सोमबार, ०८ असार २०८३
ताजा लोकप्रिय

सीमा क्षेत्रमा जनतालाई दुःख दिने काम तत्काल रोक्न राष्ट्रियसभाका सांसदको माग

बुधबार, ०९ वैशाख २०८३, १४ : ३१
बुधबार, ०९ वैशाख २०८३

सारांश

  • राष्ट्रिय सभाका सांसदहरूले नेपाल-भारत सीमा क्षेत्रमा सरकारले गरेको कडाइप्रति कडा विरोध जनाएका छन्।
  • सीमा क्षेत्रका बासिन्दाले दैनिक उपभोग्य सामान ओसारपसार गर्दा सुरक्षाकर्मीबाट अनावश्यक सास्ती भोग्नुपरेको सांसदहरूको गुनासो छ।
  • सांसदहरूले सर्वसाधारणलाई अपराधी जस्तो व्यवहार गर्न बन्द गरी सहज आवतजावतको व्यवस्था मिलाउन सरकारसँग माग गरेका छन्।

काठमाडौँ। नेपाल–भारत सीमा क्षेत्रमा सरकारले गरेको कडाइप्रति राष्ट्रिय सभाका सांसदहरूले विरोध जनाएका छन् । राष्ट्रियसभा अन्तर्गतको विकास आर्थिक मामिला तथा सुशासन समिति’ को बैठकमा बोल्दै धेरै सांसदहरूले सरकारको सो निर्णयको विरोध गरेका हुन् ।

बैठकमा बोल्दै लोकतान्त्रिक समाजवादी पार्टी (लोसपा)का अध्यक्ष तथा सांसद महन्थ ठाकुरले नेपाल–भारत सीमा क्षेत्रमा सरकारले गरेको कडाइप्रति विरोध जनाए । उनले विरोध गरेसँगै अन्य सांसदहरूले सरकारको ध्यानाकर्षण गराउन माग गरे। ठाकुरले सीमा क्षेत्रमा गरिएको अनावश्यक कडाइले मधेस र सिमाना आसपासका नागरिकले दैनिक सास्ती भोग्नुपरेको भन्दै सरकारको ध्यानाकर्षण गराए। 

ठाकुरले नेपाल र भारतबिचको खुल्ला सिमाना र सदियौँदेखिको सामाजिक, सांस्कृतिक तथा रोटी–बेटीको सम्बन्धलाई सुरक्षा वा भन्सारको नाममा प्रभावित पार्न नहुनेमा जोड दिए । उनले घरायसी प्रयोजन र दैनिक उपभोग्य सामान किनमेलका लागि सीमा वारपार गर्ने सर्वसाधारणलाई सुरक्षाकर्मीबाट अनावश्यक दुःख दिने काम भइरहेको भन्दै असन्तुष्टि व्यक्त गरे । 

‘सीमा क्षेत्रमा बसोबास गर्ने मधेसी जनताको जनजीवन र दैनिकी प्रत्यक्ष रूपमा पारिको बजारसँग जोडिएको छ,’ ठाकुरले बैठकमा भने, ‘तर, अहिले सिमानामा गरिएको कडा जाँच र निगरानीले गर्दा आम नागरिकले पाइला– पाइलामा सास्ती खेप्नुपरेको छ । सर्वसाधारणलाई अपराधी जस्तो व्यवहार गर्न बन्द गरिनुपर्छ ।’ 

उनले सीमामा हुने चेकजाँचलाई व्यवस्थित गर्नुपर्ने पनि त्यसको नाममा सर्वसाधारण नागरिकलाई आतङ्कित पार्ने र दुःख दिने प्रवृत्ति स्वीकार्य नहुने बताए । 

ठाकुरले सरकारलाई तत्काल सीमा क्षेत्रमा सर्वसाधारणलाई दिइने सास्ती रोक्न र दैनिक जीवनयापनका लागि सहज आवतजावतको व्यवस्था मिलाउन माग गरेका छन् । 

सांसद घनश्याम रिजालले सरकारलाई सहजीकरण गर्न समितिले निर्देशन दिनुपर्ने बताए । उनले सीमाका जनतालाई अमानवीय व्यवहार भएको बताए । 

त्यस्तै, सांसद उर्मिला अर्यालले पनि सिमानामा रहेका जनतालाई अमानवीय व्यवहार तत्काल रोक्न आवश्यक रहेको बताइन् । उनले सिमानामा हुने चोरी पैठारी रोक्नुपर्छ तर १०० रुपैयाँको समान ल्याउँदा ल्याउन दिनुपर्ने बताए। 

त्यस्तै, सांसद नारायण दत्त भट्टले सिमानामा जनतालाई दुःख दिने काम  तत्काल रोक्न आवश्यक रहेको बताए । उनले सरकारले त्यहाँको व्यवहारिकतालाई हेरेर मात्रै कार्यान्वयन गर्न सक्नुपर्ने बताए। 

समिति सदस्य सम्झना देवकोटाले पनि सिमानाको कडाइलाई सहज बनाउन आवश्यक रहेको बताइन् । उनले समितिले सहजीकरण गर्न निर्देशन दिनुपर्ने बताइन्। 

त्यस्तै, सांसद रेखाकुमारी झाले पनि सिमानामा भारतबाट एक केजी समान ल्याउँदा पनि समस्या भोग्नु परिरहेको बताइन् । उनले सरकारले यस्तो कार्य तत्काल रोकेर सहजीकरण गर्नुपर्नेमा जोड दिइन् ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप