मधेसमा लागुऔषधको जालो फैलिँदो
सारांश
- मधेस प्रदेशमा लागुऔषध दुर्व्यसन एक गम्भीर सामाजिक समस्याको रूपमा देखा परेको छ, जसको मुख्य कारण भारतसँगको खुला सीमा हो।
- यस समस्यालाई नियन्त्रण गर्न र सेवनकर्ताको सुधार तथा पुनर्स्थापनाका लागि मधेस प्रदेश प्रहरीले 'लागुऔषध सेवनकर्ता खोजी एवं सुधार महाअभियान २०८३' सुरु गरेको छ।
- अभियानले लागुऔषध नियन्त्रण, सेवनकर्ताको पहिचान, सुधार केन्द्रसम्म पुर्याउने र समाजमा पुनर्स्थापित गर्ने लक्ष्य राखेको छ।
जनकपुरधाम । मधेस प्रदेशमा केही वर्ष यता लागुऔषध दुर्व्यसन गम्भीर सामाजिक समस्याको रूपमा देखा पर्दै गएको छ । विशेषगरी भारतसँगको खुला सीमाका कारण लागुऔषध भित्रिने क्रम बढेको र त्यसको असर युवापुस्तामा परिरहेको देखिन्छ ।
गाउँदेखि सहरसम्मका युवा दुर्व्यसनमा फस्दै जाँदा परिवार, समाज चिन्तित बनेका छन् । यही अवस्थालाई ध्यानमा राख्दै मधेस प्रदेश प्रहरीले लागुऔषध नियन्त्रणमात्र नभई सेवनकर्ताको सुधार र पुनर्स्थापनालाई केन्द्रमा राखेर ‘लागुऔषध सेवनकर्ता खोजी एवं सुधार महाअभियान २०८३’ सुरु गरेको छ ।
मधेस प्रदेश प्रहरीका सूचना अधिकारी कमल थापाका अनुसार यो अभियानको मुख्य उद्देश्य लागुऔषध सेवनकर्तालाई पक्राउ गरेर कारबाही गर्नु मात्र होइन, उनीहरूको पहिचान गरी सुधार केन्द्रसम्म पुर्याउनु र समाजमा पुनर्स्थापित गर्नु पनि हो ।
लागुऔषध समस्या केवल कानुनी मुद्दा मात्र नभई सामाजिक र मानसिक समस्याको रूपमा फैलिँदै गएको थापाले बताए ।
प्रदेश प्रहरी प्रमुख डीआइजी गोविन्द थपलियाले अभियानलाई प्रभावकारी बनाउन आठ वटै जिल्लाका प्रहरी प्रमुखलाई स्पष्ट निर्देशन दिएका छन् । उनका अनुसार लागुऔषध नियन्त्रणका लागि अब परम्परागत तरिकाले मात्र सम्भव छैन । त्यसैले पहिचान, निगरानी, नियन्त्रण र सुधारलाई सँगै अगाडि बढाइने उनको भनाइ छ ।

डीआईजी थपलियाले भने, ‘लागुऔषध नियन्त्रण केवल पक्राउ गर्ने विषयमात्र होइन, सेवनकर्तालाई सुधार गरेर समाजमा फर्काउनु पनि हाम्रो मुख्य लक्ष्य हो ।’
मधेस प्रदेशका महोत्तरी, धनुषा, सर्लाही, सिराहा, पर्सा लगायत सीमावर्ती जिल्लामा लागुऔषधको समस्या बढी देखिएको छ । यी क्षेत्रमा भारतसँगको खुला सीमाका कारण ओसारपसार सजिलै हुने गरेको प्रहरीको निष्कर्ष छ । साना नाकादेखि अनधिकृत बाटो प्रयोग गरी लागुऔषध भित्र्याउने गरेको पाइएको प्रहरीको भनाइ छ ।
महोत्तरीका प्रहरी नायब उपरीक्षक शैलेन्द्रकुमार भट्टका अनुसार सीमाबाट भित्रिने लागुऔषध सिधै युवाहरूको हातमा पुग्ने गरेको छ । विद्यालय र कलेज पढ्ने उमेरका किशोरकिशोरीहरू नै यसको बढी सिकार बन्दै गएको उनले बताए ।
साथीभाइको दबाब, बेरोजगारी, पारिवारिक समस्या र जिज्ञासाले सुरु भएको सेवन बिस्तारै लतमा परिणत हुने गरेको उनको भनाइ छ ।
प्रहरी चौकी र सशस्त्र प्रहरीसँग समन्वय गरेर निगरानी कडा बनाइएको भट्टले बताए । उनले भने, ‘मुख्य नाकाहरूमा ड्रग टेस्टिङ चेकपोइन्ट स्थापना गर्ने तयारी गरिएको छ, जहाँ ड्रग टेस्ट किट प्रयोग गरी शंकास्पद व्यक्तिहरूको परीक्षण गरिनेछ ।’
त्यसैगरी सीमाबाट बारम्बार आवतजावत गर्ने व्यक्तिहरूको तथ्याङ्क सङ्कलन गर्ने काम पनि सुरु गरिएको छ । विशेषगरी युवायुवतीहरूको गतिविधि र आवतजावतलाई ध्यानमा राख्दै निगरानी प्रणालीलाई थप व्यवस्थित बनाइने उनले बताए ।
जिल्ला प्रहरी कार्यालय धनुषाका प्रहरी नायब उपरीक्षक गणेशबहादुर बमले सीमापारबाट हुने लागुऔषध तस्करी नियन्त्रण गर्न भारतीय सुरक्षा निकायसँग सूचना आदानप्रदान र संयुक्त निगरानी बढाइएको बताए । उनका अनुसार दुवै देशका सुरक्षा निकायबिच सहकार्य बलियो बनाएर मात्रै सीमाबाट हुने तस्करी रोक्न सकिन्छ ।

तर समस्या नियन्त्रणका लागि प्रहरीको प्रयासमात्र पर्याप्त नहुने स्थानीयहरू बताउँछन् । पिपरा गाउँपालिका–७ बनौलीका रुदल झाले भने, ‘घरमा खानका लागि पैसा छैन, तर छोरा दुर्व्यसनमा फसेपछि सुधार केन्द्रमा लैजान पनि पैसा चाहिन्छ । सरकारले निःशुल्क उपचार र सुधारको व्यवस्था गर्नुपर्छ ।’
त्यस्तै धनुषाको मनरा नगरपालिका–४ की भुली देवीले पनि आफ्ना छोरा दुर्व्यसनमा फसेर परिवार नै सङ्कटमा परेको बताइन् । ‘एउटा छोराको बिहे भइसकेको छ, चार जनाको परिवार छ, तर दुर्व्यसनले सबै बर्बाद बनायो,’ उनले भनिन्, ‘खुला सीमाका कारण सजिलै लागुऔषध पाइन्छ । त्यसैले रोकथामका लागि सरकारी प्रयास प्रभावकारी हुनुपर्छ ।’
स्थानीय तहहरूले पनि समस्या समाधानका लागि पहल थालेका छन् । मनरा नगरपालिकाका मेयर मोहन पाण्डेले विद्यालय स्तरबाटै सचेतनामूलक कार्यक्रम सञ्चालन गरिएको बताए । उनका अनुसार विद्यालय, क्लब र संघसंस्थामार्फत युवाहरूलाई लागुऔषधको असरबारे जानकारी दिइँदैछ।
युवा अभियानी सरोज कुमार मिश्रले लागुऔषध सेवनकर्ताको पहिचान गरेर सुधार केन्द्रसम्म पुर्याउने, परिवारसँग समन्वय गर्ने र समाजमा पुनःस्थापना गर्ने कार्यलाई प्राथमिकतामा राख्नुपर्ने बताए । उनका अनुसार स्थानीय तहले यसमा थप जिम्मेवारी लिन आवश्यक छ ।
मनोविज्ञ डाक्टर रोबिन कुमार झाका अनुसार लागुऔषध समस्या समाधानका लागि बहुआयामिक प्रयास आवश्यक हुन्छ । केवल प्रहरी कारबाहीले मात्र दीर्घकालीन समाधान सम्भव नहुने उनले प्रस्ट पारे । मानसिक स्वास्थ्य सेवा, पुनर्स्थापना केन्द्र, परिवारको साथ र सामाजिक समर्थन पनि उत्तिकै आवश्यक रहने उनको भनाइ छ ।
उनले भने, ‘प्रहरी, स्थानीय तह र समुदायबिच सहकार्य बलियो बनाउन सकेमात्र यो अभियान प्रभावकारी हुन्छ ।’
यता मधेस प्रदेश सरकारका गृह, सञ्चार तथा कानुनमन्त्री फकिरा महतोले लागुऔषध दुर्व्यसन मधेस प्रदेशमा दिन प्रतिदिन गम्भीर समस्या बन्दै गएको बताए । उनले सीमावर्ती क्षेत्रमा कडाइ गर्न र दुर्व्यसनमा फसेका युवाहरूलाई संरक्षण तथा सुधारको दायरामा ल्याउन प्रहरी प्रशासनलाई निर्देशन दिइसकेको बताए ।
उनले भने, ‘खुला सीमाका कारण लागुऔषध भित्रिने समस्या चुनौतीपूर्ण बनेको छ। यसलाई रोक्न सीमामा कडाइ गरिनेछ ।’ साथै दुर्व्यसनमा फसेका युवाहरूका लागि प्रदेश सरकारले नैतिक शिक्षा, सचेतनामूलक कार्यक्रम र सुधार केन्द्रको व्यवस्थापन गरेर समस्या न्यूनीकरणतर्फ काम गर्ने उनको भनाइ छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
ओयार्जाबालको दुई गोलसँगै पहिलो हाफमा साउदी अरेबियाविरुद्ध स्पेनको ३–० को दबदबा
-
स्पेनको आक्रामक सुरुवात, साउदी अरेबियाविरुद्ध ३–० को अग्रता
-
पश्चिम एसियामा सम्बन्ध सदाका लागि बदल्न सकिन्छ : अमेरिकी उपराष्ट्रपति
-
अपराध अनुसन्धानलाई प्रविधिमैत्री बनाउनुपर्छ : मुख्यमन्त्री पाण्डे
-
१० बजे १० समाचार : रविलाई नै सभापति चुन्ने तयारीमा रास्वपा, पार्टीमा विवाद नरहेको सन्देश प्रवाह
-
इरानमाथि भीषण सैन्य हमला गर्ने डोनाल्ड ट्रम्पको चेतावनी
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण