न यो किनार, न त्यो किनार; मध्यमार्ग बुद्ध विचार
सारांश
- गौतम बुद्धको २५६९औँ जन्मजयन्ती वैशाख शुक्ल पूर्णिमाका दिन नेपाल, भारत र विश्वभर मनाइँदैछ ।
- गौतम बुद्धले शान्तिका लागि पुर्याएको योगदान र उनका मध्यमार्गका विचारहरू आज पनि विश्वभर अनुसरण गरिन्छ ।
- बुद्धको जन्मस्थल लुम्बिनीलाई विश्व सम्पदा सूचीमा समावेश गरी अन्तर्राष्ट्रिय प्रयासमा विकास गरिरहेको छ ।
आज वैशाख शुक्ल पूर्णिमा, २५६९औँ बुद्ध जयन्ती मनाइँदै छ । बौद्ध धर्मका संस्थापक सिद्धार्थ गौतम गौतम बुद्धको जन्मजयन्तीको अवसरमा नेपाल, भारत र संसारभरमा विशेष रूपमा विविध क्रियाकलापको आयोजना गरिन्छ । प्रत्येक वर्ष यस दिन मनाइने बुद्ध जयन्तीका अवसरमा औपचारिक कार्यक्रमका अतिरिक्त गौतम बुद्धले विश्व शान्ति स्थापनाका लागि पुर्याएका योगदानको स्मरण गरिन्छ ।
वैशाख पूर्णिमाकै दिन गौतम बुद्धको जन्म, बोध र बुद्धत्व महानिर्वाण प्राप्त भएको थियो । त्यसैले बौद्ध धर्ममा वैशाख पूर्णिमाको महत्वपूर्ण स्थान रहेको छ ।
झन्डै छब्बीस सय वर्षअघि गौतम बुद्धले प्रतिपादन गरेको विचार ख्याती प्राप्त गर्दै वर्तमान समयमा विश्वभर फैलिएको छ । आज भोलि धेरै देशका मानिसहरू एक आदर्श र तत्वज्ञानी उपदेशकका रूपमा उनको विचारको अनुसरण गर्छन् ।
बौद्ध धर्मावलम्बीहरूका लागि बुद्ध जयन्ती बर्सेनि मनाउने पर्वका रूपमा रहेको छ । उनीहरूले आफ्नो धर्मको प्रवर्तक शाक्यमुनि बुद्धको रूपमा गौतम बुद्धप्रति अगाध आस्था, निष्ठा र विश्वास राख्छन् । उनीहरूले गौतम बुद्धलाई शास्ता र आफूलाई उहाँबाट शासित मान्दछन् ।
सनातन धर्मावलम्बीहरूले अवतारवादको सिद्धान्त अनुसार आजका दिन भगवान विष्णुको नवौँ अवतारका रूपमा गौतम बुद्धको पूजा, आराधना एवं प्रवचन गरी बुद्ध जयन्ती मनाउँछन् ।
विश्वले गौतम बुद्धलाई शान्तिका अग्रदूतका रूपमा मानेका छन् । शाक्यमुनि बुद्ध नेपालका गौरव हुन् । बुद्ध जन्मेको स्थान लुम्बिनी वर्तमान नेपालको मध्य–पश्चिमी तराई, प्राचीन कालमा शाक्य जनपद थियो ।
सिद्धार्थ गौतमका बाबु शुद्धोदन तत्कालीन तिलौराकोट राज्यमा शाक्यवंशका राजा थिए । यिनकी आमाको नाम मायादेवी थियो । रानी मायादेवी आफ्नो माइत देवदह जाने क्रममा बाटोमा पर्ने लुम्बिनी भन्ने ठाउँमा पुग्दा प्रसव व्यथाले भेटेपछि आरामका लागि बसिन् । त्यहीँ उनलाई पुष्करिणी सरोवरको किनारमा एउटा रुखको फेदमा सुस्ताउँदै गर्दा बालक सिद्धार्थको जन्म भएको थियो ।
शाक्य कुलको रीति अनुसार पाँचौँ दिनमा त्रिवेदले पारम्गत १०८ ब्राह्मणहरू भेला भई नामाकरण गरिएको थियो । सबै मनोकामनाले पूर्ण गर्ने भन्ने अर्थमा ब्राह्मणले बालकको नाम ‘सर्वार्थसिद्ध’ राखे । यही शब्दको छोटकरीमा ‘सिद्धार्थ’ नामले उनलाई पुकारियो । गौतम बुद्ध १६ वर्ष उमेर पुगेपछि उनको विवाह कोलीय राजकुमारी यशोधरासँग भयो । उनको एक पुत्र भए–राहुल ।
बाल्यकालदेखि नै गम्भीर स्वभावका सिद्धार्थ गौतमलाई हरेक कुराले चिन्तनशील बनाउँथ्यो । उनले बुढो, रोगी मानिसलाई देखे । उनले मानिस मरेको पनि देखे । यसबाट उनमा बैराग्य पैदा भयो । मानिस के कारणले रोगी हुन्छ ? के कारणले बुढो हुन्छ ? र के कारणले मर्छ ? भन्ने प्रश्नले उनलाई वैरागी बनायो । यिनै प्रश्नको समाधान खोज्न उनले राज्य र परिवार त्याग्दै २९ वर्षको उमेरमा उनी भिक्षु हुन पुगे ।
सम्बोधिको अर्थ परम ज्ञान, पूर्ण जागृति वा बुद्धत्व हो, जसले बौद्ध धर्ममा सिद्धार्थ गौतमले सत्यको साक्षात्कार गरी दुःखमुक्ति प्राप्त गरेको अवस्थालाई बुझाउँछ । यो सर्वोच्च मानसिक अवस्था हो, जहाँ व्यक्ति राग, द्वेष र मोहबाट मुक्त हुन्छ । सम्बोधि भनेको जीवन र जगतको वास्तविक स्वरूप बुझेर प्राप्त गरिने परम शान्ति वा बोध हो । उनले निरञ्जना नदी किनारमा घोर तपस्या र ध्यानपछि अन्ततः मध्यम मार्ग अपनाएर वैशाख पूर्णिमाका दिन सम्बोधि प्राप्त गरे ।
गौतम बुद्धले दिएका उपदेशहरूमा त्रिरत्नको निकै महत्व छ । ‘बुद्धम् शरणम् गच्छामि, धम्मम् शरणम् गच्छामि र संघम् शरणम् गच्छामि’ बौद्ध धर्मका तीन प्रमुख आधारस्तम्भ हुन् । जसलाई त्रिरत्नको नामले जानिन्छ । बुद्ध (जागृत पुरुष), धर्म (शिक्षा, सत्य), र संघ (अनुयायी समुदाय) यी तीन सूत्रलाई अमूल्य रत्नसरह मानी शरणगमन गर्नुपर्छ भन्ने हो । यी तीन रत्नले प्राणीहरूलाई संसारको दुःखबाट मुक्त भई लौकिकदेखि लोकोत्तर बुद्धत्वसम्मको मार्गमा डो¥याउँछ ।
गृहस्थी जीवनमा बुद्धको शिक्षालाई व्यवहारमा उतार्नु भनेको पूर्ण सांसारिक त्याग नगरीकन दैनिक कार्यहरूलाई सचेत, नैतिक र कल्याणकारी बनाउनु हो । गृहस्थहरूले बुद्धका शिक्षाहरूलाई आफ्नो जीवनमा अनुशीलन गर्न सक्छन् ।
गृहस्थ उपासकहरूका लागि भएको पञ्चशील उपदेशलाई नैतिक जीवनको मेरुदण्ड मानिन्छ । अहिंसा (कुनै पनि प्राणीको हत्या नगर्नु), अस्तेय (चोरी नगर्नु वा नदिएको वस्तु नलिनु), काम–मिथ्याचार (व्यभिचार नगर्नु र सम्बन्धमा इमानदार रहनु), सत्य वचन (झुटो नबोल्नु) र मद्यपान निषेध पञ्चशील हो ।
यसैगरी मानिसले दैनिक जीवनका जटिलताहरूको व्यवस्थापन गर्न देखिएर आफ्नो जीवनलाई अझै उत्कृष्ट बनाउनसम्मका लागि गौतम बुद्धको अष्टाङ्गिक मार्ग अत्यन्तै महत्त्वपूर्ण मानिन्छ । गौतम बुद्धले दुःख मुक्ति र निर्वाण प्राप्तिका लागि बताएका आठ वटा मार्गहरूलाई आर्य आष्टांगिक मार्ग भनिन्छ । आष्टांगिक मार्गहरूमा सम्यक् दृष्टि, सम्यक् कर्म, सम्यक् संकल्प, सम्यक् वाणी, सम्यक् आजीविका, सम्यक् व्यायाम/प्रयत्न, सम्यक् स्मृति र सम्यक् समाधि रहेका छन् ।
सम्यक् दृष्टिको अर्थ चार आर्य सत्यलाई सही रूपमा बुझ्नु र संसारलाई यथार्थ रूपमा अर्थात् भौतिक दृष्टिले देख्नु हो । चार आर्य सत्य भनेको जीवनमा दुःख हुनु, दुःखको कारण हुनु, दुःखको निवारण हुनु र निवारणको मार्ग हुनु हो । चार आर्य सत्य गौतम बुद्धको सम्पूर्ण विचारको सार हो । संसारमा सत्य भनेको के हो भन्ने सवालमा गौतम बुद्धले सत्य र सत्यको चारवटा प्रकृति देखाए ।
गौतम बुद्धले सनातन शास्त्रोक्त विचारहरू मध्येका सर्वाधिक महत्त्वपूर्ण विषयका रूपमा रहेको आत्मा र आत्माको पुनर्जन्मको सिद्धान्तलाई अस्वीकार गरे । जीवनमा बोध हुनु नै जीवन हो । जीवन छणभङ्गुर छ नाशवान छ अनित्य छ । त्यसैले जीवन सत्य होइन तर जीवनमा दुःख हुन्छ । त्यो दुःख नै सत्य हो । दुःख पर्दा विचलित हुने भन्दा दुःखलाई स्वीकार गर्नुपर्छ त्यसो गरेमा दृष्टि दुःख निवारणतर्फ अघि बढ्छ र दुःखको कारण थाहा हुन्छ ।
दुःखको कारण थाहा भएपछि दुःखको निवारण छ भन्ने विश्वास हुन्छ । त्यस्तो विश्वासले दुःख निवारणको उपायहरू तर्फ अघि अघि बढाउँछ यो सम्पूर्ण प्रक्रिया नै चार आर्य सत्य हो । गौतम बुद्धले आफ्नो समयमा यो विचार दिँदै गर्दा यस विचारलाई उनले नयाँ विचार अर्थात् आर्य सत्य भने । आर्य भन्नुको अर्थ नयाँ भन्ने हो । उनको यो विचार त्यतिबेला विद्यमान रहेको सनातनी विचारहरूभन्दा नयाँ थियो ।
त्यसैले सनातनी विचारको अनुसरण गर्ने व्यक्तिहरू बुद्धको चार सत्यको विचारतर्फ आकर्षित हुन थाले । शास्त्रीय विचार र बुद्धको विचारबिच द्वन्द्व र संघर्ष पनि भयो । अन्तत बुद्धको विचार समाजमा पूर्ण रूपमा स्थापित मात्र भएन सनातनी विचारका वाहकहरूले पनि स्वीकार गरे र त्यसलाई पनि अवतरणको नयाँ शृङ्खलाको रूपमा स्थापित गरे यस प्रकार बुद्धको विचार सनातनी विचार भित्रकै विचार भएपनि पारम्परिक विचारको विपरीत विचार भएकोले यसलाई नास्तिक विचारधारा अन्तर्गत सूचीकृत गरियो ।
गौतम बुद्धका अनुसार सम्यक् कर्मको अर्थको चर्चा गर्दा कर्म भनेको चेतनायुक्त कार्य वा इच्छाशक्तिले गरिएको कर्म हो । बुद्धले कर्मलाई केवल भाग्य वा नियति नभनी, शरीर, वचन र मन द्वारा गरिने क्रियाकलापका रूपमा परिभाषित गरेका छन् । बुद्धधर्ममा ईश्वरभन्दा पनि कर्मलाई सर्वशक्तिमान मानिन्छ, जसले मानिसको भाग्य निर्धारण गर्छ । हरेक कर्मको फल हुन्छ ।
सम्यक् कर्मले उत्तम फल र दूषित कर्मले नकारात्मक फल दिन्छ । बुद्धिले उचित भनेको कार्य नै सम्यक् कर्म हो, जसमा राग (आशक्ति) र द्वेष (घृणा) नभई सम्यक् चेतना हुन्छ । इच्छा, राग, द्वेष र मोह नै कर्मको कारण हुन्, जसले जन्म–मरणको चक्र वा दुःख उत्पन्न गर्छ ।
सम्यक् संकल्पको अर्थ सही संकल्प गर्नु, राग, द्वेष, हिंसा र कामवासनाबाट मुक्त हुने दृढ इच्छा राख्नु हो । सत्कार्यमा पूर्ण जीवन लगाउनु हो । सम्यक् वाणीको अर्थ सत्य, प्रिय र उपयोगी बोल्नु हो । झुटो बोल्ने, चुगली लगाउने, कठोर शब्द प्रयोग गर्ने वा व्यर्थ कुरा गर्नेबाट बच्नु हो । सम्यक् आजीविकाको अर्थ न्यायोचित र धर्मसम्मत तरिकाले जीवनयापन गर्नु हो । अरूलाई हानि पुर्याउने व्यवसाय हतियार, प्राणी, विषाक्त पदार्थको व्यापार नगर्नु ।
सम्यक् व्यायाम, प्रयत्नको अर्थ मनबाट नकारात्मक विचार हटाउन र सकारात्मक विचार ल्याउन निरन्तर सचेत प्रयास गर्नु हो । सम्यक् स्मृतिको अर्थ शरीर, भावना र चित्तको गतिविधिप्रति सधैँ सचेत र सजग रहनु हो । सम्यक् समाधिको अर्थ मनलाई एकाग्र गरी ध्यानमग्न हुनु, जसले मानिसलाई परम ज्ञान (निर्वाण) तर्फ लैजान्छ भन्ने हो ।
गृहस्थ जीवनमा धन कमाउनु र परिवारको पालनपोषण गर्नु आवश्यक हुन्छ, तर लोभ र मोहमा फसेर अरूलाई पीडा दिनु हुँदैन । गौतम बुद्धले अत्यधिक भोगविलास र अत्यधिक कठोर त्याग, दुवैको अस्वीकार गरेका छन् । जीवनमा सन्तुलन नै मध्यमार्ग हो । न यो किनार, न त्यो किनार; मध्यमार्ग– बुद्ध विचार । आफ्नो कमाइको केही अंश दीनदुःखी र समाजको हितमा खर्च गर्नु (दान) र सबै प्राणीप्रति मैत्रीभाव राख्नु गृहस्थ जीवनको ठुलो साधना मानिएको छ । यस्तो जीवन नै दुःख निवृत्त भएको अवस्था हो ।
संसारमा अरबौँ मानिसले गृहस्थ जीवनमा बुद्धको शिक्षालाई अपनाएका छन् । धेरैले पञ्चशीलको पालना र बिहान–बेलुका थोरै समय भए पनि ध्यान गर्ने गर्छन् ।
शासनको व्यवस्थामा पनि बुद्ध शिक्षाको योगदान हुन सक्छ । बुद्धका दर्शनहरू केवल व्यक्तिगत मुक्तिका लागि मात्र नभई आधुनिक सार्वजनिक प्रशासन र राजनीतिक नेतृत्वलाई सुधार्ने आधारभूत औषधिका रूपमा हेरिएका छन् । बुद्धले प्रतिपादन गरेको पञ्चशील र दशशीलको पालनाले वा कमसेकम आस्तेयको मात्र पनि पालना भएमा शासक र प्रशासकहरूमा इमानदारिता र नैतिक अनुशासनको विकास गर्न मद्दत गर्छ । बुद्धका अनुसार भ्रष्टाचारको जड भनेको लोभ, द्वेष र मोह हुन्; यी तीन विषलाई हटाएर मात्रै सुशासन सम्भव छ ।
बुद्धले आफ्नो संघमा अभ्यास गरेको लोकतान्त्रिक पद्धति, आधुनिक गणतन्त्रको जग हुन सक्छ । यसले समावेशी सहभागिता र उत्तरदायी शासन प्रणाली स्थापना गर्न दिशा निर्देश गर्छ । प्राचीन बौद्ध ग्रन्थहरूमा उल्लेखित दश राजधर्म (दान, शील, परित्याग, अक्रोध, अविरोध आदि) ले शासकलाई जनताप्रति समर्पित, दयालु र निष्पक्ष बन्न सिकाउँछ । यसको अवलम्बनले प्रशासनिक क्षेत्रमा जनता पहिलो भन्ने भावना जागृत गराउन सक्छ ।
बुद्ध जन्मेको स्थानलाई लिएर दुई देश नेपाल र भारतका नागरिकबिच यदाकदा भ्रम सिर्जना गर्ने कोसिस गरिन्छ । बुद्धको जन्मस्थलका बारेमा कुनै समय ऐतिहासिक र भौगोलिक अन्योलहरू भएपनि हाल यो विषय विवादरहित छ । इ.पू. २४९ मा सम्राट अशोकले स्थापना गरेको अशोक स्तम्भमा स्पष्ट रूपमा ‘यहाँ शाक्यमुनि बुद्ध जन्मनुभएको थियो’ (हिद बुधे जाते सक्यमुनीति) भन्ने शिलालेख छ, जसले यसलाई ऐतिहासिक रूपमा प्रमाणित गर्छ । नेपालको तिलौराकोटलाई नै बुद्धले २९ वर्ष बिताएको वास्तविक कपिलवस्तु मान्ने बलिया प्रमाणहरू फेला परेका छन् ।
भारतले प्रायः बुद्धले ज्ञान प्राप्त गरेको (बोधगया) र उपदेश दिएको (सारनाथ) जस्ता स्थानहरू भारतमा पर्ने भएकाले ‘साझा बौद्ध विरासत’ को कुरा गर्ने गर्छ । राज्य स्तरमा यस विषयमा कुनै प्रकारको मतभेद छैन । बल्कि दुबै देशका सरकारहरू आ–आफ्ना देशका बौद्ध तीर्थहरूको पर्यटकीय विकास र विकास प्रक्रियामा साझेदारी समेत गरिरहेका छन् । दुवै देशका पर्यटन मन्त्रालयका पदाधिकारीहरू र विज्ञहरू सम्मिलित एक संयुक्त कार्य समूह गठन गरिएको छ । भारत र नेपालका पर्यटन व्यवसायी स्तरमा पनि सहकार्य भइरहेको छ ।
नेपाल र भारत सरकारले भगवान् बुद्धको जीवनसँग जोडिएका महत्त्वपूर्ण स्थानहरू नेपालको लुम्बिनी र भारतका बोधगया, सारनाथ तथा कुशीनगरलाई एउटै पर्यटकीय मार्गमा जोड्न बौद्ध परिपथ (बुद्धिस्ट सर्किट) को निर्माणमा सहकार्य गरिरहेका छन् । भारत सरकारले लुम्बिनी गुरुयोजना क्षेत्रभित्र इन्डिया इन्टरनेसनल सेन्टर फर बुद्धिस्ट कल्चर एन्ड हेरिटेज निर्माणको साथै बौद्ध गुम्बा तथा ऐतिहासिक स्थलहरूको जीर्णोद्धारमा सहयोग गरेको छ ।
लुम्बिनीलाई विश्वभरका मानिसहरूको साझा शान्ति केन्द्रका रूपमा स्थापित गर्न अन्तर्राष्ट्रिय प्रयासहरूले पनि मद्दत पुर्याएका छन् । सन् १९६७ मा संयुक्त राष्ट्र संघका महासचिव उ थान्तको भ्रमणपछि लुम्बिनीलाई अन्तर्राष्ट्रिय पर्यटकीय र आध्यात्मिक केन्द्र बनाउने अवधारणाले गति लियो ।
संयुक्त राष्ट्र संघको अंग युनेस्कोले सन् १९९७ मा लुम्बिनीलाई बुद्धको जन्मस्थलका रूपमा विश्व सम्पदा सूचीमा समावेश ग¥यो । संयुक्त राष्ट्र संघको सहयोगमा विश्व प्रसिद्ध जापानी वास्तुविद् केन्जो टांगेले सन् १९७८ मा लुम्बिनीको गुरुयोजना तयार पारेका थिए । लुम्बिनी विकासका लागि अन्तर्राष्ट्रिय स्तरका समिति पनि गठन गरिएको छ ।
लुम्बिनीको विकासमा भारतबाहेक अन्य धेरै राष्ट्रहरू र अन्तर्राष्ट्रिय संस्थाहरूको ठूलो योगदान रहेको छ । लुम्बिनीको मोनास्टिक जोनमा विभिन्न देशले आफ्नै वास्तुकलामा आधारित आकर्षक विहारहरू निर्माण गरेका छन् । जापानले लुम्बिनीमा विश्व शान्तिको प्रतीकका रूपमा विश्व शान्ति स्तूप र सोक्यो जापानी गुम्बा निर्माण गरेको छ ।
थाइल्यान्डले सेतो मार्बलले बनेको भव्य रोयल थाई मोनास्ट्री निर्माण गरेको छ । चीनले चिनियाँ वास्तुकला झल्कने चिनियाँ बिहार निर्माण गरेको छ । जर्मनीले भव्य ग्रेट लोटस स्तूप निर्माण गरेको छ ।
दक्षिण कोरियाले कोरियाली शैलीको दाए सुङ शाक्य मन्दिर निर्माण गरेको छ । त्यस्तै म्यानमार, भियतनाम, श्रीलङ्का, कम्बोडिया, फ्रान्स, अस्ट्रिया, क्यानडालगायत विभिन्न देशहरूले पनि विहार तथा गुम्बाहरू आ–आफ्नै शैलीमा निर्माण गरेका छन् ।
चारैतिर युद्ध र युद्धको खतरा तथा हतियारको होडबाजीको वर्तमान विश्व परिवेशमा पनि शान्तिका अग्रदूत गौतम बुद्ध सान्दर्भिक छन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
विकल्प नदिई सडकपेटीबाट हटाएको भन्दै दृष्टिविहीनहरू आन्दोलित
-
भक्तपुरसहित देशका विभिन्न स्थानमा चारजना मृत भेटिए
-
अत्याधिक गर्मीका कारण धनगढीका विद्यालय बन्द
-
होर्मुजमा जहाज आवागमन घट्यो, बन्दको घोषणापछि बढ्यो अन्योल
-
दुल्लू नगरपालिकाले ल्यायो १ अर्ब ५ करोडको बजेट
-
तराईमा तातो हावा र पहाडमा वर्षाको सम्भावना
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण