शुक्रबार, ०५ असार २०८३
ताजा लोकप्रिय

गर्मीमा एसी पड्किन नदिन अपनाउनुस् यस्ता उपाय

आइतबार, २० वैशाख २०८३, १५ : १२
आइतबार, २० वैशाख २०८३

सारांश

  • दिल्लीको विवेक विहारमा आगलागीको मुख्य कारण एसी विस्फोट मानिएको छ, जसमा एउटै घरका ९ जनाको मृत्यु भएको थियो ।
  • गर्मीयाममा एसी विस्फोटका खबरहरू बारम्बार आउने गर्छन्, जसको मुख्य कारण सर्ट सर्किट, कम्प्रेसरमा दबाब वा अत्यधिक तातो हुनु हो ।
  • पुरानो एसीको नियमित सर्भिसिङ, वायरिङ जाँच, ओभरलोडिङबाट बच्ने, अनौठो आवाज र ग्यास चुहावटमा ध्यान दिने, आउटडोर युनिटको हेरचाह, निरन्तर नचलाउने, भोल्टेज स्टेबिलाइजर जडान, प्रमाणित प्राविधिकबाट मर्मत गराउने र ५-१० वर्ष पुरानो एसी बदल्ने जस्ता उपाय अपनाएर दुर्घटना रोक्न सकिन्छ ।

काठमाडौँ । शनिबार अबेर रात दिल्लीको विवेक बिहार क्षेत्रमा आगलागीमा परेर एउटै घरका ९ जनाको मृत्यु भयो । आगलागीको मुख्य कारण एसी विस्फोट मानिएको छ, घटनाबारे अनुसन्धान भइरहेको छ ।

गर्मीयाममा एसी विस्फोटका खबरहरू बारम्बार आउने गर्छन् । कहिलेकाहीँ, एसीको तारमा सर्ट सर्किट, कम्प्रेसरमा दबाब वा अत्यधिक तातो हुँदा आगो लाग्न सक्छ । धेरै वर्षदेखि एउटै एयर कन्डिसनर प्रयोग गर्नेहरू सतर्क हुनुपर्छ ।

एसी विस्फोट कसरी रोक्ने ?

पुरानो एयर कन्डिसनर (एसी)को लामो समयसम्म प्रयोग गरिरहनुभएको छ तर उचित मर्मतसम्भार गर्न भ्याउनुभएको छैन भने ओभरहिटिङ, सर्ट सर्किट वा ग्यास चुहावटजस्ता कारणले आगो वा विस्फोटको जोखिम बढाउन सक्छ । यद्यपि, केही सावधानी अपनाएर तपाईंले त्यस्ता दुर्घटनाहरूलाई उल्लेखनीय रूपमा रोक्न सक्नुहुन्छ ।

  • नियमित सर्भिसिङ

तपाईं ५–१० वर्षदेखि एउटै एसी प्रयोग गर्दै आउनुभएको छ र यो समस्यामुक्त छ भन्ने विश्वास गर्नुहुन्छ भने तपाईं अझै पनि सतर्क रहनु आवश्यक छ । हरेक छ महिनामा आफ्नो एसको सर्भिसिङ गराउनुहोस् । विशेष गरी, गर्मी सुरु हुने बित्तिकै पुरानो एसी आफैं सफा गर्ने प्रयास नगर्नुहोस् । जाडोमा ५–६ महिनासम्म एसी प्रयोग नहुँदा त्यसभित्र धेरै धुलो र फोहोर जम्मा भएर बसेको हुन्छ । यसलाई आफैं सफा गर्न सकिँदैन । 

  • वायरिङ र प्लग जाँच

तपाईं घरमा बस्नुहुन्छ र स्प्लिट एसी छ भने सधैं यसको चेकजाँच गर्नुहोस् । एसीको बाह्य युनिट, प्रायः बाल्कनी वा टेरेसमा जडान गरिएको हुन्छ । गर्मीमा यो धेरै तातो हुन सक्छ र विस्फोट हुन सक्छ । आफ्नो पुरानो एसीको वायरिङ जाँच गर्नु राम्रो हुन्छ । तपाईंले कुनै समस्या देख्नुभयो भने यसलाई विशेषज्ञबाट मर्मत गराउनुहोस् । तपाईंले कुनै अनौठो गन्ध महसुस गर्नु भयो भने तुरुन्तै एसी बन्द गर्नुहोस् । जलेको दाग, स्पार्क, वा खुकुलो प्लगहरू देख्नुभयो भने तिनीहरूको तुरुन्तै मर्मत गराउनुहोस् । सस्तो वा स्थानीय वायरिङबाट बच्नुहोस् ।

  • ओभरलोडिङबाट बच्नुहोस्

एउटै सकेट वा एक्सटेन्सन कर्डमा धेरै भारी उपकरणहरू प्लग नगर्नुहोस् । एसीको लागि छुट्टै पावर लाइन र एमसीबी राख्दा पनि तपाईं र तपाईंको घरको लागि धेरै सुरक्षा हुन्छ ।

  • अनौठो आवाजलाई बेवास्ता नगर्नुहोस्

एसी चलाएर चिसो हावामा आरामसँग सुतिरहनुभएको छ, र अचानक अनौठो आवाज वा गन्ध थाहा पाउनु भयो भने एसी बन्द गरिहाल्नुस् । प्राविधिकलाई बोलाएर यसलाई ठीक गर्नुहोस् ।

  • ग्यास चुहावटमा ध्यान दिने

यदि कोठा सही तरिकाले चिसो भएको छैन भने यो रेफ्रिजरेन्ट चुहावटको संकेत हुन सक्छ । यसलाई सकेसम्म चाँडो ठीक गर्नुहोस् । नत्र तपाईंले एसी भएर पनि गर्मीकै दिन बिताउनुपर्नेछ ।

  • आउटडोर युनिटमा ध्यान

मानिसहरू प्रायः भित्री एकाइ सफा गर्नमा ध्यान केन्द्रित गर्छन् तर बाहिरी एकाइलाई सफा गर्न बिर्सन्छन् । तर सबैभन्दा ठूलो खतरा यही हुन्छ । लगातार एसी नचलाउनुस् । एसी तात्छ भने टाइमर सेट गरेर चलाउनुस् । बाहिरी एकाइ वरिपरि धुलो, पात वा फोहोर जम्मा हुन नदिनुस् । फोहोर जम्मा भयो भने हिट सही तरिकाले बाहिर निस्किन सक्दैन र मेसिन धेरै तात्छ । 

  • निरन्तर नचलाउने

धेरै मानिसहरूले एसीलाई २४ घण्टा नै चलाइराख्छन् । एसी पुरानो हो भने यसरी चलाउँदा यसको कम्प्रेसरमा दबाब बढाउँछ । बेला बेलामा एसी बन्द गर्नुहोस् ।

  • भोल्टेज स्टेबिलाइजर जडान

कहिलेकाँही बिजुलीमा धेरै उतारचढाव हुन्छ । कहिले कम त कहिले धेरै भोल्टेज आइरहेको हुन सक्छ । यस्तो अवस्थामा सर्ट सर्किट वा विस्फोटको जोखिम हुन्छ । यी जोखिम कम गर्न आफ्नो पुरानो एसीमा भोल्टेज स्टेबिलाइजर जडान गर्न नभुल्नुस् ।

  • स्थानीय प्राविधिकबाट आफ्नो एसी मर्मत नगर्नुहोस्

पुरानो एसीको लागि सधैं प्रमाणित प्राविधिको भर गर्नुस् । केही मानिसहरूले सस्तो तार र पार्टपुर्जाहरू प्रयोग गर्छन्, जसले जोखिम बढाउन सक्छ ।

  • एसी बदल्नुहोस्

तपाईंले ५–१० वर्षदेखि एउटै एसी प्रयोग गरिरहनुभएको छ भने यसलाई बदल्नु राम्रो हुन्छ । पुरानो एसीमा सुरक्षा र दक्षता दुवै कम हुन्छ ।

एसीमा आगलागी र विस्फोट सामान्य कुरा होइन । यस्ता दुर्घटनाहरू दुर्लभ हुन्छन् । तर यसको मतलब तपाईंले लापरवाही गर्दा पनि हुन्छ भन्ने चाहिँ होइन । कमजोर मर्मतसम्भार र लापरवाहीले जोखिम बढाउँछ । अरूलाई दोष दिनुको सट्टा, थोरै आफैंले थोरै सावधानी अपनाउनु राम्रो हुन्छ । समय समयमा हेरचाह गर्नाले भवितव्यबाट तपाई र तपाईको परिवार जोगिनुहुनेछ । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

एजेन्सी
एजेन्सी
लेखकबाट थप