बजार अभावले तरकारी सडेर नष्ट, मारमा किसान
सारांश
- रुपन्देहीको थोक बजारमा ग्राहकको अभाव हुँदा किसानहरूले ल्याएको तरकारी कुहिएर नष्ट भएको छ।
- व्यापारीहरूको सिन्डिकेट र बजार व्यवस्थापनको कमजोरीका कारण स्वदेशी उत्पादनले बजार पाउन सकेको छैन।
- बिक्री नभएर लाखौं रुपैयाँको नोक्सानी व्यहोरेका किसानहरूले सरकारसँग क्षतिपूर्तिको माग गरेका छन्।
बुटवल । रुपन्देहीको तिलोत्तमा नगरपालिका–५ मणिग्रामस्थित लुम्बिनी कृषि उपज थोक बजार प्रालीमा ल्याइएका तरकारीहरू बिक्री हुन नसक्दा सडेर फाल्नुपरेको भन्दै किसानहरूले असन्तुष्टि जनाएका छन्।
देशका विभिन्न जिल्लाबाट थोक बिक्रीका लागि ल्याइएका तरकारी ग्राहक अभावका कारण कुहिएर नष्ट भएका छन्। किसानका काउली, मुला, फूलगोभी लगायतका तरकारी बिक्री हुन नसकेको गुनासो छ।
बुटवल उपमहानगरपालिका–६ मा रहेको ‘बुटवल कृषि उपज थोक बजार केन्द्र’ लगायत अन्य हाटबजारमा समेत बिक्री गर्न नपाउँदा तरकारी सुकेर तथा कुहिएर नष्ट हुने अवस्था आएको किसानहरूले बताएका छन्।
किसानहरूले बजारमा व्यापारीहरूको सिन्डिकेटका कारण नयाँ किसानहरूले आफ्नो उत्पादन बिक्री गर्न नपाएको आरोप लगाएका छन्। बजार व्यवस्थापनको कमजोरी र पहुँच अभावले आफूहरू प्रत्यक्ष रूपमा मारमा परेको उनीहरूको भनाइ छ। उत्पादन गरेर बजारसम्म ल्याए पनि उचित बिक्रीको वातावरण नहुँदा ठुलो आर्थिक क्षति व्यहोर्नुपरेको किसानहरूले बताएका छन्।
नेपाल किसान महासंघ लुम्बिनी प्रदेशकी अध्यक्ष रीता केसीले बुटवलस्थित फलफूल तथा तरकारी थोक बजार केन्द्रमा व्यापारीहरूको सिन्डिकेटका कारण स्वदेशी कृषि उपजको बिक्री वितरणमा समस्या उत्पन्न भएको आरोप लगाइन्। उनका अनुसार भारतीय तरकारी तथा फलफूलले सहजै बजार पाउने तर स्वदेशी उत्पादनले स्थान नपाउने अवस्था दुःखद र चिन्ताजनक हो।
उनले बुटवल कृषि उपज थोक बजार केन्द्रको पुनः टेन्डर प्रक्रियामा भइरहेको ढिलाइप्रति असन्तुष्टि जनाउँदै किसानका लागि छुट्याइएका सटरहरू व्यापारीहरूले कब्जा गरेको आरोप लगाइन्। विभिन्न जिल्लाबाट ल्याइएका तरकारीहरू बजारमा स्थान नपाएको पनि उनले बताइन्।
केसीका अनुसार किसानहरूले पटक–पटक अनुरोध गर्दा पनि बिक्रीको व्यवस्था नहुँदा बाध्य भएर अन्य हाटबजारमा गाडीमै राखेर बेच्न खोज्दा समेत अवरोध गरिएको छ।
तरकारी बिक्री हुन नसक्दा लाखौं रुपैयाँ बराबरको क्षति व्यहोर्नुपरेको भन्दै किसानहरूले त्यसको क्षतिपूर्ति स्थानीय, प्रदेश वा संघीय सरकारमध्ये कसले दिने भन्ने प्रश्न उठाएका छन्।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
इङ्ल्यान्डलाई ठुलो झट्का : स्लो ओभर रेटका कारण विश्व टेस्ट च्याम्पियनसिपमा १२ अङ्क गुमायो
-
अत्यधिक गर्मी बढेपछि बेदकाटका विद्यालय चार दिन बन्द
-
बेलायतमा नयाँ नेतृत्वका लागि जुलाई ९ बाट मनोनयन खुल्ने, उत्तराधिकारी नचुनिएसम्म स्टार्मर नै प्रधानमन्त्री रहने
-
हरमनप्रितको ऐतिहासिक २००औँ खेल
-
पदबाट राजीनामा दिने क्रममा परिवारको प्रसङ्ग निकाल्दै भावुक बने कीर स्टार्मर
-
पुष्पा २ प्रिमियर भागदौड प्रकरण : अभिनेता अल्लू अर्जुन अदालतमा भर्चुअली उपस्थित हुँदै
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण