मेटाको ‘स्मार्ट ग्लासेस’ विवादमा : प्रयोगकर्ताका आपत्तिजनक भिडियो हेर्न बाध्य पारिएको खुलासा
सारांश
- फेसबुकको मातृ कम्पनी मेटा रे-ब्यान स्मार्ट ग्लासेसका प्रयोगकर्ताका आपत्तिजनक भिडियो हेर्न बाध्य पारिएको भन्दै गोपनीयता र श्रम विवादमा परेको छ।
- केन्यास्थित आउटसोर्सिङ कम्पनी सामाका कर्मचारीहरूले प्रयोगकर्ताका शौचालय गएका, नग्न भएका र यौन सम्पर्कमा लिप्त भएका दृश्यहरू समेत एआई तालिमका लागि हेर्नुपरेको खुलासा गरेका छन्।
- गोपनीयता उल्लंघनको खुलासापछि मेटाले सामासँगको सम्झौता रद्द गर्दा १ हजार १०८ कर्मचारीको जागिर धरापमा परेको छ भने डाटा सुरक्षा नियामकहरूले अनुसन्धान सुरु गरेका छन्।
नैरोबी । फेसबुकको मातृ कम्पनी मेटा फेरि एकपटक गम्भीर गोपनीयता र श्रम विवादको घेरामा परेको छ।
आफ्नो आर्टिफिसियल इन्टेलिजेन्स (एआई) लाई तालिम दिने केन्यास्थित आउटसोर्सिङ कम्पनी ‘सामा’ सँगको सम्झौता मेटाले अचानक रद्द गरेपछि यो विवाद सतहमा आएको हो।
यो विवादको जड मेटाले भर्खरै बजारमा ल्याएको रे-ब्यान स्मार्ट ग्लासेससँग जोडिएको छ। केन्यामा कार्यरत सामाका कर्मचारीहरूले ती चस्मा प्रयोग गर्ने प्रयोगकर्ताहरूका अत्यन्तै निजी र आपत्तिजनक भिडियोहरू हेर्न आफूहरूलाई बाध्य पारिएको सनसनीपूर्ण खुलासा गरेका छन्।
दुई स्वीडिश अखबारहरूमा प्रकाशित रिपोर्ट अनुसार, कर्मचारीहरूले प्रयोगकर्ताहरू शौचालय गएको, नग्न भएको र यौन सम्पर्कमा लिप्त भएका दृश्यहरू समेत देख्नुपरेको थियो। चस्मामा रेकर्ड भएका ती दृश्यहरूलाई एआईले बुझ्ने गरी ‘लेबलिङ’ गर्न कर्मचारीहरूलाई प्रयोग गरिन्थ्यो।
एक कर्मचारीले आफ्नो अनुभव सुनाउँदै भनेका छन्, ‘हामीले प्रयोगकर्ताको लिभिङ रुमदेखि नग्न शरीरसम्म सबै कुरा देख्छौँ।’ अर्को घटनामा, एक प्रयोगकर्ताले आफ्नो बेडरूममा चस्मा रेकर्डिङ मोडमै छाड्दा उनकी श्रीमतीले लुगा फेरेको दृश्य समेत रेकर्ड भएको र त्यो एआई तालिमका लागि केन्या पठाइएको खुलासा भएको छ।
यी तथ्यहरू सार्वजनिक भएलगत्तै मेटाले सामासँगको सम्झौता तोडेको छ, जसका कारण १ हजार १०८ कर्मचारीको जागिर धरापमा परेको छ। केन्याको ट्रेड युनियनले भने कर्मचारीहरूले गोपनीयताको कुरा बाहिर ल्याएकै कारण प्रतिशोध साध्न मेटाले सम्झौता रद्द गरेको आरोप लगाएको छ। यद्यपि, मेटाले भने सामाले कम्पनीको मापदण्ड पूरा नगरेकाले सम्झौता तोडिएको दाबी गरेको छ।
मेटाले प्रयोगकर्ताको अनुभव राम्रो बनाउन र एआईलाई थप प्रभावकारी बनाउन मानवीय समीक्षा आवश्यक पर्ने र यसका लागि प्रयोगकर्ताको सहमति लिइने तर्क गरेको छ। तर, बेलायत र केन्याका डाटा सुरक्षा नियामकहरूले यसलाई 'चिन्ताजनक' भन्दै अनुसन्धान सुरु गरिसकेका छन्।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
सानोभेरी नदीमा अस्पतालका सुरक्षा गार्ड मृत फेला
-
माछा मार्ने क्रममा करेन्ट लागेर एकको मृत्यु
-
५ हजार शुल्क महँगो भएको प्रतिनिधिको गुनासो, तर भन्छन्, ‘भ्रष्टाचार रोक्न आफैँ खर्च गर्छौं’
-
लागुऔषधसहित वडासदस्य जैरू पक्राउ
-
वडाध्यक्षमाथि हातपात गरेको आरोपमा पत्रकार कुँवर पक्राउ
-
बन्द सत्रमा कडा सुरक्षा : बाउन्सरदेखि मेटल डिटेक्टरसम्म परिचालन
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण