सोमबार, ०८ असार २०८३
ताजा लोकप्रिय

जबलपुरमा पर्यटक सवार डुङ्गा पल्टिँदा चार जनाको मृत्यु

बिहीबार, १७ वैशाख २०८३, २३ : २७
बिहीबार, १७ वैशाख २०८३

सारांश

  • भारतको जबलपुरमा पर्यटक चढेको डुङ्गा पल्टिँदा कम्तीमा चार जनाको मृत्यु भएको छ ।
  • बिहीबार साँझ बरगी बाँध नजिकै मौसम बिग्रिएर आएको आँधी–हुरीका कारण डुङ्गा सन्तुलन गुमाएर पल्टिएको थियो ।
  • दुर्घटनामा १५ जनाको उद्धार गरिएको छ भने १२–१३ जना अझै बेपत्ता छन्, जसको खोजी कार्य जारी छ ।

काठमाडौँ । भारतको मध्य प्रदेशस्थित जबलपुरको बरगी बाँधमा बिहीबार साँझ पर्यटक बोकेको एउटा क्रुज डुङ्गा पल्टिँदा कम्तीमा चार जनाको मृत्यु भएको छ । मृत्यु हुनेमा दुई जना महिला रहेका छन् ।

खमरिया टापु नजिकै बिहीबार साँझ करिब ५ बजेर ४० मिनेटमा दुर्घटना भएको बिबिसी हिन्दीले समाचार प्रकाशित गरेको छ । सोही समयमा अचानक मौसम बिग्रिएर तीव्र आँधी–हुरी चलेको थियो ।

प्रत्यक्षदर्शीहरूका अनुसार, तीव्र हावाका कारण डुङ्गाले सन्तुलन गुमाउँदा दुर्घटना भएको बताइएको छ ।

प्रहरीका अनुसार डुङ्गामा करिब ३५ जना सवार थिए । तीमध्ये अहिलेसम्म १५ जनाको सुरक्षित उद्धार गरिएको छ, जसमध्ये धेरैजसो पौडिएर बाहिर निस्किएका थिए ।

बरगीका सीएसपी, अन्जुल अयंक मिश्राले अहिलेसम्म चार वटा शव निकालिएको जानकारी दिएका छन् । उनका अनुसार, करिब १२–१३ जना अझै बेपत्ता छन् र उनीहरूको खोजी कार्य जारी छ ।

राज्य विपद् प्रतिकार्य बलको टोली उद्धार कार्यमा जुटेको छ र प्रशासनले खोजी अभियानलाई निरन्तरता दिएको छ ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

एजेन्सी
एजेन्सी
लेखकबाट थप