सोमबार, ०८ असार २०८३
ताजा लोकप्रिय

४७ भारतीय माओवादी विद्रोहीद्वारा आत्मसमर्पण

शनिबार, १२ वैशाख २०८३, २२ : १९
शनिबार, १२ वैशाख २०८३

काठमाडौँ । दशकौँ लामो द्वन्द्वमुक्त मुलुक घोषणा भएको झन्डै एक महिनापछि ४७ जना माओवादी विद्रोहीले आत्मसमर्पण गरेको भारतीय प्रहरीले शनिबार जनाएको छ ।

भारतले विगत दुई वर्षदेखि नक्सलवादी विद्रोहको ‘अन्तिम अवशेष’विरुद्ध अभियान चलाउँदै आएको छ । नक्सलवादी विद्रोहको नामकरण हिमालयको फेदमा रहेको नक्सलबारी भनिने एउटा गाउँको नामबाट राखिएको थियो, जहाँ करिब छ दशकअघि माओवादी प्रेरित विद्रोह सुरु भएको थियो । विगतमा यो समूहले मध्य भारतको खनिज–समृद्ध वनमा सीमान्तकृत आदिवासीको अधिकारका लागि सङ्घर्ष गरिरहेको भन्ने गर्थ्यो ।

दक्षिणी राज्य तेलङ्गानाको प्रहरीले भनेको छ, “४७ जना माओवादी सदस्यहरूले ‘मूलधारमा सामेल हुने निर्णय गर्दै’ आत्म समर्पण गरेका छन् ।”

“लगभग सबै भूमिगत प्रमुख नेताहरू अब आन्दोलनबाट बिदा लिएका छन्,” प्रहरीले भनेको छ।

भारतका गृहमन्त्री अमित शाहले ३० मार्चमा देशलाई नक्सलमुक्त घोषणा गरेका थिए ।

सन् १९६७ मा केही गाउँलेहरूले आफ्ना सामन्ती शासकहरूको विरुद्ध विद्रोह गरेयता १२ हजारभन्दा बढी विद्रोही, सैनिक र नागरिकहरू मारिएका छन् ।

सन् २००० को दशकको मध्यमा आन्दोलन उत्कर्ष अवस्थामा पुगेको थियो । विद्रोहले देशको विभिन्न भागहरूमा अनुमानित १५ हजार देखि २० हजार तालिम प्राप्त सशस्त्र लडाकुहरूको जोहो गरेको थियो तर हालैका वर्षहरूमा यो निकै कमजोर भएको थियो ।

प्रहरीले बाँकी सदस्यलाई पनि हतियार त्याग्न अपिल गरेको छ । अधिकारीहरूले आत्मसमर्पण गरेका विद्रोहीहरूलाई व्यावसायिक तालिम र पुनर्स्थापना कार्यक्रममार्फत नयाँ नागरिक पहिचान प्रदान गर्न लागिएको बताएका छन् ।

आत्मसमर्पण गरेका ४७ जना माओवादीलाई उनीहरूको पुनर्स्थापनाका लागि कुल एक लाख ५९ हजार अमेरिकी डलर दिइनेछ, जसमा प्रत्येक माओवादीलाई झण्डै तीन हजार ४०० अमेरिकी डलर दिइनेछ ।

विद्रोहीहरूले जङ्गलको बाटोमा राखेका सयौँ बारुदी सुरुङहरू सफा गर्नु सरकारका लागि अबको एउटा प्रमुख चुनौतीपूर्ण काम बाँकी नै छ ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

एजेन्सी
एजेन्सी
लेखकबाट थप