गण्डकी गोपाल गौशालामा थपिए पूर्वाधार
पर्वत । जलजला गाउँपालिका–७ धाइरिङमा रहेको गण्डकी गोपाल गौशालामा धार्मिक तथा पर्यटकीय पूर्वाधार निर्माण गरिएका छन् । गौशालालाई पर्यटकीयस्थलका रूपमा विकास गर्ने लक्ष्यसहित सङ्घीय सरकार र स्थानीय जलजला गाउँपालिकाको करिब रु साढे चार करोड बराबरको संयुक्त लगानीमा संरचना निर्माण गरिएका हुन्।
गाउँपालिका र सङ्घीय सरकारको ५०/५० प्रतिशत लागत साझेदारीमा आर्थिक वर्ष २०८०/८१ मा विनियोजित रु एक करोड २५ लाख ८५ हजार २३२ बजेटबाट धर्मशाला, हवनकुण्ड, कुटी, ध्यानकुटी, सभाहललगायतका संरचना निर्माण गरिएका थिए ।
आव २०८१/८२ मा सङ्घीय सरकारको करिब रु तीन करोड समपूरक अनुदानमा आश्रमस्थल, सभाहल, थप ध्यानकुटी र मन्दिरलगायत संरचना निर्माण गरिएको गाउँपालिकाका इन्जिनियर सुनिल बानियाँले जानकारी दिए।
योजना कार्यान्वयनका लागि सुनामी एसएण्डएस जेभीसँग विसं २०८१ पुस ४ गते रु दुई करोड २० लाखमा ठेक्का सम्झौता गरिएको थियो । यही असार १५ भित्र निर्माण सम्पन्न गर्ने गरी सम्झौता भएको थियो।
यहाँ करिब चार सय जना अटाउने सभाहल, मन्दिर, चारवटा ध्यान केन्द्र, सत्तल, हवनकुण्ड, परिसरमा ढुङ्गा छपाइ तथा शौचालयलगायत संरचना निर्माण सम्पन्न भएका गाउँपालिकाका इन्जिनियर बानियाँले बताए।
स्थानीय जातका गाईको संरक्षण गर्दै आएको गौशाला क्षेत्रलाई तीर्थस्थल तथा पर्यटकीय गन्तव्यका रूपमा विकास गर्ने उद्देश्यले पूर्वाधार निर्माण गरिएको गाउँपालिका अध्यक्ष राजुप्रसाद आचार्यले बताए। यहाँ निर्माण गर्न बाँकी केही संरचना गाउँपालिकाले थप बजेट विनियोजन गरी सम्पन्न गर्ने उनले जानकारी दिए।
गौशाला, वराह शिवालय र प्रसिद्ध धार्मिकस्थल भुमेठाकुरलाई धार्मिक ‘सर्किट’का रूपमा जोडेर धार्मिक पर्यटन प्रवर्द्धन गर्ने योजना रहेको अध्यक्ष आचार्यले बताए । विसं २०७१ मा मुक्तिनाथ पीठाधीश्वर स्वामी कमलनयनाचार्यको सङ्कल्पमा स्थानीयवासीको सक्रियतामा आठ वटा गाईबाट सुरु गरिएको गौशालामा हाल ५० भन्दा बढी गाई छन् ।
यसअघि गौ महोत्सवबाट संकलित रकम र प्रदेश तथा स्थानीय सरकारको बजेटबाट पनि केही संरचना निर्माण भइसकेका छन् । गौशालाको समग्र विकासका लागि करिब रु १२ करोड बराबरको विस्तृत परियोजना प्रतिवेदन (डीपीआर) तयार पारिएको छ ।
गौशालामा व्यवस्थित पूर्वाधार विकास गरी प्रचारप्रसार गर्न सके मुक्तिनाथ दर्शनका लागि आउने भारतीय पर्यटकलाई आकर्षित गर्न सकिने स्थानीय दिपक आचार्यको भनाइ छ । यहाँबाट पर्वत, म्याग्दी र बागलुङका रमणीय दृश्य अवलोकन गर्न सकिने उनले जानकारी दिए।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
सञ्चार क्षेत्रकाे पुनर्संरचना गर्न श्रमजीवी पत्रकार सङ्घको माग
-
काठमाडौँमा योग दिवसको पूर्वसन्ध्यामा विशेष कार्यक्रम
-
जेठमा कोशीको बजेट खर्च १ अर्ब ५४ करोड, आम्दानी ४ लाख !
-
शिक्षा तथा खेलकुदमन्त्री पोखरेल सुर्खेतमा : रङ्गशालादेखि विश्वविद्यालयको अनुगमन
-
थुनुवा मृत्यु प्रकरण : डीएसपी लक्ष्मी खनालसहित ४ जनामाथि कारबाही प्रक्रिया सुरु
-
जग्गाधनी पूर्जा बनाइदिने भन्दै ६० हजार घुस लिने अमिन अख्तियारको फन्दामा
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण