सामसङ परिवारले तिर्यो ८ अर्ब डलर उत्तराधिकार कर
सोल । दक्षिण कोरियाली बहुराष्ट्रिय कम्पनी सामसङको मालिकको परिवारले करिब झन्डै खर्ब वन (झन्डै ८ अर्ब डलर) बराबरको उत्तराधिकार कर तिर्ने प्रक्रिया पूरा गरेको छ । दक्षिण कोरियाको इतिहासमा यो सबैभन्दा ठुलो कर भुक्तानी हो ।
यो कर उक्त समूहका दिवङ्गत अध्यक्ष लि कुन–हिको सम्पत्तिसँग सम्बन्धित हो । लिको सन् २०२० अक्टोबरमा निधन भएको थियो । उनले करिब २६० खर्ब वन बराबरको सेयर, घरजग्गा र कला सङ्ग्रह लगायत सम्पत्ति छाडेका थिए ।
उनका छोरा तथा हालका अध्यक्ष लि जाए–योङसहित उनकी आमा हो रा–ही, दिदिबहिनी लि बू–जिन र लि सेओ–ह्युनले पाँच वर्षको अवधिमा ६ किस्तामा यो कर तिरेका हुन् ।
कम्पनीले आइतबार अन्तिम किस्ता भुक्तानी भएको पुष्टि गर्दै यो रकम सन् २०२४ मा दक्षिण कोरियाले सङ्कलन गरेको कुल उत्तराधिकार कर राजस्वको करिब डेढ गुणा भएको जनाएको छ ।
परिवारले एक विज्ञप्तिमा कर तिर्नु नागरिकको स्वाभाविक कर्तव्य भनेको छ । सामसङ दक्षिण कोरियाको सबैभन्दा ठुलो व्यापारिक घराना हो ।
यसको व्यवसाय इलेक्ट्रोनिक्स, निर्माण, हेभी इन्डस्ट्री र वित्तीय सेवासम्म फैलिएको छ । ब्लुम्बर्ग बिलेनियर इन्डेक्सका अनुसार ली परिवारको कुल सम्पत्ति ४४५ अर्बभन्दा बढी छ ।
पछिल्लो वर्ष विश्वभर कृत्रिम बौद्धिकता (एआई) उद्योगका लागि चिपको माग बढेसँगै सामसुङ इलेक्ट्रोनिक्सको सेयर मूल्य उकालो लाग्दा परिवारको सम्पत्ति दोब्बरभन्दा बढी भएको छ ।
सामसुङ विश्वकै ठुला स्मार्टफोन निर्माता र टिभी उत्पादनकर्तामध्ये एक हो । उन्नत खालको सेमिकन्डक्टर (चिप) उत्पादनमा पनि यो अग्रणी कम्पनी हो ।
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण