पश्चिम एसियामा रहेका नेपालीको सुरक्षा र मन्त्रालयका पछिल्ला उपलब्धिबारे परराष्ट्रको ब्रिफिङ
सारांश
- परराष्ट्र मन्त्रालयले पश्चिम एसियाको पछिल्लो तनाव र त्यहाँ रहेका नेपालीहरूको सुरक्षाबारे सरकार गम्भीर रहेको जनाएको छ।
- मन्त्रालयले दक्षिण-पूर्वी एसियाका अनलाइन स्क्यामिङ सेन्टरबाट ६१२ जना नेपालीको उद्धार गरेको जानकारी दिएको छ।
- पश्चिम एसियाको अवस्थालाई मध्यनजर गर्दै रोकिएको श्रम स्वीकृति र पुनः श्रम स्वीकृति प्रदान गर्ने कार्य पुनः सुरु गरिएको छ।
काठमाडौँ । परराष्ट्र मन्त्रालयले पश्चिम एसियामा विकसित पछिल्लो घटनाक्रम र त्यहाँ रहेका नेपाली नागरिकहरूको सुरक्षाका सम्बन्धमा सरकार गम्भीर रहेको जनाएको छ।
मन्त्रालयमा शुक्रबार आयोजित पत्रकार सम्मेलनमा मन्त्रालयका प्रवक्ता लोकबहादुर पौडेल क्षेत्रीले इरान-इजरायल तनाव र लेबनानको अवस्थालाई नजिकबाट नियालिरहेको जानकारी दिए।
मन्त्रालयका अनुसार द्वन्द्वग्रस्त क्षेत्रमा रहेका नेपालीहरूको सहयोगका लागि स्थापित 'इमर्जेन्सी कन्ट्रोल रुम' मा हालसम्म ३०३ पटक सम्पर्क गरिएको छ। पछिल्लो ४८ घण्टामा कुनै नयाँ समस्या वा सम्पर्क नआएको मन्त्रालयले जनाएको छ।
हालसम्म यो तनावका क्रममा एक जना नेपालीको मृत्यु भएको र २८ जना घाइते भएको तथ्याङ्क यथावत् छ। इरानमा रहेका ११ नेपालीमध्ये २ जना स्वदेश फर्कने तयारीमा छन् भने ८ जनाले तत्काल फर्कन अनिच्छा देखाएका छन्।
यसैगरी, इरानमा बन्धक बनाइएको पानीजहाजमा रहेका नेपाली नागरिक अमृत झासहितका ३ जनाको रिहाइ प्रक्रिया जारी रहेको मन्त्रालयले स्पष्ट पारेको छ। सोही जहाजका ७ मध्ये ४ जना यसअघि नै रिहा भइसकेका छन्।
मन्त्रालयले दक्षिण-पूर्वी एसियाली देशहरूमा सञ्चालित अनलाइन स्क्यामिङ सेन्टरहरूमा फसेका ६१२ जना नेपालीको उद्धार गरिएको जानकारी दिएको छ। उद्धार गरिएकामध्ये कम्बोडियाबाट ४८७, म्यानमारबाट १११, लाओसबाट ८ र थाइल्याण्डबाट ६ जना रहेका छन्। थप ५३ जनाको यात्रा अनुमति पत्र (ट्राभल डकुमेन्ट) बनाएर स्वदेश फिर्ता गर्ने तयारी भइरहेको छ। कम्बोडियामा पछिल्लो समय संगठित ठगीको आरोपमा ५ जना र अन्य कसुरमा ९ गरी कुल १४ जना नेपाली पक्राउ परेका छन्।
यसैगरी पश्चिम एसियाको सुरक्षा अवस्थालाई मध्यनजर गर्दै रोकिएको श्रम स्वीकृति र पुनः श्रम स्वीकृति दिने कार्य पुनः सुरु गरिएको छ। परराष्ट्र मन्त्रालयको सिफारिसमा श्रम मन्त्रालयले सबै प्रकारका श्रम गन्तव्यहरूका लागि श्रम स्वीकृति खुला गरेको हो।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
नागढुंगा सुरुङमार्गमा बिहानी दौड, तस्बिरमा हेर्नुहोस्
-
इरानमा पछिल्लो अमेरिकी आक्रमणमा ३८ जनाको मृत्यु
-
सार्वजनिक जग्गा संरक्षणमा महानगरको सक्रियता : अतिक्रमण हटाउने अभियान जारी रहने
-
खरिद ऐनको दोस्रो संशोधनले राज्यको खर्च गर्ने क्षमता बढाउँछ : अध्यक्ष पाण्डे
-
विश्वकप समापनको सँघारमा : गोल्डेन बुटदेखि गोल्डेन बलसम्म, को-को छन् दाबेदार?
-
मधेस प्रदेशमा ५८ प्रतिशत धान रोपाइँ
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण