आधुनिक सूचना प्रविधिको तीव्र विकाससँगै परम्परागत उजुरी पेटिका प्रयोगविहीन
सारांश
- आधुनिक सूचना प्रविधिको विकास र डिजिटल प्रणालीको प्रयोगले सरकारी कार्यालयमा रहेका परम्परागत गुनासो पेटिका प्रयोगविहीन बनेका छन्।
- सेवाग्राहीहरूले आफ्ना गुनासाहरू अनलाइन माध्यम, सामाजिक सञ्जाल वा प्रत्यक्ष भेटघाटमार्फत राख्ने प्रवृत्ति बढेको छ।
- जनप्रतिनिधि तथा कर्मचारीहरूका अनुसार गुनासो पेटिकाको महत्व घट्दै गएकाले अधिकांश कार्यालयमा यस्ता पेटिकाहरू खाली देखिन थालेका छन्।
जनकपुरधाम । आधुनिक सूचना प्रविधिको तीव्र विकाससँगै सरकारी सेवामा गुनासा, सुझाव तथा उजुरी दर्ता गर्ने तरिकामा ठूलो परिवर्तन आएको छ।
अनलाइन प्रणाली, वेबसाइट, सामाजिक सञ्जाल तथा प्रत्यक्ष सम्पर्कजस्ता माध्यमहरू प्रभावकारी बन्दै जाँदा परम्परागत रूपमा प्रयोग हुँदै आएका गुनासो पेटिका विस्तारै प्रयोगविहीन बन्दै गएका छन्।
पहिलेका वर्षहरूमा सरकारी कार्यालयहरूमा राखिएका गुनासो पेटिकाहरू सेवाग्राहीका समस्या, सुझाव र असन्तुष्टि अभिव्यक्त गर्ने प्रमुख माध्यम थिए। तर अहिले यस्ता पेटिकाहरू अधिकांश कार्यालयमा खाली देखिन थालेका छन्।
कतिपय स्थानमा त लामो समयसम्म नखोलिएका पेटिकामा माकुराको जालो र बारुलाको घारसमेत देखिन थालेको छ, जसले यसको प्रयोग घट्दो अवस्थामा रहेको स्पष्ट संकेत दिन्छ।
मधेस प्रदेशका विभिन्न जिल्लाका स्थानीय तहका जनप्रतिनिधिहरूका अनुसार सेवाग्राहीको व्यवहारमा आएको परिवर्तनले पनि गुनासो पेटिकाको प्रयोग घटाएको हो।
गौशाला नगरपालिकाका नगर प्रमुख डा. दिपेन्द्र महतोले आफू निर्वाचित भएको करिब चार वर्षको अवधिमा गुनासो पेटिकामा एउटा पनि उजुरी नपरेको बताए । उनले सेवाग्राहीले आफ्ना समस्या प्रत्यक्ष रूपमा जनप्रतिनिधि, सूचना अधिकारी वा कार्यालय प्रमुखसमक्ष राख्ने प्रवृत्ति बढेकाले पेटिका प्रयोग घटेको बताए ।

त्यस्तै, जनकपुरधाम उपमहानगरपालिकाका नगर प्रमुख मनोज साहले सेवाग्राहीसँग दैनिक रूपमा प्रत्यक्ष भेटघाट हुने भएकाले उनीहरूका गुनासा सिधै प्रस्तुत हुने गरेको बताए । यसले गर्दा पेटिकामा उजुरी राख्ने आवश्यकता कम भएको उनको भनाइ छ।
जिल्ला प्रशासन कार्यालयजस्तो अत्यधिक सेवाग्राही चाप हुने निकायमा समेत गुनासो पेटिकाको प्रयोग न्यून देखिएको छ। महोत्तरीका प्रमुख जिल्ला अधिकारी इन्द्रदेव यादवका अनुसार सेवाग्राहीले गुनासो भए सिधै कार्यालयमा पुगेर वा सम्बन्धित अधिकारीसँग सम्पर्क गर्ने भएकाले पेटिकाको उपयोग घटेको हो।
सूचना प्रविधिको विकासले गुनासो दर्ता गर्ने प्रक्रियालाई अझ सहज र छरितो बनाएको छ। वर्दिवास नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत राममणि अधिकारीले अहिले धेरैजसो सरकारी कार्यालयहरूले आफ्नै वेबसाइटमार्फत अनलाइन गुनासो दर्ता गर्ने व्यवस्था गरे। यसले सेवाग्राहीलाई समय र श्रम बचत गर्ने सुविधा दिएको उनको भनाइ छ ।
मालपोत तथा भूमिसुधार कार्यालय जलेश्वरजस्ता बढी सेवाग्राही आउने निकायमा समेत गुनासो पेटिका प्रायः खाली रहने गरेको पाइन्छ। सूचना अधिकारी अजयकुमार कर्णका अनुसार सेवाग्राहीले समस्या पर्दा सिधै कार्यालय प्रमुखसमक्ष पुग्ने वा सामाजिक सञ्जालमार्फत सार्वजनिक गर्ने प्रवृत्ति बढेको छ।
यसका साथै, सरकारी कार्यालयहरूले नागरिक बडापत्र, सेवा प्रवाहसम्बन्धी विवरण तथा अन्य सूचनाहरू पनि वेबसाइटमार्फत सार्वजनिक गर्न थालेका छन्। यसले गर्दा सेवाग्राहीले प्रत्यक्ष भेटघाट, फोन वा डिजिटल माध्यमबाट गुनासो राख्ने अभ्यास बढ्दै गएको देखिन्छ।
सूचनाको हकको लागि राष्ट्रिय महासंघका मधेस प्रदेशका महासचिव कृष्ण थपलियाले गुनासो पेटिका राम्रो व्यवस्था भए पनि यसको प्रभावकारिताबारे पर्याप्त जानकारी नदिँदा प्रयोग घट्दै गएको बताए । साथै, कार्यालयहरूले यसको नियमित व्यवस्थापनमा ध्यान नदिँदा यसको महत्व क्रमशः घट्दै गएको उनको भनाइ छ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
‘बोलाएको भए आफैँ आउनुहुन्थ्यो, कार्यक्रममा रहेका बेला किन तत्काल पक्राउ गरियो ?’
-
जाजरकोटको भेरी नगरपालिकाको निर्णय पुस्तिका हराएको भन्दै खोजीदिन सीडीओसँग गुहार
-
मानव अधिकार रक्षकको सुरक्षाका लागि विशेष कानुन बनाउन माग
-
बैंकिङ कसूर मुद्दामा १३ वर्षदेखि फरार सविता कार्की पक्राउ
-
निको कप महिला टि–ट्वान्टी राष्ट्रिय क्रिकेटमा लुम्बिनीको पहिलो जित
-
बैंकिङ क्षेत्रलाई राष्ट्र बैंकको 'ब्याक-टू-ब्याक' निर्देशन: अविश्वास कि माइक्रो म्यानेजमेन्ट ?
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण