मधेसमा आत्महत्याका घटना न्यूनीकरणमा प्रभावकारी पहलको खाँचो
सारांश
- मधेस प्रदेशमा आत्महत्याको घटना भयावह बन्दै गएको छ, प्रहरी तथ्याङ्क अनुसार दैनिक ३-४ जनाले आत्महत्या गर्ने गरेका छन् ।
- गत तीन आर्थिक वर्षमा ३ हजार ३४८ जनाले आत्महत्या गरेका छन्, जसमा चालु आर्थिक वर्षमा ७९३ जनाले आत्महत्या गरेका छन् ।
- बेरोजगारी, मानसिक तनाव, पारिवारिक विवाद, दाइजो प्रथा, प्रेम र विवाहबाहेक पर सम्बन्धसँग जोडिएका घटनाहरू आत्महत्याका प्रमुख कारण रहेका छन् ।
जनकपुरधाम । मधेस प्रदेशमा आत्महत्याको घटना भयावह बन्दै गएको छ । प्रहरीको तथ्याङ्क अनुसार मधेस प्रदेशमा दैनिक ३÷४ जनाले आत्महत्या गर्ने गरेका छन् ।
प्रहरी प्रधान कार्यालयले उपलब्ध गराएको तथ्याङ्क अनुसार करिब तीन वर्षमा ३ हजार ३४८ जनाले आत्महत्या गरेका छन् । चालु आर्थिक वर्षमात्रै ७९३ जनाले आत्महत्या गरेका छन्, जसमा पुरुष २८२, महिला ३०४ र बालबालिकाको संख्या २०७ छ । बालबालिकामध्ये पनि बालिकाको संख्या बढी छ । चालु आर्थिक वर्षको हालसम्म १७२ जना बालिकाले आत्महत्या गरेका छन् ।
चालु आर्थिक वर्ष सिराहामा सबैभन्दा बढी अर्थात् १३४ जनाले आत्महत्या गरेका छन् । यस्तै, धनुषामा ११२, सर्लाहीमा १११, रौतहटमा १०९ जनाले आत्महत्या गरेका छन् । सबैभन्दा कम संख्या पर्सा जिल्लामा छ । पर्सामा चालु आर्थिक वर्ष ६९ जनाले आत्महत्या गरेका छन् । सप्तरीमा ८८, महोत्तरीमा ७७ र बारामा ९३ जनाले आत्महत्या गरेका छन् ।
आर्थिक वर्ष २०८१÷०८२ मा जम्मा १ हजार २६१ जनाले आत्महत्या गरेको तथ्याङ्क छ । सो वर्ष ४७८ पुरुष, ४७२ महिला र ३११ बालबालिकाले आत्महत्या गरेका छन् । ३११ बालबालिकामध्ये बालिकाको संख्या २४६ छ ।
तथ्याङ्क अनुसार यस आर्थिक वर्षमा सबभन्दा बढी धनुषामा २०७ जना र सबभन्दा कम पर्सामा १०९ जनाले आत्महत्या गरेका छन् । यस्तै सर्लाहीमा २०२, सिरहामा १८७, महोत्तरीमा १४६, बारामा १४३, रौतहटमा १४२ र सप्तरीमा १३० जनाले आत्महत्या गरेका छन् ।
आर्थिक वर्ष २०८०÷०८१ मा जम्मा १ हजार २९४ जनाले आत्महत्या गरेको प्रहरीको तथ्याङ्क छ । यस आर्थिक वर्ष आत्महत्या गर्नेमा पुरुषको संख्यामा बढी छ । यो वर्ष ५५६ जना पुरुष, ४७० महिला र २६८ बालबालिकाले आत्महत्या गरेका छन् । २६८ बालबालिकामध्ये २०१ जना बालिका छन् ।
यस आर्थिक वर्ष सबैभन्दा बढी सर्लाहीमा २०६ जना र सबैभन्दा कम सप्तरीमा ११७ जनाले आत्महत्या गरेका छन् । यस्तै सिराहामा २ सय, धनुषामा १६०, महोत्तरीमा १३२, रौतहटमा १९१, बारामा १६५ र पर्सामा १२३ जनाले आत्महत्या गरेका छन् ।
आत्महत्या दुरुत्साहन मुद्दातर्फ चालु आर्थिक वर्षसहित गत तीन आर्थिक वर्षमा ४९९ जना पक्राउ परेका छन् । चालु आर्थिक वर्षमा ११४, आर्थिक वर्ष २०८१÷०८२ मा १८८ र आर्थिक वर्ष २०८०÷०८१ मा १९७ जनालाई पक्राउ गरी मुद्दा चलाइएको मधेस प्रहरी कार्यालयका प्रमुख एवं डीआईजी गोविन्द थापालियाले जानकारी दिए ।
मधेस प्रदेशमा आत्महत्या घटना पछिल्लो समय गम्भीर सामाजिक समस्याका रूपमा देखा पर्न थालेकोको यो त्याङ्कले नै प्रस्ट पार्छ । बेरोजगारी, मानसिक तनाव, पारिवारिक विवाद, दाइजो प्रथा, प्रेम र विवाहबाहेक पर सम्बन्धसँग जोडिएका घटनाहरू आत्महत्याका प्रमुख कारण रहेको अनुसन्धानले देखाउँछ ।
जिल्ला प्रहरी कार्यालय धनुषाका अनुसन्धान अधिकृत अर्जुन खतिवडाका अनुसार आत्महत्या गर्नेमा महिलाभन्दा पुरुषको संख्या बढी देखिएको छ । उनका अनुसार मधेसमा महिलातर्फ दाइजो प्रथा, घरेलु हिंसा, मानसिक तनाव र घरायसी विवाद प्रमुख समस्या हुन् । यस्तै पुरुषतर्फ बेरोजगारी, श्रीमान्–श्रीमतीबिचको सम्बन्धमा समस्या, लागु औषध तथा मादक पदार्थ सेवन र पारिवारिक तनावका कारण आत्महत्या गर्ने प्रवृत्ति बढ्दो रहेको उनको भनाइ छ ।
विशेषगरी तराई–मधेस क्षेत्रमा बेरोजगारी र पारिवारिक विवादले पुरुषहरूलाई बढी मानसिक दबाबमा पार्ने गरेको देखिएको छ । सोही कारण उनीहरू डिप्रेसनमा पुगेर आत्महत्यासम्म गर्ने गरेको अनुसन्धानमा देखाएको खतिवडाले बताए ।
यस्तै, बालबालिका र किशोर–किशोरीहरू पनि यस समस्याबाट अछुतो छैनन् । उमेर नपुग्दै प्रेम सम्बन्धमा पर्ने, परिवारले सम्बन्ध अस्वीकार गर्ने वा जबर्जस्ती अन्यत्र विवाह गरिदिने जस्ता कारणले पनि आत्महत्याका घटना बढ्दै गएको उनको भनाइ छ । बालबालिकाको मुद्दामा लागु औषध सेवन र प्रेम प्रसङ्ग नै प्रमुख कारण रहेको अनुसन्धानमा देखिने गरेको उनले बताए ।
मधेस प्रदेशका गृह, सञ्चार तथा कानुनमन्त्री फकिरा महतोले मधेसमा आत्महत्या ठुलो सामाजिक समस्या बनेको बताए । पारिवारिक समस्या, आर्थिक समस्या मानसिक समस्याले गर्दा आत्महत्या भइरहेको उनको भनाइ छ । यस्ता घटना न्यूनीकरणमा तीन तहकै सरकारले आ–आफ्नो क्षेत्रबाट पहल गर्नुपर्ने उनले बताए ।
मन्त्री महतोका अनुसार आत्महत्याका घटना न्यूनीकरण गर्न स्थानीय तहको भूमिका सबैभन्दा बढी महत्त्वपूर्ण र प्रभावकारी हुन्छ । यसका लागि सबैको सहयोग र आपसी सहकार्य आवश्यक पर्ने उनले बताए ।
इन्सेकका मधेस प्रदेश प्रमुख राजु पासमानले अन्य प्रदेशको तुलनामा मधेसमा आत्महत्याको अवस्था भयावह रहेको बताए । गरिबी, सामाजिक सञ्जालको दुरुपयोग र प्रेम (खासगरी अन्तरजातीय)का कारण पनि यस्ता घटना हुने गरेको उनले प्रस्ट पारे । ‘समाजमा अहिले पनि अन्तरजातीय विवाह स्वीकार हुन सकिरहेको छैन,’ उनले भने ।
यस्ता घटना न्यूनीकरणमा स्थानीय तहकै भूमिका महत्त्वपूर्ण हुने पासमानको पनि भनाइ छ । आर्थिक समस्यामा परेका परिवारलाई बजेट विनियोजन गरेर स्वरोजगार लागु गर्न सकेमा गरिबीका कारण हुने गरेका आत्महत्याका घटनामा कमी आउने उनले बताए । यसैगरी जातीय विभेदविरुद्धको कानुन कडाईका साथ लागु गरेमा सामाजिक विभेदका कारण हुने आत्महत्याका घटना न्यूनीकरण हुन सक्ने उनले प्रस्ट पारे ।
व्यावहारिक तथा नैतिक शिक्षाको कमीका कारण पनि आत्महत्या हुने गरेको पासमानले बताए । स्थानीय तहले ठाउँठाउँमा मनोविमर्श, अन्तरक्रिया कार्यक्रम, सडक नाटक तथा वृत्तचित्रमार्फत जनचेतना फैलाउनुपर्ने उनको भनाइ छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
कोशीटप्पुमा आन्तरिक पर्यटकको लहर: ११ महिनामा नौ हजारभन्दा बढीले गरे आरक्ष भ्रमण
-
भरतपुरमा ट्रकसँग स्कुटर ठोक्किँदा दुई युवाको मृत्यु
-
रास्वपा महाधिवेशनको दोस्रो दिन: बन्द सत्रको कार्यतालिका संशोधन
-
राप्रपाका पूर्वअध्यक्षत्रयको संयुक्त वक्तव्य, ‘हाम्रै जीवनकालमा पार्टी पतन भएको हेर्न चाहँदैनौं’
-
पूर्वमन्त्री एवं नेपाली कांग्रेसका नेता राजेन्द्र खरेलको निधन
-
तनहुँमा आर्थिक गणना : लक्ष्यभन्दा बढी प्रतिष्ठान समेटिए
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण