प्रभात लामा : पात्रको नामले चिनिएका कमेडियन
सारांश
- कमेडियन प्रभात लामा आफ्नो वास्तविक नामभन्दा 'नक्कली सुधन गुरुङ' पात्रको नामले दर्शकमाझ बढी चिनिएका छन् ।
- उनले सुधन गुरुङको क्यारेक्टरलाई व्यक्ति नभई 'सिस्टम' माथिको व्यङ्ग्यको रूपमा प्रस्तुत गरेका छन् ।
- प्रभात लामा सञ्चारकर्मी पनि हुन् र उनले रेडियोमा आरजे तथा हास्य-व्यंग्य कार्यक्रम प्रस्तोताको रूपमा काम गरिसकेका छन् ।
काठमाडौँ । आफ्नो नामबाट भन्दा बढी पात्रको नामबाट चिनिनु कलाकारको सफलताको एक खालको मानक हो, खासगरी अभिनेता-अभिनेत्री र कमेडियनका लागि । कमेडियन प्रभात लामाको हकमा पनि यस्तै भइरहेको छ । उनी प्रभात लामाभन्दा कमेडी शोमा प्रस्तुत हुने पात्रको नामले दर्शकमाझ बढी लोकप्रिय छन् । कुनैबेला राजेन्द्र खड्गी, राजेश हमाल, महावीर पुनको पात्र बनेर चिनिएका उनी अहिले ‘नक्कली सुधन गुरुङ’ उपनामले सर्वत्र छाएका छन् ।
रातोपाटी पडकास्ट ‘टक फर्वार्ड’मा अन्तर्वार्ताका लागि आउँदै गर्दा ‘न्युज रूम’मा उनले कमेडी शैलीमै ‘म सुधन गुरुङ’को अभिनय गर्ने मान्छे है’ भनेर परिचय दिए । यसले वास्तविक नामभन्दा पात्रको नामले जनमानसमा कति प्रभाव पारेको रहेछ भन्ने बुझ्न सकिन्छ ।
स्टुडियोमा बसेपछि उनलाई सुरूमै सोधियो- दुईपटक सुधन गुरुङ बन्नुभएछ, तपाईंलाई बाहिर हिँड्दा पनि मान्छे झुक्किन्छन् होला है ?
उनको सपाट जवाफ थियो, ‘अहिले सार्वजनिक स्थलमा हिँड्दा मानिसहरूले सुधन गुरुङ यही हो कि क्या हो भनेर हेर्नुहुन्छ । कतिले बोल्ने आँट गर्नुहुन्छ, कतिले टाढैबाट नियाल्नुहुन्छ ।’ उनले सुधन गुरुङको क्यारेक्टरलाई केवल व्यक्ति नभई एउटा ‘सिस्टम’माथिको व्यङ्ग्यको रूपमा प्रस्तुत गरेका छन् । ‘हामीले सुधनजीको क्यारेक्टर गर्दा उहाँले जे-जे गर्नुभएको छ, त्यसलाई आर्टको माध्यमबाट पस्केका हौँ । यो उहाँमाथि मात्र होइन, हाम्रो प्रणालीमाथिको व्यङ्ग्य पनि हो ।‘

प्रभात लामा कमेडियन मात्रै होइनन्, उनी सञ्चारकर्मी पनि हुन् । बोल्ड आवाजका धनी उनले लामो समय रेडियोमा आरजे बनेर समाचार र कार्यक्रम प्रस्तुत गरे । रेडियोमै पछि हास्य-व्यंग्य कार्यक्रमका प्रस्तोता बने । पछिल्लो समय उनी ‘कमेडी नाइट विथ च्याम्पियन’ मार्फत दर्शकमाझ छाइरहेका छन् । यसै शोका लागि उनी दुईपटक ‘सुधन गुरुङ’ बने । सुधन गुरुङ पूर्व गृहमन्त्री तथा जेनजी आन्दोलनका अगुवा हुन् ।
सफलता त्यसै आउँदैन, त्यसका लागि थुप्रै हन्डर खाँदै संघर्षको लामो यात्रा पार गर्नुपर्छ । प्रभातले यो मुकामसम्म आइपुग्न धेरै घामपानी सहँदै उकाली-ओरालीको यात्रा गरेका छन् । महोत्तरीको बर्दिबासमा जन्मे-हुर्केका उनको करिअरको यात्रामा गाउँको धुलो, पारिवारिक वियोग र रेडियोमा काम गर्दाको संघर्ष साक्षी छन् ।
निम्नमध्यम वर्गीय परिवारमा जन्मेका उनको बाल्यकाल अभाव र संघर्षमा बित्यो । ११ वर्षको उमेर हुँदा बुवा गुमाउनुपर्यो भने १२ वर्षको उमेरमै हलो जोतेर घरको जिम्मेवारी सम्हाल्नुपर्यो ।
‘हाम्रो परिवार ठुलो थियो, बुवा बितेपछि आमा सधैँ भावुक हुनुहुन्थ्यो,’ उनी विगत सम्झिन्छन्, ‘त्यो डिप्रेस्ड माहोललाई रमाइलो बनाउन म कहिलेकाहीँ नाच्ने-हँसाउने गर्थेँ । सायद त्यहीँबाट मभित्र अरूलाई खुसी पार्ने भावना जागृत भयो ।‘ अभाव र पीडाले मान्छेलाई हाँसो खोज्न बाध्य पार्ने उनी अनुभव सुनाउँछन् ।
कमेडीमा सफलता पाउन एउटा मात्र हिट क्यारेक्टरले नपुग्ने प्रभात बताउँछन् । ‘सफलता भनेको १०० पटक बन्चरो प्रहार गरेपछि ढल्ने रुख जस्तै हो । ९९ पटकको प्रहारले मात्र रुख ढल्दैन, त्यसको योगफल अन्तिम प्रहारमा देखिन्छ,’ प्रभात भन्छन् । कमेडीमा नयाँपन दिनु नै सबैभन्दा चुनौती हुने उनको बुझाइ छ । गायक-गायिकाले २५ वर्ष पुरानो गीत गाएर पनि ताली पाउँछन्, तर कमेडियनले एउटै जोक दोहोर्याएमा दर्शकले ‘अर्को नयाँ के छ ?’ भन्न थालिहाल्छन्,’ उनी भन्छन् ।

मिमिक्री गर्न खप्पिस छन् प्रभात । राजेश हमाल, महावीर पुन, हर्क साम्पाङदेखि सुधन गुरुङसम्मको मिमिक्रीमा उनी खरो उत्रिएका छन् । चर्चित व्यक्तिहरूको मिमिक्री गर्दा उनीहरूको स्वर मात्र होइन, भावभंगी र शैलीलाई पनि मिहिन ढंगले अध्ययन गर्छन् प्रभात । यसरी मिमिक्री गर्दा धेरैले ‘एप्रिसिएट’ गर्ने गरेपनि केही भने खन्निन्छन् ।
प्रभात सामाजिक-राजनीतिक मुद्दामा पनि प्रखर ढंगले आवाज उठाउँछन् । अहिले सरकारले सुकुमबासी बस्ती खाली गराउन डोजर चलाइरहेको छ । तर यो कुरा प्रभातलाई उति निको लागेको छैन । ‘म डोजर चलाउनै हुन्न भन्ने होइन, तर प्रक्रिया पुर्याएर गर भन्छु । गरिबको गार्जियन सरकार हो, उसले नै आतङ्कवादीलाई जस्तो व्यवहार गर्नु भएन,’ उनी भन्छन् ।‘ उनी किलो ट्याङ्क र डोजरको सन्दर्भ जोड्दै मानवीय संवेदनालाई बिर्सन नहुने बताउँछन् ।
‘हाम्रो देश सुहाउँदो नीति नियम हुनुपर्छ । कसैले बरखी बार्दा ट्राफिकले हेलमेट नलगाए पनि छुट दिने हाम्रो संस्कार छ । गरिबको आवास खोस्दा सरकार अलि उदार हुनुपर्थ्यो,’ उनको बुझाइ छ ।
प्रभातले ‘टक फर्वार्ड’मा अभिव्यक्ति स्वतन्त्रतालाई लिएर पनि राम्रैसँग आफ्नो विचार सेयर गरे । उनको अनुभवमा अभिव्यक्ति स्वतन्त्रता नीतिगत रूपमा भन्दा पनि सामाजिक रूपमा खुम्चिएको छ । ‘पहिले राणाकालमा भौतिक कारबाही हुन्थ्यो, अहिले मेन्टल्ली अट्याक हुन्छ । कसैको विरुद्धमा बोल्दा परिवार र व्यक्तिगत तस्बिरमा प्रहार गरिन्छ, जसले मान्छेलाई डिप्रेस्ड बनाउँछ ।‘ कलाकारहरू सधैँ सत्ताको खबरदारी गर्ने पक्षमा हुनुपर्ने उनी ठान्छन् । ‘सत्ताले कमेडीलाई जहिले पनि उपेक्षा गर्छ, किनकि उसलाई कमेडीसँग डर लाग्छ,’ उनी भन्छन् ।
कमेडियन प्रभात लामासँग संघर्षदेखि सफलता, नेपाली कमेडी क्षेत्र र सामाजिक-राजनीतिक चासोका विषयमा गरिएको विस्तृत कुराकानी भिडियोमा हेर्न-सुन्न सकिन्छ ।
भिडियो/फोटो : मनोज खड्का, आयुष धामी/रातोपाटी
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण