मङ्गलबार, ०९ असार २०८३
ताजा लोकप्रिय

विकल पौडेल र एलिना बस्नेतविरूद्ध ६८ करोड ९४ लाखको सम्पत्ति शुद्धीकरण मुद्दा

बुधबार, १६ वैशाख २०८३, १८ : ३८
बुधबार, १६ वैशाख २०८३

सारांश

  • राजस्व अनुसन्धान विभागले विकल पौडेल र एलिना बस्नेतविरुद्ध ६८ करोड ९४ लाख रुपैयाँभन्दा बढीको सम्पत्ति शुद्धीकरण मुद्दा दायर गरेको छ ।
  • विदेशी विनिमय अपचलन गरी अवैध सम्पत्ति आर्जन गरेको पाइएपछि उनीहरुविरुद्ध मुद्दा दायर गरिएको हो ।
  • विभागले बिगोको दोब्बर जरिवाना र अवैध सम्पत्ति जफत गर्न माग गरेको छ ।

काठमाडौँ । राजस्व अनुसन्धान विभागले विकल पौडेल र उनकी श्रीमती एलिना बस्नेतविरुद्ध ६८ करोड ९४ लाख रुपैयाँभन्दा बढीको सम्पत्ति शुद्धीकरण मुद्दा दायर गरेको छ । विभागले मङ्गलबार काठमाडौँ जिल्ला अदालतमा मुद्दा दायर गरेको हो।

विभागका अनुसार काठमाडौँको बुढानीलकण्ठ नगरपालिका–९ घर भएका ४३ वर्षीय विकल पौडेल र उनकी श्रीमती एलिनाले विदेशी विनिमय अपचलन गरी अवैध सम्पत्ति आर्जन गरेको पाइएको छ । यसअघि विभागले पौडेल दम्पतीविरुद्ध ६२ करोड ६५ लाख ९१ हजार ८ सय ९३ रुपैयाँ विदेशी विनिमय अपचलन गरेको अभियोगमा २०८१ असोज १४ गते मुद्दा दायर गरेको थियो ।

सोही मुद्दाको सिलसिलामा सम्पत्तिबारे थप अनुसन्धान गर्दा सम्पत्ति शुद्धीकरण (मनी लाउण्डरिङ्ग) निवारण ऐन, २०६४ विपरीतको कसुर गरेको तथ्य फेला परेको विभागको विज्ञप्तिमा उल्लेख छ ।

विभागले दायर गरेको अभियोग पत्रमा विकल पौडेललाई ६१ करोड १३ लाख २१ हजार १ सय ५३ रुपैयाँ २० पैसा र उनकी श्रीमती एलिना बस्नेतलाई ७ करोड ८१ लाख ४४ हजार ५१ रुपैयाँ ५० पैसा बिगो कायम गरिएको छ । दुवैको गरी कुल बिगो रकम ६८ करोड ९४ लाख ६५ हजार २०४ रुपैयाँ ७० पैसा कायम गरिएको छ ।

विभागले सम्पत्ति शुद्धीकरण (मनी लाउण्डरिङ्ग) निवारण ऐन, २०६४ को दफा ३० (१) बमोजिम बिगोको दोब्बर जरिवाना र कसुरको मात्रा अनुसार कैद सजायको माग गरेको छ । साथै, ऐनको दफा ३४ बमोजिम अवैध रूपमा आर्जित सम्पूर्ण सम्पत्ति जफत गर्न समेत मागदाबी गरिएको छ ।

जिल्ला सरकारी वकिल कार्यालय काठमाडौँमार्फत २०८३ वैशाख १६ गते काठमाडौँ जिल्ला अदालतमा अभियोग पत्र दर्ता गरिएको विभागका निर्देशक सच्चित कुमार वाइवाले जानकारी दिए।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप