देउवा समूहको नेतृत्व भएको प्रदेशमा संस्थापनलाई असहयोग, चुनावी समीक्षा अवरुद्ध
सारांश
- नेपाली कांग्रेसले सातवटै प्रदेशमा गर्ने निर्णय गरेको चुनावी समीक्षा कार्यक्रम कर्णाली र सुदूरपश्चिममा अनिश्चितकालका लागि स्थगित भएको छ।
- देउवा समूहको नेतृत्व रहेका प्रदेशहरूमा संस्थापन पक्षसँग समन्वय नहुँदा चुनावी समीक्षा कार्यक्रम प्रभावित बनेको छ।
- सुदूरपश्चिमका सभापति वीरबहादुर बलायरले आन्तरिक कलह र संवादको अभावका कारण कार्यक्रम गर्न कठिन भएको बताएका छन्।
काठमाडौँ । नेपाली कांग्रेसले चैत २३ गतेदेखि वैशाख ५ गतेसम्म सातवटै प्रदेशका विभिन्न सहरमा चुनावी समीक्षा गर्ने निर्णय गरेपनि सो निर्णय कार्यान्वयन प्रभावित बनेको छ । गत चैत ११ र १२ गते बसेको केन्द्रीय समिति बैठकले यस्तो निर्णय गरेअनुसार कांग्रेसले चैत १७ गते प्रदेशहरूलाई परिपत्र गरेर चुनावी समीक्षाबारे जानकारी गराएको थियो ।
तर उक्त निर्णयअनुसार हालसम्म ४ प्रदेशमा मात्र चुनावी समीक्षा कार्यक्रम सम्पन्न भएको छ । मधेश, गण्डकी, लुम्बिनी र बागमतीमा चुनावी समीक्षा कार्यक्रम सम्पन्न गरेको हो । मधेसमा चैत २४, गण्डकीमा चैत २७, लुम्बिनीमा चैत २९ र बागमतीमा वैशाख ७ गते चुनावी समीक्षा कार्यक्रम सम्पन्न भएको हो ।
कोशी प्रदेश स्तरीय चुनावी समीक्षा कार्यक्रम वैशाख ९ गते (बुधवार) कञ्चनजंगा पार्टी प्यालेस विराटनगरमा हुँदै छ । तर, कर्णाली र सुदूरपश्चिम प्रदेशमा भने समीक्षा कार्यक्रम अनिश्चित कालका लागि स्थगित गरिएको छ ।
पार्टी केन्द्रीय कार्यालयका मुख्यसचिव कृष्णप्रसाद दुलालले दुई प्रदेशको चुनावी समीक्षा कार्यक्रम अनिश्चितकालका लागि स्थगित भएका स्वीकारे । ‘दुई प्रदेशका समीक्षा कार्यक्रम स्थगित गरिएको छ । तर कहिले गर्ने भन्ने तय भइसकेको छैन,’ कार्यवाहक मुख्यसचिव दुलालले मंगलबार रातोपाटीसँग भने, ‘पार्टीको नीति तथा प्रशिक्षण प्रतिष्ठानले प्रदेश प्रदेशमा कार्यक्रम गर्दै छ । त्यही समयमा एकै पटक दुई कार्यक्रम गर्ने भनेर रोकिएको हो । अब तय भइहाल्छ ।’
तर, समीक्षा कार्यक्रम रोकिनुमा सत्यता फरक रहेको नेताहरू बताउँछन् । कर्णाली प्रदेशमा ललितजंग शाही र सुदूरपश्चिम प्रदेशमा वीरबहादुर बलायर प्रदेश सभापति छन् । उनीहरू निवर्तमान सभापति शेरबहादुर देउवा समूहका हुन् । प्रदेशमा उनीहरूले समन्वय नगरिदिएकाले संस्थापन पक्ष कार्यक्रम स्थगित गर्न बाध्य भएको हो । सुदूरपश्चिम देउवाको गृह प्रदेश पनि हो ।
सुदूरपश्चिमका वैशाख ६ गते र कर्णालीमा वैशाख ११ गतेका लागि कार्यक्रम तय भएको थियो । ती कार्यक्रम ‘अर्को सूचना जारी नभएसम्म’ का लागि स्थगित गरिएका पत्र कार्यवाहक मुख्यसचिव दुलालले प्रदेश कार्यसमितिमा पठाएका छन् ।
पूर्वनिर्धारित कार्यक्रम स्थगित हुनुको कारणबारे भने दुलालले पत्रमा खुलाइएको छैन । ‘पूर्वनिर्धारित कार्यक्रम विशेष कारणवश अर्को सूचना जारी नभएकासम्मका लागि स्थगन गरिएको’, पत्रमा दुलालले लेखेका छन् ।

कांग्रेसले कर्णाली प्रदेशको सुर्खेतमा वैशाख ३ गतेका लागि तय भएको चुनावी समीक्षा कार्यक्रम पनि स्थगित गरेको थियो ।
चैत ३० गते कार्यवाहक मुख्यसचिव दुलालले पुनः कर्णाली प्रदेश कार्यसमितिलाई पत्राचार गर्दै वैशाख ११ गते आयोजना गरिने जानकारी गराएका थिए । त्यो पनि अन्तिममा आएर स्थगित गरिएको हो ।
सुदूरपश्चिम प्रदेश सभापति बलायरले प्रदेशमा जतिखेर भन्यो त्यतिखेर कार्यक्रम गर्न सक्ने अवस्था नरहेको जानकारी दिए । ‘प्रदेशका एक महामन्त्रीले आफू राजनीतिबाट निष्क्रिय रहने बताउनु भएको छ । अर्को महामन्त्री प्रदेश सरकारमा मन्त्री हुनुहुन्छ । कार्यवाहक सभापति बिरामी हुनुहुन्छ । म पनि बिरामी भएर काठमाडौँ छु,’ बलायरले रातोपाटीसँग भने, ‘पार्टीभित्र कचिङ्गल छ । निवर्तमान सभापति शेरबहादुर देउवाको गृह प्रदेश पनि हो । त्यसैले समय मिलाएर सल्लाहमा गर्नुपर्छ । अहिलेसम्म त्यो देखिएन ।’
कांग्रेस सुदूरपश्चिम प्रदेशका महामन्त्री नरनारायण शाह ‘मनु’ले राजनीति त्यागेर निष्क्रिय बन्ने घोषणा गरेका छन् । अर्का महामन्त्री मेघराज खड्का सुदूरपश्चिम प्रदेश सरकारमा सामाजिक विकासमन्त्री छन् ।
बलायरले विशेष महाधिवेशन पक्षधरले देउवा पक्षधरलाई बेवास्ता गरेर कांग्रेस पार्टीलाई यहाँसम्म पुर्याउन दुःख गरेकालाई अर्कोतिर राखेर अगाडि बढ्न नसक्ने बताए । सुदूरपश्चिममा कार्यक्रम रोकिनुमा देउवा पक्षसँग संवाद नगरी तोकिएको मिति कारण रहेको उनको संकेत थियो । ‘शेरबहादुर एकातिर, विशेष महाधिवेशन अर्कोतिर लाग्छ भने के भन्ने,’ बलायरले भने ।
कर्णाली प्रदेश सभापति शाहीले भने समय अनुकूल नभएकाले प्रदेशको चुनावी समीक्षा कार्यक्रम दोस्रो पटक पनि सार्नुपर्ने अवस्था आएको बताए । ‘समय अनुकूल नभएर वैशाख ३ गतेको कार्यक्रम ११ गतेका लागि सारियो । यो बेला पनि समय अनुकूल नभएकाले सार्नुपर्यो, ’ सभापति शाहीले रातोपाटीसँग भने, ‘अरू प्रदेशका पदाधिकारी साथीहरूको विभिन्न काम परे । मेरो पनि संसदीय समितिको बैठक भयो र सार्नुपर्यो । नकारात्मक कारण होइन, व्यवहारिक कारणले सारिएको हो ।’
केही नकारात्मक कुराहरूका कारण पनि सारिएका भन्ने चर्चा सुनिएको छ नि भन्ने रातोपाटीको प्रश्नमा सभापति शाहीले भने, ‘नकारात्मक कारण होइन । पार्टीमा एकताको प्रयास सबैतिरबाट भइरहेको बेलामा नकारात्मक कारणले भन्ने त कुरै रहेन ।’
१ सय ६५ वटै निर्वाचन क्षेत्रका उम्मेदवारको उपस्थितिमा गर्न लागिएको चुनावी समीक्षा स्थगित भएपछि संस्थापन पक्षीय नेताहरू कसरी अगाडि बढ्ने भन्नेमा आन्तरिक छलफलमा लागेका नेताहरू बताउँछन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
मौन आँसुको विकासे समाजशास्त्र
-
नयाँ दिल्लीमा कक्रोच जनता पार्टीको निरन्तर धर्ना : शिक्षा मन्त्रीको राजीनामा माग
-
केप भर्डेका गोलकिपर भोजिन्हा र उनकी आमा आनाको यो जीत
-
रास्कोट नगरसभामा ५६ करोड ६७ लाखको बजेट पेस
-
रणवीर सिंह बने सबैभन्दा महँगा भारतीय अभिनेता, ‘धुरन्धर’बाट कमाए ३२५ करोड भारु
-
रास्वपाको बन्दसत्र सुरु नभएपछि महाधिवेशनस्थलमा जे देखियो (तस्बिरहरू)
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण