ट्राफिक प्रहरीले अब चालकको लाइसेन्स र ब्लुबुक जफत गर्न नपाउने
सारांश
- सर्वोच्च अदालतले ट्राफिक नियम उल्लंघनको आधारमा चालकको लाइसेन्स, ब्लुबुक र सवारीको साँचो नियन्त्रणमा लिनु गैरकानुनी हुने फैसला गरेको छ ।
- संयुक्त इजलासले ट्राफिक प्रहरीको यस्तो कार्य अधिकार क्षेत्रको दुरुपयोग भएको भन्दै अबदेखि कागजात नियन्त्रणमा नलिन सरकारका नाममा निर्देशनात्मक आदेश जारी गरेको छ ।
- सर्वोच्चको फैसलामा सवारी तथा यातायात व्यवस्था ऐन, २०४९ को दफा १६४ ले प्रहरीलाई जरिवाना गर्ने वा २४ घण्टाभित्र उपस्थित हुने गरी पुर्जी दिने अधिकार मात्र दिएको, लाइसेन्स वा ब्लुबुक कब्जामा लिने अधिकार नदिएको उल्लेख छ ।
काठमाडौँ । सर्वोच्च अदालतले ट्राफिक नियम उल्लंघन गरेको आधारमा मात्रै चालकको लाइसेन्स ब्लुबुक र सवारीको साँचो नियन्त्रणमा लिनु गैरकानुनी हुने ठहर गरेको छ ।
न्यायाधीशद्वय अब्दुल अजीज मुसलमान र श्रीकान्त पौडेलको संयुक्त इजलासले ट्राफिक प्रहरीको यस्तो कार्य 'अधिकार क्षेत्रको दुरुपयोग' भएको भन्दै अबदेखि कागजात नियन्त्रणमा नलिन सरकारका नाममा निर्देशनात्मक आदेश जारी गरेको हो ।
नेपाल ल क्याम्पसमा अध्ययनरत कानुनका विद्यार्थी विवेक चौधरीले दायर गरेको रिटमाथि सुनुवाइ गर्दै सर्वोच्चले यस्तो ऐतिहासिक फैसला गरेको हो । निवेदक चौधरीले २०८१ साउन ४ गते बबरमहलमा ट्राफिक लाइट उल्लङ्घन गर्दा प्रहरीले जरिवाना गरी उनको लाइसेन्स नियन्त्रणमा लिएको र २४ घण्टापछि मात्र फिर्ता दिएको भन्दै रिट लिएर अदालत पुगेका थिए ।
सर्वोच्चको फैसलामा सवारी तथा यातायात व्यवस्था ऐन, २०४९ को दफा १६४ को व्याख्या गर्दै भनिएको छ– उक्त दफाले ट्राफिक प्रहरीलाई नियम उल्लङ्घन गर्ने चालकलाई तत्काल जरिवाना गर्ने वा जरिवाना तिर्न नसकेमा २४ घण्टाभित्र उपस्थित हुने गरी पुर्जी दिने अधिकार मात्र दिएको छ । ऐनको कुनै पनि प्रावधानले चालकको लाइसेन्स, ब्लुबुक वा साँचो नै कब्जामा लिने अधिकार प्रहरीलाई दिएको छैन ।'
कानुनले नदिएको अधिकार प्रयोग गरी नागरिकको निजी कागजात नियन्त्रणमा लिनु विधिको शासन र नागरिकको स्वतन्त्रताको हकविपरीत हुने अदालतको ठहर छ ।
अदालतले सरकारले नै सञ्चालनमा ल्याएको 'नागरिक एप'को प्रसंग उल्लेख गर्दै डिजिटल युगमा भौतिक कागजात नियन्त्रणमा लिनु झनै अनुपयुक्त भएको बताएको छ । नागरिक एपमा लाइसेन्स र ब्लुबुक डिजिटल रूपमा उपलब्ध हुने र ई–चलान मार्फत जरिवाना तिर्न सकिने व्यवस्था भइसकेको अवस्थामा प्रहरीले भौतिक प्रतिलिपि कब्जामा लिएर नागरिकलाई सास्ती दिनु अधिकारको अधिक प्रयोग भएको फैसलामा उल्लेख छ ।
प्रहरीले लाइसेन्स नियन्त्रणमा लिने सम्बन्धमा कुनै औपचारिक निर्णय नगरेको तर व्यवहारमा मात्रै लागु गरेको देखिएकाले अदालतले निवेदकको मागबमोजिम 'उत्प्रेषण' (निर्णय बदर गर्ने) आदेश जारी गरिरहनुनपरेको जनाउँदै रिट प्राविधिक रूपमा खारेज गरेको छ ।
तर, प्रहरीको स्वेच्छाचारी कार्य रोक्न अनिवार्य देखिएको भन्दै इजलासले भविष्यमा कसैको पनि लाइसेन्स, ब्लुबुक र साँचो नियन्त्रणमा नलिन गृह मन्त्रालय र प्रहरी प्रधान कार्यालयका नाममा निर्देशनात्मक आदेश जारी गरेको छ ।
फैसलाको आदेश
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
गर्भवती महिलाको उद्धार
-
पूर्वमन्त्री खरेलको पार्थिव शरीर कांग्रेस मुख्यालयमा
-
ट्राफिक कारबाहीः २४ घण्टामा १० लाख ५३ हजार ५१० राजस्व दाखिला
-
क्रियाशील सदस्यता डिजिटल रूपमा अध्यावधिक कांग्रेसको विधानभन्दा बाहिरको व्यवस्था हो : वरिष्ठ अधिवक्ता पोखरेल
-
कोशी नदी किनारबाट १६८ केजी गाँजा बरामद
-
वार्तापछि इरानी तेलमाथिको प्रतिबन्धमा छुट भएको छ : इरानी विदेशमन्त्री
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण