मङ्गलबार, ०९ असार २०८३
ताजा लोकप्रिय
रास्वपा महाधिवेशन

रास्वपाको दुई प्रतिवेदनमा पार्टी सदस्यता संख्या फरक-फरक : महामन्त्री र कोषाध्यक्षको तथ्याङ्कमा १ लाख ३२ हजारको अन्तर

मङ्गलबार, ०९ असार २०८३, २१ : ४३
मङ्गलबार, ०९ असार २०८३

सारांश

  • राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को चितवनमा जारी राष्ट्रिय महाधिवेशनमा पेस भएका दुई प्रतिवेदनमा पार्टीको सदस्यता संख्या फरक-फरक देखिएको छ।
  • महामन्त्री कविन्द्र बुर्लाकोटीको प्रतिवेदनमा पार्टीको कुल सदस्यता ५ लाख २३ हजार ४ सय ६५ उल्लेख छ, जसमा मधेस प्रदेश सबैभन्दा ठूलो आधार क्षेत्र हो।
  • केन्द्रीय कोषाध्यक्ष लीमा अधिकारीको प्रतिवेदनमा भने पार्टीको कुल सदस्य संख्या ३ लाख ९१ हजार ४ सय १८ मात्र देखाइएको छ, जुन महामन्त्रीको तथ्याङ्कभन्दा १ लाख ३२ हजार ४७ ले कम हो।

चितवन । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को चितवनमा जारी पहिलो ऐतिहासिक राष्ट्रिय महाधिवेशनको बन्दसत्रमा पेस भएको दुई प्रतिवेदनमा पार्टीको सदस्यता संख्यामा विरोधाभास देखिएको छ।

पार्टीका महामन्त्री कविन्द्र बुर्लाकोटी र केन्द्रीय कोषाध्यक्ष लीमा अधिकारीले एकै मञ्चमा प्रस्तुत गरेका छुट्टाछुट्टै प्रतिवेदनमा सदस्यताको तथ्याङ्क फरक फरक देखिएको हो। 

महामन्त्री कविन्द्र बुर्लाकोटीले प्रस्तुत गरेको साङ्गठनिक प्रतिवेदनमा पार्टीको कुल सदस्यता संख्या ५ लाख २३ हजार ४ सय ६५ रहेको उल्लेख छ। 

k

उनको तथ्याङ्क अनुसार मधेस प्रदेश २३.३ प्रतिशत (१ लाख २१ हजार ८ सय ९९) सदस्यसहित सबैभन्दा ठूलो आधार क्षेत्र बनेको छ भने बागमती प्रदेश २०.५ प्रतिशतसहित दोस्रो स्थानमा छ। महामन्त्रीको प्रतिवेदनले पार्टीमा ७५.८ प्रतिशत पुरुष र १७.२ प्रतिशत महिला सहभागिता रहेको तथा ६४.१ प्रतिशत सदस्य १८ देखि ४५ वर्ष उमेर समूहका युवा रहेको विस्तृत विवरण पेस गरेको छ।

तर, सोही महाधिवेशनमा केन्द्रीय कोषाध्यक्ष लीमा अधिकारीले प्रस्तुत गरेको आर्थिक प्रतिवेदनमा भने पार्टीको कुल सदस्य संख्या ३ लाख ९१ हजार ४ सय १८ मात्र देखाइएको छ। 

यो तथ्याङ्क महामन्त्रीले पेस गरेको विवरण भन्दा १ लाख ३२ हजार ४७ ले कम हो। कोषाध्यक्ष अधिकारीले पार्टी स्थापनाको सुरुवाती चरणमा ३७ हजार १ सय ६४ सदस्य रहेकोमा चालु आर्थिक वर्ष २०८२/८३ सम्म आइपुग्दा उक्त संख्या वृद्धि भएर ३ लाख ९१ हजार ४१८ मात्र पुगेको उल्लेख गरेकी छन्। उनको प्रतिवेदनले हाल प्रतिदिन औसत ७७४ जना नयाँ सदस्य थपिने गरेको र स्वेच्छिक सदस्यता शुल्कबापत प्रति सदस्य औसत ८५ रुपैयाँ सङ्कलन हुने गरेको देखाएको छ।

1

महामन्त्रीको प्रतिवेदनले ६४ जिल्ला र ६०९ पालिकामा अधिवेशन सम्पन्न भइसकेको साङ्गठनिक सफलता देखाउँदा कोषाध्यक्षको प्रतिवेदनले आर्थिक पाटोमा ५ करोड ६१ लाख बचत र ८ करोड ७ लाख कुल सम्पत्ति पुगेको विवरण प्रस्तुत गरेको छ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप