मकवानपुरका दुध उत्पादक किसानको १४ करोडभन्दा बढी भुक्तानी बक्यौता
सारांश
- मकवानपुरका दुध उत्पादक किसानले दुध बिक्री गरेबापत पाउनुपर्ने करिब १४ करोड ३५ लाख रुपैयाँ भुक्तानी नपाउँदा गम्भीर आर्थिक सङ्कटमा परेको गुनासो गरेका छन् ।
- जिल्ला दुग्ध उत्पादक सहकारी संघका अनुसार ११ डेरी उद्योगले किसानलाई कुल १४ करोड ३५ लाख ६३ हजार ४९० रुपैयाँ भुक्तानी गर्न बाँकी छ, जसमा शुभ डेरी इन्डष्ट्रिज प्रा.लि. र गायत्री डेरी इन्डष्ट्रिज प्रालिले मात्रै ११ करोडभन्दा बढी बक्यौता तिर्न बाँकी छ ।
- जिल्ला प्रशासन कार्यालय मकवानपुरले आगामी असार मसान्तभित्र ६५ प्रतिशत र असोज मसान्तभित्र बाँकी रकम भुक्तानी गर्न निर्देशन दिएको छ ।
मकवानपुर । मकवानपुरका दुध उत्पादक किसानले दुध बिक्री गरेबापत पाउनुपर्ने करिब १४ करोड ३५ लाख रुपैयाँ भुक्तानी नपाउँदा गम्भीर आर्थिक सङ्कटमा परेको गुनासो गरेका छन् । किसानबाट दुध सङ्कलन गर्दै आएको जिल्ला दुग्ध उत्पादक सहकारी संघ मकवानपुरका अनुसार केही उद्योगले २०७८ सालदेखि नै किसानको रकम भुक्तानी रोकेर राखेका छन् ।
सहकारी संघका व्यवस्थापक दामोदर अधिकारीका अनुसार मकवानपुरमा सञ्चालित ११ डेरी उद्योगले किसानलाई कुल १४ करोड ३५ लाख ६३ हजार ४९० रुपैयाँ भुक्तानी गर्न बाँकी छ । उनले हेटौंडा उपमहानगरपालिका वडा नम्बर ९ मा रहेको शुभ डेरी इन्डष्ट्रिज प्रा.लि. र हेटौंडा–२ मा रहेको गायत्री डेरी इन्डष्ट्रिज प्रालिले मात्रै किसानलाई ११ करोडभन्दा बढी बक्यौता तिर्न बाँकी रहेको बताए ।
उनका अनुसार किसानलाई सबैभन्दा बढी शुभ डेरी इन्डष्ट्रिज प्रा.लि.ले ६ करोड ७० लाख ७६ हजार ४ सय रुपैयाँ भुक्तानी दिन बाँकी छ भने गायत्री डेरी इन्डष्ट्रिज प्रा.लि.ले ४ करोड ४९ लाख ४४ हजार ८७३ रुपैयाँ भुक्तानी दिन बाँकी छ । ती उद्योगले २०८२ जेठ १६ गतेदेखि किसानको भुक्तानी रोकेर राखेको उनको भनाइ छ ।
यस्तै स्यार्सेकालिका डेरीले १ करोड ६ लाख १६ हजार ४६३ रुपैयाँ, कल्पवृक्ष डेरी प्रा.लि.ले ६५ लाख ५७ हजार ३३६ रुपैयाँ, पवित्र मिल्क एण्ड फुड्स प्रा.लि.ले ४३ लाख ३१ हजार ४५ रुपैयाँ र एस.के डेरी उद्योगले २५ लाख २८ हजार ७०७ रुपैयाँ दिन बाँकी छ । भुटनदेवी डेरी फर्मले २२ लाख ३३ हजार ७७९ रुपैयाँ, अनुश्री सप्लायर्सले १९ लाख ७५ हजार ९९२ रुपैयाँ, कविता डेरी तथा जुस उद्योगले १२ लाख ४२ हजार ५६६ रुपैयाँ, नारायणी मिल्क एण्ड फुड्स प्रा.लि.ले १० लाख ३२ हजार ६१० रुपैयाँ र पिज्जा कटर प्रा.लि.ले ७ लाख २३ हजार ७१९ रुपैयाँ किसानलाई भुक्तानी गर्न बाँकी छ ।
‘उधारोमा दुध, नगदमै बिक्री’ किसानमाथि अन्याय
दुध बिक्री गरेर जीविकोपार्जन गर्दै आएका किसानहरू लामो समयदेखि रकम नपाउँदा दैनिक खर्च धान्नसमेत समस्या परेको बताउँछन् । उत्पादन लागत बढ्दै गएको अवस्थामा भुक्तानी नआउँदा किसान ऋणमा डुब्ने अवस्था सिर्जना भएको उनीहरूको गुनासो छ ।
जिल्ला दुग्ध उत्पादक सहकारी संघका अध्यक्ष हरिप्रसाद कँडेलका अनुसार उद्योगीहरूले किसानसँग उधारोमा दुध खरिद गर्ने तर बजारमा नगदमै बिक्री गर्ने प्रवृत्तिले किसानमाथि अन्याय भइरहेको छ । उद्योगहरूको उक्त प्रवृत्तिले कृषकहरूको मनोबल घट्दै जानुको साथै पेसाबाट नै पलायन हुने अवस्थामा पुगेको उनले बताए ।
जिल्ला प्रशासन कार्यालय मकवानपुरले आगामी असारसम्ममा कृषकहरूको बक्यौता रकममध्ये ६५ प्रतिशत भुक्तानी गर्न निर्देशन दिएको छ । सर्वपक्षीय छलफल गरी प्रशासन कार्यालयले दुग्ध उत्पादक किसानको भुक्तानी रोक्ने उद्योगहरूलाई असार मसान्तभित्र कम्तीमा ६५ प्रतिशत बक्यौता रकम अनिवार्य भुक्तानी गर्न निर्देशन दिएको हो ।
‘किसानले बिहान–बेलुका दुःख गरेर उत्पादन गरेको दुध उद्योगले उठाउँछन् । उपभोक्तालाई नगदमा बेचिन्छ, तर किसानले महिनौँसम्म पैसा पाउँदैनन्,’ कँडेलले भने, ‘यसले किसानको मनोबल घटाएको छ । कतिपय त पशुपालन नै छाड्ने अवस्थामा पुगेका छन् । भुक्तानी नपाउँदा किसानहरू पशुचारा खरिद, पशु उपचार र दैनिक घरखर्च चलाउनसमेत समस्या भोगिरहेका छन् ।’
अध्यक्ष कडँडेलका अनुसार धेरै किसान ऋण लिन बाध्य भएका छन् भने केहीले गाईभैँसी बेच्ने तयारीसमेत थालेका छन् । उनले मकवानपुरमा करिब ११ हजार किसान दुग्ध व्यवसायमा आबद्ध रहेको बताए । जिल्ला दुग्ध उत्पादक सहकारी संघमार्फत ४२ डेरी उद्योगसँग कारोबार हुँदै आएको छ, तर पछिल्ला वर्षहरूमा भुक्तानी समस्या चुलिँदै गएको उनले बताए ।
असार मसान्तभित्र ६५ प्रतिशत र असोजभित्र बक्यौता चुक्ता गर्न निर्देशन
यसैबिच जिल्ला प्रशासन कार्यालय मकवानपुरले आगामी असारसम्ममा कृषकहरूको बक्यौता रकममध्ये ६५ प्रतिशत भुक्तानी गर्न निर्देशन दिएको छ । सोमबार सर्वपक्षीय छलफल गरी प्रशासन कार्यालयले दुग्ध उत्पादक किसानको भुक्तानी रोक्ने उद्योगहरूलाई असार मसान्तभित्र कम्तीमा ६५ प्रतिशत बक्यौता रकम अनिवार्य भुक्तानी गर्न निर्देशन दिएको हो ।
बाँकी रकम भने असोज मसान्तसम्म पूर्ण रूपमा तिर्नुपर्ने सहमति गराइएको मकवानपुरका प्रमुख जिल्ला अधिकारी बसन्त अधिकारीले बताए । सहमति कार्यान्वयन नभए प्रशासन प्रक्रिया अनुसार अघि बढ्ने उनको भनाइ छ ।
‘तोकिएको समयसीमाभित्र भुक्तानी नगरे प्रशासनबाट कारबाही हुन्छ । उद्योग प्रवर्द्धनमा सरकार सकारात्मक रहे पनि किसानको हकहितमा सम्झौता हुँदैन,’ उनले भने ।
यता छलफलका क्रममा उद्योगीहरूले बटर, चिजलगायत दुग्धजन्य वस्तु लामो समयसम्म स्टकमै बस्ने र बजारीकरणमा समस्या देखिएकाले नगद प्रवाहमा कठिनाइ भएको बताएका थिए । दुग्धजन्य वस्तु लामो समयसम्म बजारमा स्टक रहेकै कारण किसानलाई समयमै भुक्तानी गर्न नसकेको उनीहरूको दाबी छ ।
गायत्री डेरी इन्डष्ट्रिज प्रालिका सञ्चालक सृजन कोइरालाका अनुसार मकवानपुरमा दुग्ध किसानको बक्यौता बाँकी रहनुमा डेरी उद्योगले निरन्तरको व्यापार घाटा व्यहोर्नु मुख्य कारण हो । उनले बजार समस्याका कारण दुधको भुक्तानीमा ढिलाइ भएको स्वीकार गरे ।
शुभ डेरी इन्डष्ट्रिज प्रालिका प्रमुख ज्ञानराज लामाका अनुसार अन्तर्राष्ट्रिय बजार र लामो उत्पादन चक्रले किसाललाई भुक्तानीमा ढिला भएको हो । उनले आफूहरू छुर्पी उत्पादक उद्योग भएकाले काम गर्ने प्रकृति नै फरक रहेको जिकिर गरेका थिए ।
उनका अनुसार छुर्पी उत्पादन प्रक्रिया लामो हुने भएकाले तत्काल नगद प्रवाह सम्भव हुँदैन । अन्तर्राष्ट्रिय बजारमा उत्पादन पठाएपछि रकम फर्किन पनि समय लाग्ने भएकाले नगद व्यवस्थापनमा समस्या देखिने गरेको उनको भनाइ छ ।
उद्योगले विगत १५ वर्षमा नाकाबन्दी, कोरोना महामारी र आर्थिक मन्दी जस्ता सङ्कट भोगेको उल्लेख गर्दै लामाले हालको अन्तर्राष्ट्रिय परिस्थिति पनि चुनौतीपूर्ण रहेको बताए ।
‘हामीले नेपाली बजारमा कारोबार गर्दैनौँ, हाम्रो मुख्य बजार अन्तर्राष्ट्रिय हो,’ उनले भने, ‘दुध ल्याएर भोलिपल्टै बेच्ने वस्तु होइन छुर्पी । यसको न्यूनतम उत्पादन चक्र ९० दिनको हुन्छ । उत्पादन, प्रशोधन, निर्यात र भुक्तानी फर्किने प्रक्रिया लामो भएकाले किसानलाई भुक्तानीमा ढिलाइ भएको हो । हालको इरान–इजरायल युद्धजस्ता अन्तर्राष्ट्रिय घटनाले समेत हाम्रो बजार र कारोबारमा असर पारिरहेको छ ।’
गायत्री डेरी इन्डष्ट्रिज प्रालिका सञ्चालक सृजन कोइरालाका अनुसार मकवानपुरमा दुग्ध किसानको बक्यौता बाँकी रहनुमा डेरी उद्योगले निरन्तरको व्यापार घाटा व्यहोर्नु मुख्य कारण हो । उनले बजार समस्याका कारण दुधको भुक्तानीमा ढिलाइ भएको स्वीकार गरे ।
उनका अनुसार दुग्धजन्य वस्तुको उत्पादन लागत र बजार मूल्यबिचको ठुलो अन्तरले आर्थिक दबाब सिर्जना गरेको छ, जसले गर्दा उद्योगहरू धराशायी हुने अवस्थामा छन् ।
‘भुक्तानी गर्न नसकेको होइन, तर ढिलाइ भएको हो । पछिल्ला तीन वर्षदेखि उद्योग घाटामा सञ्चालन भइरहेकाले समस्या भएको हो । नौनी उत्पादन गर्दा हाम्रो उत्पादन लागत प्रतिकेजी करिब ८३० रुपैयाँ पर्छ, तर बजारमा थोकमा बेच्दा ७०० रुपैयाँभन्दा माथि लिन सकिने अवस्था छैन,’ उनले भने ।
अहिले पनि करिब १५० रुपैयाँ प्रतिकेजी घाटा खाएर बेचिरहेको कोइरालाको जिकिर छ । अघिल्ला वर्षहरूमा अवस्था झन् खराब रहेको उनले सुनाए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
इङ्ल्यान्डलाई ठुलो झट्का : स्लो ओभर रेटका कारण विश्व टेस्ट च्याम्पियनसिपमा १२ अङ्क गुमायो
-
अत्यधिक गर्मी बढेपछि बेदकाटका विद्यालय चार दिन बन्द
-
बेलायतमा नयाँ नेतृत्वका लागि जुलाई ९ बाट मनोनयन खुल्ने, उत्तराधिकारी नचुनिएसम्म स्टार्मर नै प्रधानमन्त्री रहने
-
हरमनप्रितको ऐतिहासिक २००औँ खेल
-
पदबाट राजीनामा दिने क्रममा परिवारको प्रसङ्ग निकाल्दै भावुक बने कीर स्टार्मर
-
पुष्पा २ प्रिमियर भागदौड प्रकरण : अभिनेता अल्लू अर्जुन अदालतमा भर्चुअली उपस्थित हुँदै
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण