मुख्यमन्त्री बानियाँको प्रमुख राजनीतिक सल्लाहकारमा खनाल नियुक्त
सारांश
- बागमती प्रदेशका मुख्यमन्त्री इन्द्रबहादुर बानियाँको प्रमुख राजनीतिक सल्लाहकारमा दामोदर खनाल नियुक्त भएका छन्।
- मन्त्रिपरिषद् बैठकले विभिन्न विकास समितिमा पदाधिकारी नियुक्त गर्नुका साथै प्रदेशका विभिन्न नीति र निर्देशिकालाई स्वीकृति प्रदान गरेको छ।
- बैठकले प्रदेशको वित्तीय समानीकरण अनुदान रकम स्वीकृत गर्दै विभिन्न ऐनका मस्यौदा प्रदेश सभामा पेस गर्ने निर्णय गरेको छ।
हेटौँडा । बागमती प्रदेशका मुख्यमन्त्री इन्द्रबहादुर बानियाँको प्रमुख राजनीतिक सल्लाहकारमा मकवानपुरका दामोदर खनाललाई नियुक्त गरिएको छ । बिहीबार बसेको मन्त्रिपरिषद् बैठकले खनाललाई मुख्यमन्त्री बानियाँको प्रमुख राजनीतिक सल्लाहकारमा नियुक्त गर्ने निर्णय गरेको हो ।
मकवानपुरको बकैया गाउँपालिकाका पूर्वअध्यक्ष खनाललाई मुख्यमन्त्री बानियाँको प्रमुख राजनीतिक सल्लाहकारमा नियुक्त गरिएको हो । खनाल नेपाली कांग्रेसको मकवानपुर निर्वाचन क्षेत्र नम्बर–१ को सङ्घीय सभापति रहेका छन् ।
सरकारका प्रवक्ता एवम् आन्तरिक मामिला तथा कानुन मन्त्री प्रभात तामाङका अनुसार बैठकले बागमती प्रदेश विश्वविद्यालयको संरक्षक सदस्यमा पोखरा विश्वविद्यालयका पूर्व उपकुलपति डा.प्रेमनारायण अर्याललाई नियुक्त गर्ने निर्णय गरेको छ । बैठकले सूचना प्रतिवेदन समितिको अध्यक्षमा धादिङका कृष्णराज अधिकारी र सदस्यमा मकवानपुरका अशोक श्रेष्ठलाई मनोनयन गरेको उनले बताए ।
बैठकले सामाजिक विकास मन्त्रालयमा कार्यरत प्रदेश सचिव खुबीराम अधिकारीलाई सहकारी तथा गरिबी निवारण मन्त्रालयको समेत थप जिम्मेवारी हेर्ने गरी खटाउने निर्णय गरेको छ । यसअघि सहकारी तथा गरिबी निवारण मन्त्रालयको जिम्मेवारी सम्हाल्दै आएका बाबुराम पुरीलाई सो मन्त्रालयको जिम्मेवारीबाट हटाएर मुख्यमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयको मात्र जिम्मेवारी तोकिएको छ ।
बैठकले नमोबुद्ध क्षेत्र विकास समितिको अध्यक्षमा शंखबुद्ध लामालाई नियुक्त गर्ने निर्णय गरेको प्रवक्ता तामाङले बताए । बैठकले प्रदेशको ११औँ तहमा कार्यरत स्वास्थ्य सेवाका डा.अर्जुनप्रसाद सापकोटाको राजीनामा स्वीकृत गर्ने निर्णय गरेको छ भने समस्याग्रस्त सहकारी व्यवस्थापन समितिका पदाधिकारी दामोदर केसीले स्वास्थ्यका कारण दिएको राजीनामा माघ ५ गतेदेखि लागू हुने गरी स्वीकृत गर्ने निर्णय गरेको छ ।
मन्त्री तामाङका अनुसार बैठकले जेनजी आन्दोलनको क्रममा जलेका कार्यसम्पादन मूल्याङ्कन व्यवस्थापनका लागि नयाँ नीति पारित गरेको छ । बैठकले गरिबी निवारण नीति २०८२ र शैक्षिक छात्रवृत्ति निर्देशिका २०८३ लाई स्वीकृति प्रदान गरेको छ ।
बैठकले प्रदेश पर्यटन (पहिलो संशोधन) ऐन २०८२ को मस्यौदा र प्रदेश राष्ट्रिय वन ऐन (पहिलो संशोधन) २०८३ लाई प्रदेश सभामा पेस गर्न स्वीकृति प्रदान गरेको छ । बैठकले त्रिभुवन पार्क सञ्चालन तथा व्यवस्थापन समिति (पहिलो संशोधन) गठन आदेश २०८२ र आगामी आर्थिक वर्ष २०८३÷०८४ का लागि स्थानीय तहहरूलाई हस्तान्तरण गरिने वित्तीय समानीकरण अनुदानको रकम स्वीकृत प्रदान गर्ने निर्णय गरेको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
वडाध्यक्षमाथि हातपात गरेको आरोपमा पत्रकार कुँवर पक्राउ
-
बन्द सत्रमा कडा सुरक्षा : बाउन्सरदेखि मेटल डिटेक्टरसम्म परिचालन
-
बन्द सत्रमा सहभागी हुन प्रतिनिधि आउनेक्रम जारी
-
मोहमद सलाहको उत्कृष्ट प्रदर्शन, विश्वकपमा इजिप्टको पहिलो ऐतिहासिक जित
-
यसपालि भंग हुन सक्ने विश्वकपका कीर्तिमानहरू
-
म्याग्दीको दर्मीजामा कृषि पर्यटनको नयाँ लहर
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण