‘रडाको गर्नेहरू पार्टीमा नबसे हुन्छ’ भनेर प्रचण्डले कसलाई सङ्केत गरे ?
सारांश
- नेकपाका संयोजक पुष्पकमल दाहाल 'प्रचण्ड'ले पार्टीभित्र रडाको मच्चाउनेहरूलाई आफ्नो बाटो लाग्न चेतावनी दिएका छन्।
- पार्टीको वरीयता र आन्तरिक व्यवस्थापनलाई लिएर नेताहरूबीच असन्तुष्टि र मतभेद देखिएको छ।
- निर्वाचनमा अनपेक्षित नतिजा आएपछि पार्टी रुपान्तरण र नेतृत्व हस्तान्तरणको विषयमा बहस तीव्र बनेको छ।
काठमाडौँ । पूर्वप्रधानमन्त्री तथा नेपाली कम्युनिस्ट पार्टी (नेकपा)का संयोजक पुष्पकमल दाहाल ‘प्रचण्ड’ले बुधबार पार्टीमा बसेर रडाको गर्नेलाई आफ्नो बाटो लाग्न अर्थपूर्ण चेतावनी दिए । नेपाल कम्युनिस्ट पार्टी स्थापनाको ७७औँ वर्ष पूरा भएको अवसरमा केन्द्रीय कार्यालय पेरिसडाँडामा आयोजित कार्यक्रम प्रचण्डले उक्त चेतावनी दिएका थिए ।
‘हामीले एकता गरेका छौँ । धेरै बनाएका छौँ । हामी कसैलाई फुत्किन त दिँदैनौँ, तर यहाँ बसेर रडाको गर्ने चाहिँ नबसे हुन्छ । आफ्नो बाटो लागे पनि हुन्छ । मैले त साथीहरूलाई भनेको छु । सच्चिन चाहने जति हामीसँग बस्ने हो । नसच्चिने गए हुन्छ भनेको छु’, प्रचण्डको चेनावनी थियो ।
प्रचण्डको अभिव्यक्तिलाई लिएर राजनीतिक वृत्तमा पार्टीभित्र सङ्कट गहिरिँदै गएको रूपमा अर्थ्याइएको छ । प्रतिनिधि सभा सदस्य निर्वाचनअघि नेकपा (माओवादी केन्द्र), नेकपा (एकीकृत समाजवादी) लगायत २५ वटा वाम घटकलाई मिलाएर नेकपा गठन भएको थियो, तर चुनावमा अनपेक्षित नतिजा प्राप्त भएपछि चुनावी समीक्षासहित पार्टीको आगामी कार्यक्रम तय गर्न प्रचण्डले चैत १९ गते केन्द्रीय कार्यसंयोजन समितिको बैठक बोलाए । यद्यपि २१ दिनसम्म पनि बैठकले कुनै निर्णय गर्न सकेको छैन ।
चैत २२ गते संयोजन समिति गठन गरेकोप्रति युवा नेताहरूले व्यापक असन्तुष्टि जनाए । वरीयतालाई लिएर संयोजन समितिका सदस्यहरू नै असन्तुष्ट देखिएका छन् । एकताका बेला छैटौँ वरीयता मागेका पूर्वउपप्रधानमन्त्री डा. भीम रावल अल्फाबेटिक अनुसार राखिएपछि बैठकमै सहभागी भएका छैनन् । एक नेताका अनुसार बैठकको पहिलो दिन रावलले करिब ३/४ मिनेट मौखिक धारणा राखेर बाहिरिएका थिए । त्यसयता कुनै पनि बैठकमा उनी सहभागी नभएको ती नेताले बताए । प्रचण्डले रावलसँग भेटेरै कुरा गर्दा पनि विवाद नसुल्झिएको बुझिएको छ ।
‘प्रचण्डको अभिव्यक्ति कुन नेताप्रति लक्षित थियो भनेर भन्न सक्ने अवस्था छैन । वरीयताको विषयमा भीम रावलजी असन्तुष्ट हुनुहुन्थ्यो । उहाँले छैटौँ वरीयता माग्नुभएको थियो । उहाँको प्रस्ताव अस्वीकृत भएपछि बैठकमा आउनु भएको छैन’, रातोपाटीसँग ती नेताले भने ।

खासगरी साविक माओवादी र एकीकृत समाजवादीका नेताहरू पनि वरीयतालाई लिएर सन्तुष्ट नदेखिएको एक नेताले बताए । एकीकृत समाजवादीबाट आएका धेरैजसो पदाधिकारी तत्कालीन एमालेको पाँचौँ र छैटौँ महाधिवेशनका केन्द्रीय सदस्य छन् ।
चैत २२ गते ४५ सदस्यीय संयोजन समिति गठन भएको थियो । समितिको संयोजक प्रचण्ड, सह–संयोजक माधव कुमार नेपालपछि तेस्रो नम्बरमा पूर्वप्रधानमन्त्री झलनाथ खनाल छन् । चौथो र पाँचौँ नम्बरमा पूर्वउपप्रधानमन्त्रीहरू वामदेव गौतम, नारायणकाजी श्रेष्ठ छन् । श्रेष्ठपछि अल्फाबेट अनुसार नाम राखिएको छ । साविक पार्टीका पदाधिकारीलाई मिलाएर केन्द्रीय संयोजन समिति गठन गरिएको थियो ।

तर नेता राजेन्द्रप्रसाद श्रेष्ठले प्रचण्डको अभिव्यक्ति पार्टीभित्रका कुनै नेता लक्षितभन्दा पनि सामान्य रूपमा आएको जिकिर गरे । कार्यक्रमको प्रस्तोता रहेका श्रेष्ठले पार्टीभित्रका कसैले पनि निराशा व्यक्त गर्न नहुने सन्दर्भमा प्रचण्डबाट त्यस्तो अभिव्यक्ति आएको हुन सक्ने स्पष्ट पारे ।
‘बैठकमा कुनै पनि नेताले नेतृत्वविरुद्ध असन्तुष्टि पोखेको देखिएन । वैचारिक र सैद्धान्तिक रूपमा पार्टीलाई कसरी अगाडि बढाउने भन्ने विषयमा विचार विमर्श भएका थिए । प्रचण्डले कुनै नेता विषेशलाई लक्षित अभिव्यक्ति दिएजस्तो मलाई लाग्दैन’, श्रेष्ठले भने, ‘पार्टीमा कसलाई पनि कारबाही हुँदैन । विचार, सिद्धान्त मिल्नेहरू बस्ने हो । निराशा व्यक्त गर्ने, पार्टीको काम छैन भन्ने लाग्छ भने पार्टी छोड्ने अधिकार सबैमा रहेको आशयमा भन्न खोज्नु भएको होला ।’
पार्टी एकता भएको ६ महिना हुँदा पनि अहिलेसम्म विधान बमोजिम केन्द्रीय सचिवालय, केन्द्रीय कार्यसमिति गठन भएको छैन । एकता प्रक्रियामा आएका सबै केन्द्रीय समिति सदस्यलाई मिलाएर दुई हजार ४९९ सदस्यीय केन्द्रीय समिति गठन भएको छ । जनवर्गीय संगठन, मोर्चाहरूको समायोजनमा काम हुन सकेको छैन । अहिले भएका केन्द्रीय समितिलाई महाधिवेशन आयोजक समिति बनाएर महाधिवेशनमा जाने कि भङ्ग गरेर अर्को महाधिवेशन आयोजक समिति बनाउने भन्नेमा पनि नेताहरूबिच मतभेद देखिन्छ ।
संयोजन समितिका सदस्य चक्रपाणि खनाल ‘बलदेव’ले यी दुवैथरी विचार आएकाले निर्णय प्रक्रिया ढिलाइ भएको स्वीकार गरे । नेताहरूको जिम्मेवारी सम्बन्धमा आन्तरिक गृहकार्य भइरहेकाले बैठक केही समय स्थगित गरिएको उनको भनाइ छ ।

‘अहिले केन्द्रीय कार्यसमितिले पूर्णता पाउने अवस्था छैन । सचिवालय गठन र संयोजन समितिमा रहेका नेताहरूको कार्यविभाजन हुनसक्छ । बैठकले माहाधिवेशनको मिति तय गरेर केन्द्रीय समिति बैठकमा प्रस्ताव लैजान सक्छ’, बलदेवले भने ।
बैठकमा पेस भएको प्रतिवेदनको पुनर्लेखन, जनवर्गीय संगठनको समायोजन र नेताहरूको कार्यविभाजन मिलाउनुपर्ने भएकाले बैठक स्थगित भएको उनले स्पष्ट पारे ।
अर्का एक नेताले प्रचण्ड जत्तिको नेतृत्व गर्न सक्ने क्षमता भएको व्यक्ति नदेखिएको जिकिर गरे । ती नेताले भने, ‘सबैले नेतृत्व हस्तान्तरणको कुरा त गर्छन्, तर सबै गगन–विश्वप्रकाश बन्न सक्दैनन् । सबै मदन भण्डारी र प्रचण्ड बन्न सक्दैनन् । मेरो अनुभवमा नेकपाभित्र प्रचण्ड जत्तिको नेतृत्व क्षमता भएको व्यक्ति अर्को छैन । स्वविवेकले नेतृत्व त्यागेर नयाँ पुस्तालाई प्रचण्डले समर्थन गर्नुभयो भने पार्टी चल्न सक्ला, नभए अर्को पुस्ता तयार भएको छैन ।’
एमालेमा झन्डै १५ वर्ष महासचिव चलाएका माधव नेपाल, माओवादीका उपाध्यक्ष रहेका बाबुराम भट्टराई, मोहन वैद्य, नेता नेत्रविक्रम चन्द ‘विप्लव’, पछिल्लो चरणमा पार्टीबाट अलग भएका जनार्दन शर्मासम्मले पार्टी निर्माण गर्न नसकेको ती नेताको बुझाइ छ ।
पार्टी रुपान्तरण र नेतृत्व हस्तान्तरणको विषयलाई लिएर नेकपाका युवा नेताहरूकै दुईथरी विचार आएको छ । निर्वाचनमा २५ वटा घटक मिलाएर जाँदा पनि समानुपातिकमा आठ लाख ११ हजार र प्रत्यक्षमा जम्मा ८ सिट जितेपछि नेकपाभित्र नेतृत्व हस्तान्तरण, पार्टी रुपान्तरण तथा पुनर्गठनको माग तीव्र गतिले उठेको छ ।

युवा नेताहरूले चुनावमा पराजयको नैतिक जिम्मेवारी लिँदै पार्टी रुपान्तरण तथा पुनर्गठनका लागि नेतृत्व हस्तान्तरण हुनुपर्नेमा अभियान नै चलाएका छन् । अनेरास्ववियु (क्रान्तिकारी)का पूर्वअध्यक्षहरू लेखनाथ न्यौपाने, रञ्जित तामाङ, युवा नेताहरू युवराज चौलागाई, रामदीप आचार्य, डीपी ढकाल, रामप्रसाद सापकोटा लगायत पार्टी रुपान्तरण तथा पुस्तान्तरणको पक्षमा उभिएका छन् । उनीहरूले पुराना पुस्ताका नेताहरू वैचारिक प्राधिकारको रूपमा रहने र युवाहरूलाई नेतृत्व हस्तान्तरण गर्नुपर्नेमा जोड दिएका छन् । वामपन्थी पुनर्गठनको अभियान चलाइरहेका तामाङले तत्काल महाधिवेशनमा जानुपर्नेमा जोड दिए ।
‘अहिले नेतृत्व तहमा रहेका नेताहरूलाई अपमान तरिकाले हटाउन खोजिएको होइन । उहाँहरूको योगदानको कदर गर्दै वैचारिक र सैद्धान्तिक प्राधिकारमा रहनोस् । संगठनको नेतृत्व हस्तान्तरण हुनुपर्छ भनेको हो । यथास्थितिमा अब पार्टी चल्न सक्दैन । तत्काल महाधिवेशनमा गएर नयाँ नेतृत्व छनोट गर्नुपर्छ’, उनले भने ।
यद्यपि युवराज दुलाल, बागमती प्रदेशका संयोजक सरल सहयात्री पौडेल, माधव सापकोटा लगायतका युवा नेताहरूले स्पष्ट विधि, पद्धति नबनाइकन नेतृत्व हस्तान्तरण गर्नुको कुनै औचित्य नभएको तर्क गरेका छन् । संयोजक पौडेलले पार्टी सञ्चालनको विधि र पद्धति नबनाएसम्म नयाँ नेतृत्व ल्याउँदैमा पार्टी रुपान्तरण तथा पुनर्गठनमा औचित्य नभएको तर्क गरे ।
‘पार्टीले स्पष्ट विधि, पद्धति नबनाएसम्म नेतृत्व हस्तान्तरण भनेर केही हुँदैन । तत्कालै नेतृत्व हस्तान्तरण गर्नुपर्छ भन्ने तर्कसँग म सहमत छैन । पार्टी रुपान्तरण र नेतृत्व हस्तान्तरणका लागि महाधिवेशनमा जानुपर्छ । ६ महिनाभित्र महाधिवेशन गर्ने भनेर प्रस्ताव आइसकेको अवस्थामा तत्काल नेतृत्व हस्तान्तरण गर्नुपर्छ भन्नुको औचित्य छैन’, पौडेलले भने ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
'सिनेमा मानव अधिकार प्रवर्द्धनको सशक्त माध्यम हो'
-
पिसाबमा गन्ध आउनु कुन रोगको लक्षण हो ?
-
कर्णालीको यातायात कार्यालयको आम्दानीको ८० प्रतिशत हिस्सा सवारी साधन कर
-
आरजुसहित १८ जना प्रतिवादीविरुद्ध मुद्दा दायर
-
जिम जाने र योगा गर्नेमध्ये को बडी फिट हुन्छन् ?
-
गगनले सम्झाएको २०१८ सालमा चितवनको गेष्टहाउस चौर घटना के थियो ?
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण