आइतबार, ०७ असार २०८३
ताजा लोकप्रिय

सरकारको मुख ताक्ने दिन गए, अब आर्थिक सुधारको नेतृत्व निजी क्षेत्रले गर्नुपर्छ : चन्द्रप्रसाद ढकाल

सोमबार, २१ वैशाख २०८३, १४ : ३३
सोमबार, २१ वैशाख २०८३

सारांश

  • नेपाल उद्योग वाणिज्य महासङ्घका अध्यक्ष चन्द्रप्रसाद ढकालले अब आर्थिक सुधारको नेतृत्व निजी क्षेत्रले नै गर्नुपर्ने बताएका छन्।
  • उनले स्रोतका लागि सरकारको मात्र मुख ताक्ने प्रवृत्ति कम गर्दै आफैँ योजना ल्याएर लगानी र रोजगारी सिर्जनामा अघि बढ्नुपर्नेमा जोड दिए।
  • युवा पलायन रोक्न देशभित्रै उच्च ज्यालासहितको मर्यादित रोजगारी सिर्जना गर्नुको विकल्प नरहेको उनले बताए।

काठमाडौँ । नेपाल उद्योग वाणिज्य महासङ्घका अध्यक्ष चन्द्रप्रसाद ढकालले अब आर्थिक सुधारको नेतृत्व निजी क्षेत्रले नै गर्नुपर्ने बताएका छन्। महासङ्घको ६०औँ वार्षिक साधारण सभाको उद्घाटन सत्रलाई सोमबार सम्बोधन गर्दै अध्यक्ष ढकालले यस्तो बताएका हुन्। 

उनले स्रोतका लागि सरकारको मात्र मुख ताक्ने प्रवृत्ति कम गर्दै आफैँ योजना ल्याएर लगानी र रोजगारी सिर्जनामा अघि बढ्नुपर्नेमा जोड दिए। महासङ्घको ६० वर्षको यात्रा वर्षको गणना मात्र नभई मुलुकको आर्थिक इतिहास, दृढ सङ्कल्प र राष्ट्रिय समृद्धिको सुनौलो घर निर्माणको जग भएको उनले बताए । 

जस्तोसुकै राजनीतिक अस्थिरता, दैवी प्रकोप र आर्थिक चुनौतीहरूबिच पनि महासङ्घले प्रत्येक चुनौतीलाई अवसरमा बदल्दै देशको आर्थिक गतिलाई अघि बढाएको उनले स्मरण गरे। 

नीतिगत सुरक्षा र आर्थिक सुधारमा सरकारको कदमको स्वागत

अध्यक्ष ढकालले वर्तमान स्थायी सरकारले महासङ्घको मागबमोजिम निजी क्षेत्र प्रवर्द्धन एवं संरक्षण रणनीति (पिएसपीपी) पारित गरी लागू गर्ने निर्णय गरेकोमा प्रधानमन्त्री र अर्थमन्त्रीप्रति आभार व्यक्त गरे । यसले निजी उद्यम र व्यवसायीलाई भौतिक मात्र नभई नीतिगत सुरक्षाको ग्यारेन्टी गर्ने उनको भनाइ छ । 

त्यसैगरी, महासङ्घकै पहलमा गठित उच्चस्तरीय आर्थिक सुधार सुझाव आयोगका सुझावहरूलाई ग्रहण गर्दै अर्थमन्त्रीले केही बाधक कानुन खारेजीको प्रक्रिया अघि बढाएकोमा उनले खुसी व्यक्त गरे ।

संसद्‌मा झण्डै दुई तिहाइको उपस्थिति रहेको वर्तमान सरकारको स्थायित्वलाई मुलुकको विकासको अवसरका रूपमा सदुपयोग गर्नुपर्नेमा उनले जोड दिए। 

युवा पलायन रोक्न स्वदेशमै उच्च ज्यालाको रोजगारी आवश्यक

अध्यक्ष ढकालले नेपालमा २५ वर्षको (मिडियन) उमेर समूहका युवाहरू रहे पनि वार्षिक करिब ७ लाख युवा कामको खोजीमा बिदेसिनु परेको तीतो यथार्थ प्रस्तुत गरे ।

युवाहरूका चाहना पूरा गर्न र निराशालाई आशामा बदल्न देशभित्रै उच्च ज्यालासहितको मर्यादित रोजगारी सिर्जना गर्नुको विकल्प नरहेको उनले बताए । 

मुलुकको ८६ प्रतिशत रोजगारी अहिले पनि निजी क्षेत्रले नै दिइरहेको स्मरण गराउँदै उनले सरकारका सबै निकायको मुख्य उद्देश्य लगानीको वातावरण बनाउने हुनुपर्ने बताए । 

विदेशी लगानीका लागि सुशासन पहिलो सर्त

विदेशी लगानी (एफडीआई) भित्र्याउन सुशासन पूर्वसर्त रहेको बताउँदै उनले सुशासन कायम गर्न प्रविधिको उच्चतम प्रयोग र सदाचारलाई बढावा दिनुपर्ने बताए । 

नागरिक एपबाटै व्यवसाय दर्तादेखिका सम्पूर्ण काम गर्न सकिने व्यवस्था मिलाउन उनले सरकारको ध्यानाकर्षण गराएका छन्। 

अध्यक्ष ढकालले विगतमा भूकम्प र कोभिड–१९ जस्ता महामारीबाट थला परेको अर्थतन्त्र र व्यवसाय उठेर आएको उदाहरण दिँदै उद्योगी व्यवसायीलाई सकारात्मक सोचका साथ अघि बढ्न आह्वान गरे । 

‘म प्रतिकूलतामा अनुकूलता खोज्ने व्यक्ति हुँ, चुनौतीका चाङहरूबाटै अवसर पहिल्याएर अघि बढ्दै यहाँसम्म आएको हुँ,’ उनले भने,‘कालो रातपछि सुनौलो बिहानी आउँछ । हामीसँग धैर्यता छ र अनेक झरी बादल झेलेर अघि बढ्न सक्ने क्षमता छ । त्यसैले सिर्जनात्मक कामका साथ निरन्तर अघि बढ्न म सबै व्यवसायी साथीहरूलाई आग्रह गर्दछु ।’

आगामी आर्थिक वर्षको नीति तथा कार्यक्रम एवं बजेटलाई सुधारको प्रस्थानविन्दुका रूपमा ल्याउन पनि उनले सरकारसँग आग्रह गरेका छन्।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप