बिहीबार, ११ असार २०८३
ताजा लोकप्रिय
अध्यात्म

नेपाल–चीन : आध्यात्मिक सम्बन्ध

शनिबार, १९ वैशाख २०८३, १९ : ३०
शनिबार, १९ वैशाख २०८३

सारांश

  • अध्यात्मले तन र मनलाई स्वस्थ, सुन्दर बनाउने ध्यान, योग र साधनाको व्यवस्थापन गर्ने जीवन विज्ञान हो ।
  • आचार्य गुरुदेव ओशो अखण्डद्वारा चीनमा प्रस्तुत गरिएको आध्यात्मिक विमर्शले नेपाल–चीन सम्बन्धलाई आत्मिक र दार्शनिक तहमा पुर्याएको छ ।
  • चीनमा नेपाली आध्यात्मिक परम्पराको प्रत्यक्ष प्रस्तुति हुनु ऐतिहासिक निरन्तरताको पुनर्जीवन हो र यसले नेपाल–चीन सम्बन्धलाई नयाँ उचाइ दिन सक्छ ।

म को हुँ ? अध्यात्म भनेको आफूभित्रको आफू चिन्ने प्रक्रिया हो । आफ्नो शरीर, मन र विचार बुझेर प्रकृतिसँग मिल्ने प्रक्रिया हो । प्रकृतिमा फुलेको फूल प्रकृतिमै सुगन्ध फैलाउनका लागि हो । जीवनलाई सुन्दर फूलजस्तै मदमस्त बनाउने, मानसिक तथा प्राकृतिक बनाउने प्रक्रिया नै अध्यात्म हो ।

यो बुद्ध, ताओ, राम, कृष्ण, शिव, येशु, कवीर, नानक र कन्फ्युसियसको ज्ञानको वैज्ञानिक सम्मिश्रण हो । तन तथा मनलाई स्वस्थ, सुन्दर बनाउने ध्यान, योग र साधनाको व्यवस्थापन नै अध्यात्म हो । यो जीवन विज्ञान हो ।

म नेपाली साहित्य, समाजशास्त्र, कानुन, चिनियाँ भाषा तथा पर्यटनको विद्यार्थी हुँ । चिनियाँ भाषाको अनुवादक हुँ, टुरिस्ट गाइड हुँ । नेपाल–चीन आयात–निर्यातको व्यापार पनि गर्छु । मलाई लेख्न र घुम्न असाध्यै मन पर्छ । मैले घरपरिवार, साथीभाइ सबैलाई समय मिलाउनु नै पर्छ ।

यी सबै विधाहरूलाई समन्वय गरेर अगाडि बढ्नु चुनौतीपूर्ण छँदै छ । मलाई मानसिक तनाव धेरै हुन्छ । तर यी सबै कर्मलाई सहज पार्न अध्यात्मले ठूलो सहयोग गरेको छ । मलाई मभित्रको म चिनाउने, मेरो आन्तरिक ऊर्जा अनुभूत गराइदिने र मलाई आध्यात्मिक मार्गमा पुर्‍याउन गुरुदेव ओशो अखण्ड र ओशोधारा सङ्घ नेपालको ठूलो योगदान छ ।

FB_IMG_1776873810088

आफ्नो गुरुलाई चीनमा स्वागत गर्न पाउनु मेरो अहोभाग्य नै हो । गुरुदेवको यो भ्रमणको व्यवस्थापनबाट नेपाल–चीनको आध्यात्मिक सम्बन्ध, व्यापार विस्तार तथा पर्यटन विकासमा थोरै मात्र भए पनि भूमिका निर्वाह गर्न सकेँ कि भन्ने लागेको छ । म अध्यात्म मार्गमा छु । म खुद मलाई नै चिन्ने प्रयत्न गर्दै छु ।

म यही प्रकृतिको एउटा सानो फूल हुँ । विश्वव्यापी आध्यात्मिक संवादको नयाँ क्षितिज खुल्दै गएको वर्तमान समयमा चीनमा एक नेपाली साधकको उपस्थिति केवल व्यक्तिगत उपलब्धि होइन, यो त सांस्कृतिक कूटनीतिको गहिरो विषय हो । दुई देशबीच सम्बन्धको नयाँ सूत्र हो ।

ओशोधारा सङ्घ नेपालका संयोजक तथा ओशोधारा सङ्घ नेपाल, दक्षिणकालीका संस्थापक संरक्षक आचार्य गुरुदेव ओशो अखण्डद्वारा चीनमा प्रस्तुत गरिएको आध्यात्मिक विमर्शले नेपाल–चीन सम्बन्धलाई केवल आर्थिक वा भौतिक सहकार्यको दायराभन्दा माथि उठाएर आत्मिक र दार्शनिक तहमा पुर्‍याएको छ ।

नेपालको प्रस्तावमा संयुक्त राष्ट्रसङ्घको महासभाले अप्रिल १५ लाई ‘अन्तर्राष्ट्रिय आरोग्य दिवस’ का रूपमा घोषणा गरेको छ । चीनको राजधानी बेइजिङमा नेपाली नयाँ वर्ष २०८३ तथा अन्तर्राष्ट्रिय आरोग्य दिवसको पूर्वसन्ध्यामा १२ अप्रिल २०२६ मा नेपाली दूतावासले आयोजना गरेको शुभकामना आदानप्रदान कार्यक्रममा गुरुदेवले प्रवचन दिनुका साथै सानो ध्यानको प्रयोगसमेत गराएका थिए ।

FB_IMG_1776873794137

उक्त अवसरमा नेपाली राजदूतावास बेइजिङका कार्यवाहक राजदूत रोशन खनाल तथा इकोनोमिक मिनिस्टर पार्वती अर्याल पनि उपस्थित थिए । राजदूत खनालले नेपाली योग, आयाम, अध्यात्म, दर्शन तथा जीवनशैली निकै लोकप्रिय रहेको र यसलाई अझै लोकप्रिय बनाउन आचार्य श्री गुरुदेव ओशो अखण्डको यो भ्रमण निकै अर्थपूर्ण रहेको बताए ।

यसैगरी मिनिस्टर अर्यालले चीन र नेपाल दुवैले पूर्वीय दर्शन, मूल्य र मान्यतालाई अनुसरण गर्ने हुनाले अत्यन्तै बलियो आध्यात्मिक सम्बन्ध रहेको र यसले नेपालको आध्यात्मिक, योग तथा आरोग्य पर्यटनमा ठूलो योगदान गर्ने बताए ।

म एक नेपाली नारी हुँ । नारीको संवेदना, पीडा, सङ्घर्ष मैले पनि अनुभूति गरेकी छु । चीनको नेपाली राजदूतावास नेपाली नारीहरूले नेतृत्व गरेको देख्दा गर्व महसुस भयो । यो महिला सशक्तीकरणको भव्य उदाहरण हो । नेपालमा ठूलै राजनीतिक परिवर्तन भएको छ, हामी चीनमा सशक्त छौँ ।

नेपाल–चीनको सम्बन्धमा भृकुटीकालीन योगदानभन्दा पनि अनुपम योगदान गर्न हामी सक्षम छौँ । यस्तो प्रस्तुति केवल साधनाको प्रचार मात्र होइन, सभ्यताहरूबीचको संवादलाई नयाँ अर्थ दिने प्रक्रिया पनि हो । यो दुई देशबीचको आध्यात्मिक तथा आरोग्य पर्यटन सम्बन्धको आधारशिला पनि हो ।

FB_IMG_1776962206581

उक्त कार्यक्रममा धेरै चिनियाँहरूले नेपालको अध्यात्म, योग, ध्यान, साधना र यसबाट हुने फाइदा र चुनौतीका बारेमा पनि जिज्ञासा राखेका थिए । नेपाल कसरी आउने, कसरी गुरुलाई भेट्ने, कसरी ध्यान साधना गर्ने भन्ने विविध विषयमा छलफल र कुराकानी भएको थियो ।

आजको नेपालको युनेस्कोको लिस्टमा रहेको भव्य बौद्धनाथ स्तुप, यसको सांस्कृतिक तथा सामाजिक महत्त्व र चीनसँगको सम्बन्धको तत्कालीन आधार राजकुमारी भृकुटीकै योगदान हो । नेपाल, गौतम बुद्धको जन्मभूमि हो । त्यसैले नेपाल प्राचीनकालदेखि नै पूर्वीय दर्शन, ध्यान परम्परा र योग साधनाको केन्द्र रहँदै आएको छ ।

चीनमा बौद्ध दर्शनले शताब्दीयौँदेखि सांस्कृतिक र दार्शनिक जीवनमा गहिरो प्रभाव पारेको छ । यहाँ नेपाली आध्यात्मिक परम्पराको प्रत्यक्ष प्रस्तुति हुनु आफैँमा ऐतिहासिक निरन्तरताको पुनर्जीवन हो । यस सन्दर्भमा आचार्य श्री गुरुदेव ओशो अखण्डको उपस्थिति केवल व्यक्तिको उपस्थिति होइन, यो त नेपालबाट प्रवाहित हुने आध्यात्मिक चेतनाको पुनःस्थापना हो ।

कार्यक्रममा चीनमा रहेका नेपाली समुदाय, प्राध्यापक, डाक्टर, पत्रकार, विद्यार्थी, व्यापारी, लेखक, वैज्ञानिक तथा चिनियाँ नागरिकको उपस्थिति थियो ।

गुरुको प्रस्तुति विशेषगरी ध्यान, आत्मचेतना, ऊर्जा सन्तुलन र जीवनको आन्तरिक अर्थको खोजीजस्ता विषयहरूमा केन्द्रित देखिन्छ । आधुनिक चिनियाँ समाजले तीव्र आर्थिक विकास र प्रविधिगत उन्नतिलाई अँगालेको छ । सँगसँगै चीनमा मानसिक शान्ति, आत्मिक सन्तुलन र जीवनको गहिरो अर्थ खोज्ने चाहना पनि समानान्तर रूपमा बढिरहेको छ ।

चीनले गरेको आर्थिक उन्नतिलाई प्रस्ट पार्दै गुरुले साङ्केतिक रूपमा ‘चीनबाट नेपाल जाने भरि र नेपालबाट आउने खाली कन्टेनरमा योग साधना र अध्यात्म आउनुपर्ने’ बताए । भगवान् रजनीश ओशोलाई उद्धृत गर्दै गुरुदेवले थपे– मानिसको जीवनमा अनेकौँ दुःख छन्, त्यसको एक मात्र उपचार हो– ध्यान ।

FB_IMG_1776873759265

आजको युगको शान्ति, आनन्द र ध्यान समाधिका सूत्रधार ब्रह्मज्ञानी गुरु हुन्– ओशो । आज अध्यात्मको नाममा जति गुरुहरू र सङ्घसंस्था जन्मेका छन्, करिबकरिब सबै ओशोको शिक्षादीक्षाबाट प्रभावित भएर उनकै विधि अनुसरण गरिएका छन् । फरक यत्ति हो कि अहङ्कारवश ‘म ओशोको शिष्य हुँ’ भन्न सकेका छैनन् ।

त्यसैले आजको २१औँ शताब्दीको व्यस्त तथा तनावले ग्रसित मानव जगत्का लागि ओशोको ध्यान विधि नै मूलको पानीजस्तै स्वच्छ, पवित्र र एकमात्र मार्ग हुन सक्छ भन्नेमा दुईमत छैन । मलाई गर्व छ, म ओशोकी साधिका हुँ ।

मलाई लाग्छ, नेपालको आरोग्य पर्यटन चीनका गाउँगाउँमा पुग्नुपर्छ । नेपालका हरेक मठमन्दिर, चैत्य, गुम्बामा आरोग्य केन्द्र स्थापना गर्नुपर्छ । आरोग्यानुभूति गर्न चिनियाँ नागरिक नेपाल आउनुपर्छ । यो व्यस्त समयमा अधिकांश मानिसमा मानसिक अवसाद तथा विक्षिप्तपना बढेको देखिन्छ । यस्तो अवस्थामा ध्यान, योग, साधनाले महत्त्वपूर्ण भूमिका खेलेको हुन्छ । यस सन्दर्भमा नेपाली आध्यात्मिक दृष्टिकोणले चिनियाँ नागरिकहरूलाई केवल वैकल्पिक अभ्यास मात्र होइन, जीवनको समग्र दृष्टि प्रदान गर्ने प्रशस्त सम्भावना बोकेको छ ।

चिनियाँहरूको आध्यात्मिक आरोग्य पर्यटन गन्तव्य नेपाल हो । नेपालले चिनियाँ भाषा, संस्कृति समेटेर पर्यटकीय पूर्वाधार निर्माण गर्नुपर्छ भने चीनले यो लक्ष्यमा सहयोग गर्नुपर्छ । चिनियाँहरूले नेपाललाई माया गरेर नेपाल भ्रमण गरे पुग्छ । चीनले चिन्नुपर्छ– नेपालभित्र सानो चीन छ ।

चीनमा नेपालको ओशोधारा सङ्घले उपस्थिति पाउनु केवल आध्यात्मिक प्रस्तुति मात्र होइन, यो नेपालले आफ्नो सांस्कृतिक र आध्यात्मिक पहिचानलाई विश्वमञ्चमा पुनःस्थापित गर्ने अवसर पनि हो ।

यसलाई रणनीतिक रूपमा अगाडि बढाइयो भने, यसले नेपाल–चीन सम्बन्धलाई नयाँ गहिराइ दिन सक्छ । विकास केवल पूर्वाधार र व्यापारमा सीमित नहुने, बरु आत्मा र चेतनाको तहसम्म फैलिनेछ । यही बिन्दुमा नेपालको वास्तविक शक्ति अर्थात् आध्यात्मिक धरोहर विश्वका लागि एक सान्दर्भिक र आवश्यक आवाज बन्न सक्छ ।

यसले नेपाल–चीनबीचको पर्यटकीय आध्यात्मिक सम्बन्ध प्रगाढ बन्न सक्छ । नेपाल–चीन सम्बन्ध नयाँ उचाइमा पुग्न सक्छ । म त यही माटोको फूल हुँ । मलाई सुन्दर फूल भएर नै फुल्नु छ, वासना छर्नु छ । नेपाल–चीन सम्बन्धको फूलबारीमा एउटा सानो कोपिलाझैँ हुर्कनु छ, फुल्नु छ र झर्नु छ ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

सञ्जु दाहाल
सञ्जु दाहाल
लेखकबाट थप