मङ्गलबार, ०९ असार २०८३
ताजा लोकप्रिय
२४ घन्टाका ताजा अपडेट

सीमा क्षेत्रका नागरिकमाथि सरकारको रवैया ठिक भएन : गगन थापा

शुक्रबार, १८ वैशाख २०८३, १९ : ५५
शुक्रबार, १८ वैशाख २०८३

सारांश

  • नेपाली कांग्रेसका सभापति गगन थापाले सरकारको अव्यवहारिक भन्सार नीतिले सीमा क्षेत्रमा बसोबास गर्ने नागरिकहरूको दैनिकी कष्टकर बनेको दाबी गरेका छन् ।
  • उनले राजस्व बढाउने नाममा सङ्घीय सरकारले सीमा क्षेत्रको सांस्कृतिक–सामाजिक पक्षलाई पूरै नजरअन्दाज गरेको आरोप लगाए ।
  • थापाले सीमा क्षेत्रका नागरिकहरूले तुलनात्मक रूपमा केही अतिरिक्त सुविधा पाउनु अन्यथा नहुने विचार राख्दै सरकारलाई मानवीय संवेदना बुझेर मात्र अघि बढ्न सुझाव दिए ।

काठमाडौँ । नेपाली कांग्रेसका सभापति गगन थापाले सरकारको अव्यवहारिक भन्सार नीतिले सीमा क्षेत्रमा बसोबास गर्ने नागरिकहरूको दैनिकी कष्टकर बनेको दाबी गरेका छन् । उनले सीमा क्षेत्रका नागरिकमाथि सरकारको रवैया ठिक नभएको समेत बताए । 

नेपाली कांग्रेसले आजदेखि सुरु गरेको साप्ताहिक शृङ्खला ग्रिन टेबल अन्तरगतको पहिलो कार्यक्रम ‘सीमामा १०० को सीमा!’ मा सभापति थापाले अव्यवहारिक भन्सार नीतिले सीमा क्षेत्रका नागरिकहरूको छटपटी बढेको र सरकारप्रति आक्रोश चुलिँदै गएको बताए । 

राजस्व बढाउने नाममा सङ्घीय सरकारले सीमा क्षेत्रको सांस्कृतिक–सामाजिक पक्षलाई पूरै नजरअन्दाज गरेको आरोप लगाउँदै सभापति थापाले विगतमा झैँ जनभावनाविपरित काठमाडौँमा बसेर नीति–नियमहरू बनाइँदा सीमाका नागरिकहरूले त्यसको मूल्य चुकाउनु परिरहेको दाबी गरे । 

उनले भने, ‘हामी (नेपाली कांग्रेस) सरकारको नेतृत्वमा हुँदा वा सरकारमा साझेदार हुँदा अव्यवहारिक कानुनहरू हटाउन र उपयुक्त नीति बनाउनेतर्फ ध्यान पुर्‍याउन नसकेको कमजोरी हामी स्विकार्छौँ। सीमामा कडाइ भई नागरिकले सास्ती बेहोर्नुपर्दा कांग्रेसले आवाज उठाएर सुधारको प्रयास नगरेको पनि होइन। तर दिगो समाधानतर्फ हामी चुक्यौँ। हामी चाहन्छौँ कि यो सरकारले प्रभावित नागरिकहरूको आवाज सुनोस् र भन्सार सम्बन्धी व्यवहारिक नीति लेओस् ।’

सीमा क्षेत्रमा बसोबास गर्ने नागरिकले तुलनात्मक रूपमा केही अतिरिक्त सुविधा पाउनु अन्यथा नहुने विचार राख्दै सभापति थापाले भन्नुभयो–‘वन–जङ्गल क्षेत्रमा बस्ने मानिसहरूले त्यहाँबाट (वन क्षेत्रबाट) जोखिमसँगै केही अतिरिक्त लाभ पाए झैँ सीमा क्षेत्रका मानिसले पनि अतिरिक्त सुविधाको अपेक्षा गर्नु अन्यथा हुँदैन। भन्सारमा जाँचका नाममा नागरिकहरूको आत्मसम्मानमा चोट पुर्‍याइनु गलत हो।’

मानवीय संवेदना बुझेर मात्र अघि बढ्न सरकारलाई सुझाव दिएका सभापति थापाले राज्य कमजोर नागरिकहरूका लागि अझ बढी जिम्मेवार र संवेदनशील देखियोस् भन्ने अपेक्षा राखे। 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप