अमेरिका इरान युद्धविराम सङ्कटमा
सारांश
- अमेरिकी सेनाले इरानी कार्गो जहाज नियन्त्रणमा लिएपछि अमेरिका र इरानबीचको युद्धविराम सङ्कटमा परेको छ।
- इरानले अमेरिका कूटनीतिक प्रक्रियामा गम्भीर नभएको आरोप लगाउँदै शान्ति वार्तामा सहभागी हुन अस्वीकार गरेको छ।
- तेल आपूर्तिमा देखिएको अवरोधका कारण विश्व बजारमा कच्चा तेलको मूल्यमा ६ प्रतिशतभन्दा बढीले वृद्धि भएको छ।
दुबई । अमेरिका र इरानबिचको युद्धविराम सोमबार सङ्कटमा परेको सङ्केत देखिएको छ । अमेरिकी सेनाले इरानी कार्गाे जहाज नियन्त्रणमा लिएपछि तेहरानले प्रतिशोधको चेतावनी दिँदै नयाँ शान्ति वार्तामा सहभागी हुन अस्वीकार गरेको छ । इरानका परराष्ट्र मन्त्रालयका प्रवक्ता इस्माइल बघाइले अमेरिका ‘कूटनीतिक प्रक्रियामा गम्भीर नभएको’ आरोप लगाएका छन् ।
इरानले आफ्ना मागहरू परिवर्तन नगर्ने र राष्ट्रिय हितका विषयमा कुनै समय सीमा वा दबाब स्वीकार नगर्ने उनले स्पष्ट पारे । अमेरिकाले भने दुई हप्ते युद्धविराम सकिनु अघि इस्लामवादमा नयाँ चरणको वार्ता सुरु गर्ने तयारी गरेको थियो । तर बघाईका अनुसार, अमेरिका ‘अव्यवहारिक र अवास्तविक अडान’ मा अडिग रहेकोले वार्ता अनिश्चित बनेको छ ।
इरानी उच्च स्रोतका अनुसार, अमेरिकी नाकाबन्दी जारी रहनुले वार्ताको सम्भावना कमजोर बनाएको छ । विशेषगरी इरानको मिसाइल कार्यक्रम जस्ता ‘रक्षात्मक क्षमता’ कुनै पनि वार्ताको विषय बन्न नसक्ने बताइएको छ ।
यसबिच पाकिस्तानले मध्यस्थकर्ताको भूमिका खेलेको छ । पाकिस्तानी सेनाका प्रमुख असिम मुनिरले अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पसँगको कुराकानीमा वार्ताको मुख्य अवरोध नाकाबन्दी भएको बताएका थिए । ट्रम्पले उक्त सुझावमाथि विचार गर्ने बताएका छन् ।
अमेरिकाले इरानी बन्दरगाहहरूमा नाकाबन्दी कायम राखेको छ भने इरानले स्ट्रेट अफ होर्मुजमा जहाज आवत जावतमा पटक–पटक अवरोध सिर्जना गरिरहेको छ । यो जलमार्गबाट विश्वमा खपत हुने झन्डै २० प्रतिशत तेल र ग्यास आपूर्ति हुने भएकाले यसको अवरोधले विश्व बजारमा ठूलो असर पारेको छ ।
यही घटनाक्रमका बीचमा सोमबार विश्व बजारमा कच्चा तेलको मूल्य ६ प्रतिशतभन्दा बढीले बढ्यो भने सेयर बजार अस्थिर बने । विश्लेषकहरूका अनुसार, युद्धविराम टुंगिने डरले व्यापारीहरू चिन्तित बनेका छन् ।
अमेरिकी कारबाही र इरानको प्रतिक्रिया
अमेरिकी सेनाले आइतबार इरानी झन्डा बोकेको जहाजमाथि गोली प्रहार गरेर त्यसको इन्जिन निष्क्रिय बनाएको थियो । त्यसपछि अमेरिकी मध्य कमान्ड (सेन्टकम) ले सार्वजनिक गरेको भिडियोमा अमेरिकी नौसेनाहरू हेलिकोप्टरबाट जहाजमा झरेको देखिन्छ । इरानले भने उक्त जहाज चीनबाट आएको दाबी गर्दै अमेरिकामाथि ‘हतियारसहितको डकैती’ गरेको आरोप लगाएको छ ।
इस्लामिक रिभोलुशनरी गार्ड कर्प्स (आईआरजीसी) ले अमेरिकी ‘खुला आक्रमण’ को सामना गर्न तयार रहेको बताए पनि जहाजमा चालक दलका परिवार भएकाले तत्काल प्रतिक्रिया दिन नसकिएको जनाएको छ । यस घटनाप्रति चीनले पनि चिन्ता व्यक्त गरेको छ र सबै पक्षलाई जिम्मेवार व्यवहार गर्न आग्रह गरेको छ ।
धम्की र प्रतिधम्की
इरानका उपराष्ट्रपति मोहम्मदरेजा आरेफले सामाजिक सञ्जालमार्फत चेतावनी दिएका छन्, ‘यदि इरानको तेल निर्यात रोकिन्छ भने अरूका लागि पनि सुरक्षा सुनिश्चित हुँदैन,’ ।
त्यसअघि ट्रम्पले आफ्ना सर्त नमान्ने हो भने इरानका पुल र विद्युत् संरचना ध्वस्त पार्ने धम्की दिएका थिए । जवाफमा इरानले आफ्नो पूर्वाधारमा आक्रमण भए खाडी क्षेत्रका अमेरिकी सहयोगी देशका ऊर्जा संरचनामा आक्रमण गर्ने चेतावनी दिएको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
गगनले सम्झाएको २०१८ सालमा चितवनको गेष्टहाउस चौर घटना के थियो ?
-
सेवाग्राहीलाई केन्द्रमा राखेर काम गर्न मन्त्री तिमिल्सिनाको निर्देशन
-
अमेरिकी कम्पनीमाथि चीनको प्रतिबन्ध
-
हात्ती प्रभावित क्षेत्रमा कृषकको रोजाइ सुपारीखेती
-
कुनशानको पिरामिड आकारको अनौठो अपार्टमेन्ट भवन
-
देवनगरमा ५० हेक्टरको 'टाइगर सेन्चुरी' बनाएर समस्याग्रस्त बाघ व्यवस्थापन गर्ने सरकारको तयारी
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण