थुनुवा मृत्यु प्रकरण : डीएसपी लक्ष्मी खनालसहित ४ जनामाथि कारबाही प्रक्रिया सुरु
सारांश
- बाँकेको कोहलपुर हिरासतमा थुनुवा वीरेन्द्रबहादुर सिंहको मृत्यु प्रकरणमा डीएसपी लक्ष्मी खनालसहित ४ जना सुरक्षाकर्मीमाथि विभागीय कारबाही प्रक्रिया सुरु भएको छ ।
- ज्यान मार्ने उद्योग कसुरमा पक्राउ परेका सिंहको मृत्युमा सुरक्षाकर्मीको कमजोरी देखिएको छानबिन समितिको निष्कर्ष छ ।
- समितिले डीएसपी खनाल, फिल्ड अधिकृत, ड्युटी अधिकृत र गार्ड कमाण्डरलाई विभागीय कारबाही गर्न सिफारिस गरेको थियो ।
काठमाडौँ । बाँकेको इलाका प्रहरी कार्यालय कोहलपुरको हिरासतमा रहेका थुनुवाको मृत्यु भएको घटना छानबिनपछि त्यहाँ कार्यरत सुरक्षाकर्मीमाथि कारबाही प्रक्रिया थालिएको छ ।
२०८२ भदौमा ज्यान मार्ने उद्योग कसुरमा पक्राउ परेका थुनुवा वीरेन्द्रबहादुर सिंहको मृत्यु हुनुमा सुरक्षाकर्मीहरूको पनि कमजोरी देखिएको छानबिन समितिको निष्कर्ष छ ।
एसएसपी सन्तोष सिंह राठौर नेतृत्वको समितिले छानबिन गरेर सिफारिस सहितको प्रतिवेदन लुम्बिनी प्रदेश प्रहरी कार्यालयमा बुझाएको थियो । त्यसपछि प्रहरी प्रधान कार्यालय स्थित आईजीपीको सचिवालयमा आइपुगेको प्रतिवेदन कार्यान्वयनको लागी पुनः प्रदेशमा नै फिर्ता पठाइएको प्रहरी प्रधान कार्यालयका एक जना उच्च अधिकृतले रातोपाटीलाई बताए । उनले भने, ‘कारबाही गर्ने अधिकार प्रदेशलाई नै भएको हुनाले कारबाही गरेर जानकारी गराउन भनिएको छ ।’
समितिले त्यतिबेला इलाका प्रहरी कार्यालय कोहलपुरमा कार्यरत डीएसपी लक्ष्मी खनाल, फिल्ड अधिकृत, ड्युटी अधिकृत र हिरासतको सुरक्षामा खटिने गार्ड कमाण्डर सहितलाई विभागीय कारबाही गर्न सिफारिस गरेको छ।
लामो छानबिनपछि प्राप्त रिपोर्टका आधारमा डीएसपी सहितका सुरक्षकर्मीहरुमाथि विभागीय कारबाहीको प्रक्रिया सुरु गरिएको प्रहरी प्रधान कार्यालयका एक जना अधिकृतले बताए । उनले भने, ‘जेनजी आन्दोलन लगायतका घटनाले छानबिन ढिला भएको थियो, थुनुवाको मृत्यु हुनुमा इन्चार्ज सहितका प्रहरी जिम्मेवार देखिएका छन् ।’
कालिकोट घर भएका ३८ वर्षीय वीरेन्द्रबहादुर सिंहले पक्राउ परेको ३ दिनमै ज्यान गुमाएका थिए । हिरासतमा बस्दा स्वास्थ्यमा समस्या देखिएपछि उनलाई कोहलपुर मेडिकल कलेजमा लगिएको थियो । मेडिकल कलेजका चिकित्सकहरूले उनलाई मृत घोषणा गरेका थिए ।
सिंहका परिवारले प्रहरीको यातनाको कारण उनको मृत्यु भएको जिकिर गरेर छानबिन गर्न माग गरे। जेनजी आन्दोलनपछि लुम्बिनी प्रदेश प्रहरी तालिम केन्द्रका बुटवलमा कार्यरत एसएसपी राठौरको नेतृत्वमा समिति गठन गरिएको थियो । राठौर अहिले कर्णाली प्रदेश प्रहरी कार्यालयमा सरुवा भैसकेका छन्।
घटनामा प्रहरीको कमजोरी रहेको निष्कर्ष निकाल्दै समितिले प्रहरी ऐन अनुसार विभागीय कारबाही गर्न भनेको छ । छानबिन गर्दा हिरासत व्यवस्थापनमा खटिएका अधिकृतले मृतक सिंहलाई पछाडिबाट हतकडी लगाएको भेटिएको थियो । छानबिन समितिमा बसेर काम गरेका एक जना अधिकृत भन्छन्, ‘हिरासतमा सुधार गर्नुपर्ने कुरामा तत्कालीन डीएसपी खनालले ध्यान नदिएको छानबिन निष्कर्ष छ।’
घटनापछि डीएसपी खनाललाई सरुवा गरिएको थियो । अहिले उनी अपराध अनुसन्धान विद्यालय महाराजगञ्जमा कार्यरत छिन्।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
पोल्यान्डको सुप्रन्यासनलमा नेपालको प्रतिनिधित्व पूर्णिमा र मृदुलले गर्ने
-
सुर्खेत प्रहरीको हिरासतमा रहेका थुनुवाको मृत्युबारे छानबिन गर्न समिति गठन
-
परराष्ट्रमन्त्रीद्वारा चिनियाँ लगानीकर्तालाई नेपालमा लगानीका लागि आह्वान
-
प्रतिनिधिसभामा विनियोजन विधेयकमाथिको छलफल, अर्काे बैठक बुधबार
-
रास्वपा कर्णालीको सभापतिमा मदन खड्का निर्वाचित
-
सार्वजनिक सुनुवाइः बाँदर समस्यादेखि गुणस्तरीय शिक्षासम्मका कुरा
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण