प्रकृति बन्यो डढेलोको 'फायर फाइटर'
सारांश
- यस वर्ष नेपालमा डढेलोका घटनाहरू विगतको तुलनामा निकै कम भएका छन्, जसको मुख्य कारण समयमै भएको वर्षा हो।
- चालु आर्थिक वर्ष २०८२/८३ को वैशाख १७ गतेसम्म देशभर डढेलोका ३१२ वटा घटना दर्ता भएका छन्, जुन अघिल्लो आर्थिक वर्षको तुलनामा झण्डै तीन गुणा कम हो।
- विज्ञहरूले यस वर्ष प्रकृतिले सहयोग गरे पनि डढेलो नियन्त्रणका लागि स्थानीय समुदाय परिचालन, अग्निरेखा निर्माण र प्रविधिको प्रयोगमा लगानी बढाउनुपर्नेमा जोड दिएका छन्।
काठमाडौंँ । नेपालमा यस वर्ष डढेलो प्रकोपका घटनाहरू विगतजस्ता भएनन् । फागुनदेखि नै जंगल, सार्वजनिक स्थल तथा व्यक्तिगत सम्पत्तिमा समेत आगलागी हुने घटनाहरू निकै आउने गर्थे । यस अवधिलाई डढेलेको मुख्य 'सिजन' नै मानिन्छ ।
तर हाल देशैभर विभिन्न स्थानमा वर्षा भइरहेका छन् । कतिपय स्थानमा त भारी वर्षासमेत भएका छन्, जसका कारण आगलागीका घटनाहरूमा विगतको तुलनामा कमी आएका वातावारणविद्हरू बताउँछन् ।
गृह मन्त्रालय र वन तथा भू–संरक्षण विभागको पछिल्लो तथ्यांक अनुसार चालु आर्थिक वर्ष २०८२/८३ को साउन १ गतेदेखि वैशाख १७ गतेसम्म देशभर डढेलोका ३१२ वटा घटनाहरू दर्ता भएका छन् । यो संख्या अघिल्लो आर्थिक वर्ष २०८०/८१ को तुलनामा झण्डै तीन गुणाले कम हो ।
वर्षाले दिलायो राहत
वन तथा भू–संरक्षण विभागका अधिकारीहरूका अनुसार यस पटक (मार्च–मे) मा नै प्रि–मनसुन सक्रिय भई वर्षा भएकाले डढेलो नियन्त्रणमा प्राकृतिक रूपमै सहयोग पुगेको हो । ‘गत वर्षको तुलनामा यो वर्ष डढेलो निकै कम भएको छ । यसको मुख्य कारण समयमै भएको वर्षा नै हो,’ मन्त्रालयका एक अधिकारीले भने, ‘प्रि–मनसुन अलि अघि सुरु भयो र तापक्रम बढ्दै जाँदा बिच–बिचमा पानी परिरह्यो । यसले वन क्षेत्रमा हुने सुक्खापनलाई कम गरिदियो र आगलागीका घटनाहरू स्वतः घट्न पुगे ।’
वन क्षेत्रविज्ञ सरोज देवकोटाका अनुसार डढेलो लाग्न इन्धन, अक्सिजन र तापक्रम’ को त्रिकोण मिल्नुपर्छ । ‘नेपालका वनहरूमा चैत–वैशाखमा सालका पात र अन्य सुक्खा पतिङ्गरहरू भुइँभरि हुन्छन्, जसले इन्धनको काम गर्छन्,’ उनी भन्छन्, ‘यस वर्ष प्रि–मनसुन अलि चाँडो सक्रिय भयो । बारम्बारको वर्षाले ती सुक्खा पातहरूलाई भिजाइदियो र वातावरणमा आद्रता बढाइदियो । भिजेको पातमा आगो सल्किन कठिन हुन्छ, जसले गर्दा डढेलो फैलन पाएन ।’
नेपालमा डढेलोको ‘पिक सिजन’ चैतको अन्तिम सातादेखि वैशाखको मध्यसम्म हो । यही समयमा सबैभन्दा धेरै तापक्रम बढ्ने र तीव्र हावा चल्ने गर्छ । ‘यसपालि ठ्याक्कै त्यही समयमा पश्चिमी वायुको प्रभावले देशभर वर्षा गरायो,’ विज्ञ देवकोटा थप्छन्, ‘जतिबेला डढेलोले भयानक रूप लिन सक्थ्यो, त्यही बेला प्रकृतिले नै ‘फायर फाइटर’को भूमिका खेल्यो । यसले गर्दा सानातिना स्थानमा लागेका आगो पनि स्वतः निभ्न पुगे ।’
तर विज्ञहरूले यसलाई केवल भाग्यको भरमा छोड्न नहुने चेतावनी दिएका छन् । डा. देवकोटा अझ थप्छन्, ‘यो वर्ष प्रकृतिले साथ दियो र क्षति कम भयो, तर हामीले डढेलो नियन्त्रणका लागि स्थानीय समुदायको परिचालन, अग्निरेखाको निर्माण र प्रविधिको प्रयोगमा लगानी बढाउनै पर्छ। अर्को वर्ष प्रि–मनसुन ढिलो भयो भने हामी पुनः जोखिममा पर्न सक्छौँ । त्यसैले अहिलेको यो राहतको समयलाई हामीले पूर्वतयारीको अवसरका रूपमा लिनुपर्छ ।’
मानवीय र भौतिक क्षतिको विवरण
असारयता डढेलोका कारण ३ जनाले ज्यान गुमाएका छन् । मृत्यु हुनेमा २ पुरुष र १ महिला छन् । यस्तै, डढेलोमा परेर ३ जना घाइते भएका छन् भने देशभरका कुल ५४ परिवार प्रत्यक्ष रूपमा प्रभावित भएका छन् । वनबाट सुरु भएको डढेलो मानव बस्तीमा पस्दा भौतिक संरचनामा पनि क्षति पुगेको छ । यस्तै कुल ७ वटा घरमा क्षति पुगेको छ, जसमध्ये ४ वटा घर पूर्ण रूपमा नष्ट भएका छन् । डढेलोले ११ वटा गोठहरू जलाएर खरानी बनाएको छ, १० वटा पशुचौपाया मरेका छन् ।
राष्ट्रिय विपद् जोखिम न्यूनिकरण तथा व्यवस्थापन प्राधिकरणका अनुसार यस वर्ष भएका डढेलोका घटनाबाट कुल १४ लाख ९१ हजार १०० रुपैयाँ बराबरको अनुमानित आर्थिक क्षति भएको छ । यद्यपि जंगलमा हुने जैविक विविधता र पर्यावरणको अपूरणीय क्षतिलाई भने मुद्रामा मापन गर्न कठिन हुने विज्ञहरू बताउँछन् ।
कस्तो छ पछिल्लो ५ वर्षको डढेलोको अवस्था ?
विगत पाँच वर्षको तथ्यांक हेर्दा नेपालमा डढेलोको उतारचढाव निकै देखिन्छ । आर्थिक वर्ष २०८०/८१ नेपालका लागि डढेलोको हिसाबले सबैभन्दा भयावह वर्ष देखिएको छ, जहाँ ९६५ वटा घटना भएका थिए ।
आर्थिक वर्ष डढेलोका घटना संख्या
२०७७/७८ मा ९३
२०७८/७९ मा ८३
२०७९/८० मा २६८
२०८०/८१ मा ९६५
२०८१/८२ मा ७५१
२०८२/८३ (वैशाख १७ सम्म) मा ३१२
सचेतनाको आवश्यकता
वन क्षेत्रका विज्ञहरूका अनुसार यस वर्ष वर्षाका कारण डढेलो कम भए पनि जोखिम भने अझै टरिसकेको छैन । ९० प्रतिशतभन्दा बढी डढेलो मानवीय लापरबाही (जस्तैः चुरोटका ठुटा फाल्ने, वनभोजपछि आगो ननिभाउने, नयाँ घाँस उमार्न आगो लगाउने) का कारण लाग्ने गर्दछ ।
सुक्खा मौसम अझै केही समय रहने हुनाले वन क्षेत्र वरपर आगो बाल्दा विशेष सावधानी अपनाउन र डढेलो लागेको देखेमा तुरुन्त स्थानीय प्रशासन वा सुरक्षा निकायलाई खबर गर्न विज्ञहरूले आग्रह गरेका छन् । जैविक विविधताको रक्षा र मानव सुरक्षाका लागि वन डढेलो नियन्त्रणमा जनसहभागिता अपरिहार्य देखिएको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
अल्जेरियाको शानदार पुनरागमन, जोर्डनलाई २–१ ले हराउँदै पहिलो जित दर्ता
-
सार्वजनिक सवारी दर्ता विवादमा समाधानको प्रयास, पुराना एलसी भएका सवारी दर्ता गर्न पाइने
-
धुलिखेल–खावा सडकमा असार १४ देखि टिपरलाई पूर्ण प्रतिबन्ध
-
दल परिवर्तन गर्ने जुम्ला, नवलपरासी र रुपन्देहीका तीन जनप्रतिनिधिको पद रिक्त
-
अल्जेरियाको शानदार पुनरागमन, जाेर्डनविरुद्ध २–१ को अग्रता
-
९ वर्षपछि फेरि पलेँटीमा गुन्जँदै गायक विधान श्रेष्ठ
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण