बुद्ध जयन्तीः एकातिर मूर्ति स्थापना, अर्कोतिर गुम्बामा डोजर
सारांश
- बुद्ध जयन्तीको दिन काठमाडौँको बल्खुस्थित साङ्गे छोइलिङ्ग गुम्बालाई सार्वजनिक जग्गा अतिक्रमण गरेको आरोपमा डोजरले भत्काइयो ।
- सोही अवसरमा काठमाडौँ महानगरपालिका वडा नं. १९, कंकेश्वरीमा १५ फिट लामो सिंहशैय्यासन प्रस्तर बुद्ध मूर्तिको अनावरण गरियो ।
- सार्वजनिक जग्गा संरक्षण गर्ने सरकारी अभियान अन्तर्गत गुम्बा भत्काइएको हो भने बुद्ध पार्कको रूपमा विकास गर्न मूर्ति स्थापना गरिएको छ ।
काठमाडौँ । शुक्रबार २५७० औँ बुद्ध जयन्ती मनाइँदै गर्दा सङ्घीय राजधानी काठमाडौँमा दुई फरक दृश्य देखियो ।
संघीय सरकारले काठमाडौँ महानगरपालिकासँगको समन्वयमा सार्वजनिक जग्गा मिचेर बनाएको भन्दै बल्खुस्थित एक बौद्ध गुम्बामा डोजर चलाएको छ । काठमाडौँ महानगरपालिका वडा नं. १९ मा भने भव्य बुद्ध मूर्तिको अनावरण गरियो ।
काठमाडौँको बल्खुस्थित सुकुम्बासी बस्तीमा रहेको साङ्गे छोइलिङ्ग गुम्बामा शुक्रबार बिहानै महानगरको डोजर पुगेको थियो । २०७८ साल कात्तिक १३ गते दर्ता भएको यो गुम्बा र सोही परिसरमा रहेको मन्दिर सार्वजनिक जग्गा अतिक्रमण गरी निर्माण गरिएको भन्दै सरकारले डोजर चलाएको हो ।
बुद्ध जयन्तीकै दिन गुम्बा भत्काउन थालेपछि स्थानीयले विरोध गरेका थिए । ‘कम्तीमा बुद्ध जयन्तीको एक दिन त छोडिदिनुस् भन्यौँ, तर सरकारले मानेन,’ एक स्थानीयले आक्रोश पोखे । महानगरपालिकाका नगर प्रहरी र नेपाल प्रहरीले भने संरचना भत्काउनुअघि गुम्बाभित्र रहेका बुद्धका मूर्ति र अन्य धार्मिक सामग्रीहरू सुरक्षित रूपमा बाहिर निकालिएको बताएको छ ।
_xg8wlfidqe_bGEEunKi1F.jpg)
सार्वजनिक जग्गा संरक्षण गर्ने अभियानअन्तर्गत नै यो कदम चालिएको महानगरको भनाइ छ ।
कंकेश्वरीमा उल्लासः १५ फिट लामो मूर्ति
बल्खुमा गुम्बा भत्काइँदै गर्दा काठमाडौँ महानगरपालिकाकै वडा नं. १९ स्थित कंकेश्वरीमा भने भिन्न माहोल थियो । त्यहाँ १५ फिट लामो भव्य ‘सिंहशैय्यासन प्रस्तर बुद्ध मूर्ति’ को स्थापना गरिएको छ । महानगरपालिकाको पूर्वाधार समितिका संयोजक एवं वडाध्यक्ष राजेशकुमार श्रेष्ठले बुद्ध जयन्तीकै अवसर पारेर उक्त मूर्तिको अनावरण गरे ।
करिब २८ लाख रुपैयाँको लागतमा निर्माण गरिएको यो मूर्तिलाई ४ फिट अग्लो आसनमा राखिएको छ । सो क्षेत्रलाई ‘बुद्ध पार्क’ नामकरण गर्दै महानगरले पर्यटकीय र धार्मिक गन्तव्यका रूपमा विकास गर्ने लक्ष्य राखेको छ ।

मूर्ति सार्वजनिक गर्दै वडाध्यक्ष श्रेष्ठले भौतिक संरचना निर्माण गर्नुभन्दा त्यसको दिगो व्यवस्थापन र संरक्षण चुनौतीपूर्ण रहेको बताए । उनले भने, ‘हामीले यो क्षेत्रलाई बालमैत्री र ज्येष्ठ नागरिकमैत्री पार्कका रूपमा विकास गरेका छौँ । अब यसको संरक्षण र अपनत्व लिने पालो स्थानीयको हो । वडाले सधैँ अभिभावकको भूमिका निर्वाह गर्नेछ ।’
मूर्ति अनावरण हुनुअघि स्थानीयले वडाका विभिन्न भागमा बुद्धको अस्थिधातु यात्रा गरेका थिए । बाजागाजासहित निकालिएको उक्त यात्रापछि नमूना विहारमा पुगेर बुद्धको विशेष पूजाआराधना गरिएको थियो ।
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण