प्रयोग भइसकेका हाई भोल्टेज ईभी ब्याट्री के गर्ने ?
सारांश
- नेपालमा विद्युतीय सवारीसाधनको प्रयोग बढेसँगै प्रयोग भइसकेका हाई भोल्टेज ब्याट्रीहरूको व्यवस्थापन एउटा दीर्घकालीन चुनौतीका रूपमा देखा परेको छ।
- यी ब्याट्रीहरूलाई फोहोरका रूपमा नहेरी ऊर्जा भण्डारण प्रणाली वा कच्चा पदार्थको स्रोतका रूपमा सदुपयोग गर्न सकिने सम्भावना देखिएको छ।
- ब्याट्री रिसाइकल र पुनर्जीवनका लागि सरकारले स्पष्ट नीति निर्माण गरी निजी क्षेत्रसँग सहकार्य गर्नुपर्ने आवश्यकता छ।
सन् १७६९ मा ब्रिटिसहरूद्वारा स्टिम इन्जिनको आविष्कार मानव इतिहासमै अभूतपूर्व परिघटना थियो । स्टिम इन्जिनले विश्वभर साम्राज्य विस्तारमा ठूलो फड्को मार्न सघायो । यसैको मद्दतले ब्रिटिसहरूले रेल नेटवर्क विस्तार गरे ।
यो वाष्प इन्जिन ‘एक्सटर्नल कम्बस्चन इन्जिन’ प्रणालीमा आधारित थियो, जहाँ आगो बाहिर लगाइन्थ्यो र त्यसै ऊर्जाबाट पिस्टन घुमाएर मेसिन चलाइन्थ्यो । यो इन्जिनको इनर्जी इफिसियन्सी (ऊर्जा दक्षता) दर २३ प्रतिशत थियो ।
त्यसपछि ‘एक्सटर्नल कम्बस्चन इन्जिन’बाट दुनियाँले ‘इन्टर्नल कम्बस्चन इन्जिन’मा फड्को मार्यो । यसमा इन्जिनभित्रै इन्धन पठाएर ऊर्जा उत्पादन गरिन्थ्यो । यसको पूरापुर व्यवसायीकरण गरेर अमेरिकाले ठूलो फड्को मार्यो । यसले आममानिसलाई मोटर गाडीको पहुँचसम्म पुर्याइदियो । यो इन्जिनको इनर्जी इफिसियन्सी पेट्रोलको ३० प्रतिशत र डिजेलको ४५ देखि ४८ प्रतिशत मात्रै छ ।
हालका दिनहरूमा ऊर्जाको उत्पादन, प्रयोग, भण्डारण र नियन्त्रणमा विश्वभर अभूतपूर्व परिवर्तन देखा पर्दैछ । हालसम्म खनिज पेट्रोलियममा आधारित विश्वको ऊर्जा व्यवस्था अब नवीकरणीय ऊर्जातर्फ रूपान्तरित हुँदै गएको देखिन्छ ।
यससँगै एउटा महत्त्वपूर्ण र दीर्घकालीन चुनौती पनि देखा पर्दैछ- प्रयोग भइसकेका हाई भोल्टेज ईभी ब्याट्रीहरूको व्यवस्थापन ।
अमेरिकी चिन्तक जेरेमी रिफ्किनले सन् २०११ मा लेखेको महत्त्वपूर्ण पुस्तक ‘द थर्ड इन्डस्ट्रियल रेभ्युलुसन’का अनुसार ब्रिटिसहरू शक्तिमा आउनुमा पहिलो औद्योगिक क्रान्तिमा वाष्प इन्जिनको महत्त्वपूर्ण भूमिका थियो । दोस्रो औद्योगिक क्रान्ति कम्बस्चन इन्जिनमा आधारित थियो, त्यसपछि अमेरिका शक्तिमा आयो । अबको विश्व नवीकरणीय ऊर्जामाथि जसले नियन्त्रण कायम गर्छ, उही महाशक्ति हुने हो । सम्भवतः अब चीन महाशक्तिका रूपमा उदाउनेछ किनभने नवीकरणीय ऊर्जामा उसैले सबैभन्दा ठूलो फड्को मारेको छ ।
नवीकरणीय ऊर्जाबाट चल्ने बिजुली गाडीको इनर्जी इफिसियन्सी ८५ प्रतिशतभन्दा धेरै छ । त्यस्तै, हाइड्रोजन इन्धनमा आधारित मेसिनको इनर्जी इफिसियन्सी ९५ प्रतिशतभन्दा धेरै हुने अनुमान छ । फेरिँदै गएको ऊर्जाको प्रयोग र भण्डारणकै कारण हुनुपर्छ, नेपालमा पछिल्लो समय विद्युतीय सवारीसाधन (ईभी) को प्रयोग केही वर्षयता उल्लेखनीय रूपमा बढेको छ ।
वातावरण संरक्षण, इन्धन आयात घटाउने आवश्यकता र सरकारको प्रोत्साहन नीतिका कारण ईभीको लोकप्रियता तीव्र गतिमा विस्तार हुँदै गएको हो । तर, यससँगै एउटा महत्त्वपूर्ण र दीर्घकालीन चुनौती पनि देखा पर्दैछ- प्रयोग भइसकेका हाई भोल्टेज ईभी ब्याट्रीहरूको व्यवस्थापन ।
हालसम्म नेपालका अधिकांश ईभी आयातकर्ता तथा वितरकहरूले प्रयोग भइसकेका ब्याट्रीहरूलाई विदेशस्थित रिसाइकल कम्पनीहरूलाई फिर्ता पठाउने अभ्यास अपनाइरहेका छन् । यो व्यवस्थापन छोटो अवधिका लागि सहज देखिए तापनि दीर्घकालमा यसले देशभित्र सिर्जना हुन सक्ने आर्थिक, औद्योगिक र प्राविधिक अवसरहरूलाई सीमित बनाएको छ । वास्तवमा, यी ब्याट्रीहरूलाई फोहोर नभई स्रोतका रूपमा हेर्ने दृष्टिकोण विकास गर्न जरुरी छ ।
- वर्तमान अवस्था र भविष्यका चुनौती
हालको तथ्याङ्कअनुसार नेपालमा करिब ३० देखि ३५ हजार फुल इलेक्ट्रिक चारपाङ्ग्रे सवारी (कार, जिप/भ्यान, पिकअप तथा बस, ट्रक) भित्रिएका छन् । साथै, ईभी गाडीहरूको आयात दर पनि तीव्र गतिमा बढ्दै गएको छ । मध्यपूर्व क्षेत्रमा इरान–अमेरिका–इजरायलबिच भइरहेको तनाव/युद्धका कारण ईभी आयात अझै बढ्ने देखिन्छ ।
सवारीमा प्रयोग हुँदा ब्याट्रीको क्षमता घटे पनि, ती पूर्ण रूपमा निष्क्रिय हुँदैनन् । सामान्यतया ६० देखि ८० प्रतिशत क्षमता बाँकी रहन्छ, जुन अन्य प्रयोजनका लागि उपयोगी हुन सक्छ ।
यीमध्ये धेरैजसो सवारीमा प्रयोग भएका हाई भोल्टेज ब्याट्रीहरूको आयु औसतमा ६ देखि ८ वर्षसम्म रहने अनुमान गरिन्छ । यसको अर्थ, आगामी केही वर्षभित्र ठूलो परिमाणमा ब्याट्री प्रतिस्थापनको आवश्यकता पर्नेछ । यसलाई समयमै व्यवस्थापन गर्न सकिएन भने, यो वातावरणीय चुनौती बन्न सक्छ । तर, उचित योजना र नीति निर्माण गरिएमा यही चुनौतीलाई आर्थिक अवसरमा रूपान्तरण गर्न सकिन्छ ।
- ब्याट्री पुनर्जीवनको सम्भावना
सवारीमा प्रयोग हुँदा ब्याट्रीको क्षमता घटे पनि, ती पूर्ण रूपमा निष्क्रिय हुँदैनन् । सामान्यतया ६० देखि ८० प्रतिशत क्षमता बाँकी रहन्छ, जुन अन्य प्रयोजनका लागि उपयोगी हुन सक्छ । नेपालजस्तो देशमा, जहाँ विद्युत् उत्पादन र वितरणमा अझै असन्तुलन कायम छ, यस्ता ब्याट्रीहरू ऊर्जा भण्डारण प्रणालीका रूपमा प्रयोग गर्न सकिन्छ ।
विशेषगरी सौर्य ऊर्जासँग संयोजन गर्दा, दिनमा उत्पादन भएको ऊर्जा सञ्चित गरी रातको समयमा वा आवश्यकताअनुसार प्रयोग गर्न सकिन्छ । ग्रामीण तथा दुर्गम क्षेत्रहरूमा माइक्रो–ग्रिड प्रणाली विकास गर्न पनि यी ब्याट्रीहरू अत्यन्त उपयोगी हुन सक्छन् । यसले राष्ट्रिय विद्युत् प्रणालीलाई स्थिर बनाउने मात्र होइन, ऊर्जा पहुँच विस्तारमा पनि महत्त्वपूर्ण योगदान पुर्याउँछ ।
नेपालमा अझै ब्याट्री मर्मत तथा पुनःप्रयोगसम्बन्धी प्रविधि प्रारम्भिक चरणमै छ । तर, यस क्षेत्रमा लगानी र अनुसन्धान बढाउन सकिएमा, धेरै ब्याट्रीहरूलाई पुनः सञ्चालनमा ल्याउन सकिन्छ । स–साना कम्पोनेन्टहरू जस्तै: सेल, मोड्युल, पाइरो स्विच (Pyro Switch), बीएमएस (BMS) आदि परिवर्तन गरेर ब्याट्रीको आयु थप बढाउन सकिने सम्भावना छ ।
यसका लागि नेपाल विज्ञान तथा प्रविधि प्रज्ञा प्रतिष्ठान (नास्ट), राष्ट्रिय आविष्कार केन्द्र, प्राविधिक संस्थाहरू तथा निजी क्षेत्रबिच सहकार्य आवश्यक छ । अनुसन्धान, परीक्षण र स्थानीय समाधान विकासमार्फत नेपालले आफ्नै क्षमता निर्माण गर्न सक्छ ।
- धातु र कच्चा पदार्थमा आत्मनिर्भरता
जब ब्याट्री पूर्ण रूपमा प्रयोगयोग्य रहँदैन, तब त्यसलाई वैज्ञानिक ढङ्गले नष्ट गरेर मूल्यवान् धातुहरू निकाल्न सकिन्छ । लिथियम, निकेल, कोबाल्ट, म्याङ्गनिज, तामा र एल्युमिनियमजस्ता धातुहरू अन्तर्राष्ट्रिय बजारमा अत्यन्त महँगा छन् र नेपालले यिनलाई ठूलो परिमाणमा आयात गर्छ । ईभीको ब्याट्री हाउजिङ प्रायः पूरै एल्युमिनियमबाट बनेको हुन्छ । यसलाई पूर्ण रूपमा पुनःप्रयोग गरी अन्य एल्युमिनियम उद्योगमा पनि प्रयोग गर्न सकिन्छ ।
त्यसो हुँदा नीतिगत सुधार र सरकारी पहलका लागि तत्कालै के गर्नु आवश्यक छ त ? पहिलो त यस क्षेत्रमा स्पष्ट नीति, मापदण्ड र कार्ययोजनाको आवश्यकता छ ।
देशभित्रै यस्ता सामग्री पुनःप्राप्ति गर्न सकियो भने, यसले कच्चा पदार्थ आयातमा कमी ल्याउनेछ र विदेशी मुद्रा बचतमा ठूलो सहयोग पुर्याउनेछ । साथै, यस्ता सामग्रीलाई पुनःप्रयोग गरी नयाँ उत्पादन गर्न सकिन्छ ।
ब्याट्री पुनःप्रयोग र रिसाइकल उद्योगको विकासले नेपालमा नयाँ औद्योगिक क्षेत्रको ढोका खोल्न सक्छ । यसले दक्ष जनशक्ति विकास, प्राविधिक ज्ञान हस्तान्तरण, रोजगारी सिर्जना र स्थानीय उत्पादन वृद्धि जस्ता क्षेत्रमा सकारात्मक प्रभाव पार्नेछ । साथै, ईभी इकोसिस्टमलाई पूर्ण बनाउन देशभित्रै मूल्य शृङ्खला (भ्यालू चेन) निर्माण गर्न सकिन्छ ।
त्यसो हुँदा नीतिगत सुधार र सरकारी पहलका लागि तत्कालै के गर्नु आवश्यक छ त ? पहिलो त यस क्षेत्रमा स्पष्ट नीति, मापदण्ड र कार्ययोजनाको आवश्यकता छ । यसका लागि सरकारले निम्न पहल गर्न सक्छ:
- पहिलो, ईभी ब्याट्री पुनःप्रयोग तथा रिसाइकलसम्बन्धी नीति निर्माण ।
- दोस्रो, निजी क्षेत्रलाई कर छुट र अनुदान दिने व्यवस्था ।
- तेस्रो, अनुसन्धान तथा विकासमा लगानी ।
- चौथो, अन्तर्राष्ट्रिय प्रविधि साझेदारी गर्नका लागि ठोस पहल ।
- पाँचौँ, सुरक्षा तथा वातावरणीय मापदण्डमा कडाइ ।
यदि सरकार, निजी क्षेत्र र अनुसन्धान संस्थाहरूबिच सहकार्य हुन सकेमा, नेपालले यस क्षेत्रमा क्षेत्रीय स्तरमै उदाहरण प्रस्तुत गर्न सक्छ । प्रयोग भइसकेका ईभी हाई भोल्टेज ब्याट्रीहरू केवल व्यवस्थापनको विषय मात्र नभई, यो नेपालको आर्थिक र औद्योगिक रूपान्तरणको अवसर पनि हो ।
सवारीबाट ऊर्जा भण्डारणसम्म र अन्ततः कच्चा पदार्थ पुनःप्राप्तिसम्मको सम्पूर्ण चक्रलाई देशभित्रै विकास गर्न सकियो भने, यसले दीर्घकालीन रूपमा आत्मनिर्भर अर्थतन्त्र निर्माणमा सहयोग पुर्याउने निश्चित छ ।
अब आवश्यक छ त केवल दूरदृष्टि, नीतिगत पहल र व्यावहारिक कार्यान्वयनको । विदेश पठाउनुअगावै देशभित्रै यसको अधिकतम उपयोग गर्नु नै नेपालको हितमा हुनेछ । ठूलो जनमतसहित गठन भएको नयाँ सरकारले यस विषयमा ठोस पहलकदमी लिनु आवश्यक छ ।
(लेखक पोखरेल अटोमोबाइल तथा ईभी विशेषज्ञ हुन् ।)
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
स्वाद र सुगन्धले चर्चित जोरायले बासमती पुनः किसानको रोजाइमा
-
झापामा लागुऔषध सेवन र कारोबार घटाउन अभियान सञ्चालन
-
भन्सालीको ‘लभ एन्ड वार’ को सेटमा भयानक दुघर्टना, एक जनाको मृत्यु
-
टिपर दुर्घटनामा चालकको मृत्यु
-
पूर्वप्रधानन्यायाधीश पराजुली भन्छन्, ‘न्यायाधीशलाई गोलाप्रथाबाट मुद्दा तोक्ने व्यवस्था संविधानसम्मत छैन’
-
‘झिंगे दाउ २’ असोजमा रिलिज हुने
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण