकार र उपभोक्ताको सहभागितामा बन्दैछ।
पर्वत । यहाँको मोदी गाउँपालिकामा पहिलो पटक बोरिङमार्फत लिफ्ट गरी खानेपानी आयोजना सुरु गरिएको छ । गाउँपालिकाको आर्थिक सहयोग र गण्डकी प्रदेश सरकारको सहकार्यमा रतीखोला–तिलाहार बोरिङ/लिफ्ट खानेपानी आयोजनाको काम आइतबारदेखि सुरु गरिएको हो । आयोजनाको मोदी गाउँपालिकाका उपाध्यक्ष विमल लामिछानेले शिलान्यास गरेका थिए ।
सो आयोजना सम्पन्न भएपछि लामो समयदेखि खानेपानी समस्या भोग्दै आएका मोदी गाउँपालिका–६ तिलहार, थामर्जुङ र दराक क्षेत्रमा सहज हुने अपेक्षा गरिएको छ । बस्तीभन्दा तल रहेको रतीखोला किनारबाट बोरिङमार्फत पानी उत्खनन गरिने भएको छ । उत्खनन गरिएको पानी झन्डै एक किलोमिटरमाथि डाँडामा ट्याङ्की निर्माण गरी लिफ्टमार्फत तानेर घरघरमा वितरण गरिने गाउँपालिकाका उपाध्यक्ष लामिछानेले जानकारी दिए । यो आयोजनाबाट एक हजार घरपरिवारलाई खानेपानीको सुविधा विस्तार गर्ने योजना रहे पनि तत्कालका लागि अति समस्यामा परेका २०० घरपरिवारमा विस्तार गरिने भएको छ ।
आयोजनाका लागि मोदी गाउँपालिकाको २५ लाख रुपैयाँ, गण्डकी प्रदेश सरकारको १५ लाख रुपैयाँ र उपभोक्ताका तीन लाख बराबरको श्रमदान गरी ४३ लाख रुपैयाँको लागतमा सम्पन्न हुने जनाइएको छ ।
बोरिङ गरेको स्थानभन्दा ३०० मिटरमाथि रहेको देउराली, मणि र पहरे गरी तीन स्थानमा निर्माण गरिएका ट्याङ्कीमा पानी जम्मा गरी घरघरमा वितरण गरिने छ । मुख्य ट्याङ्की ३० हजार लिटर र बाँकी दुई वटा शाखा ट्याङ्की एक हजार ५०० लिटर क्षमताको बनाइएको छ । आजभन्दा १८ महिनाअघि गरिएको सर्वेक्षणमा १२० मिटर गहिराइमा पानी रहेको पत्ता लागेको थियो । जसअनुसार गाउँपालिकाले गरेको बोलपत्र आह्वानमा रिमाल बोरिङ लिमिटेडले निर्माणको जिम्मा पाएको छ ।
चालु आर्थिक वर्षभित्रै सबै घरमा खानेपानी विस्तार सम्पन्न गरिसक्ने गरी काम सुरु गरिएको मोदी गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत बाबुराम पुरीले जानकारी दिए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
सञ्चार क्षेत्रकाे पुनर्संरचना गर्न श्रमजीवी पत्रकार सङ्घको माग
-
काठमाडौँमा योग दिवसको पूर्वसन्ध्यामा विशेष कार्यक्रम
-
जेठमा कोशीको बजेट खर्च १ अर्ब ५४ करोड, आम्दानी ४ लाख !
-
शिक्षा तथा खेलकुदमन्त्री पोखरेल सुर्खेतमा : रङ्गशालादेखि विश्वविद्यालयको अनुगमन
-
थुनुवा मृत्यु प्रकरण : डीएसपी लक्ष्मी खनालसहित ४ जनामाथि कारबाही प्रक्रिया सुरु
-
जग्गाधनी पूर्जा बनाइदिने भन्दै ६० हजार घुस लिने अमिन अख्तियारको फन्दामा
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण