सोमबार, ०८ असार २०८३
ताजा लोकप्रिय

छुट्टाछुट्टै सडक दुर्घटनामा बालिकासहित तीन जनाको मृत्यु

मङ्गलबार, २२ वैशाख २०८३, १३ : ५७
मङ्गलबार, २२ वैशाख २०८३

सारांश

  • तराईका विभिन्न जिल्लामा भएका छुट्टाछुट्टै सडक दुर्घटनामा परी एक बालिकासहित तीन जनाको मृत्यु भएको छ।
  • सर्लाहीमा मोटरसाइकलको ठक्करबाट पैदलयात्रीको मृत्यु भएको छ भने महोत्तरीमा अनियन्त्रित भई ट्याक्टर पल्टिँदा चालकको ज्यान गएको छ।
  • सिराहामा मोटरसाइकलले ठक्कर दिँदा गम्भीर घाइते भएकी तीन वर्षीया बालिकाको उपचारका लागि लैजाने क्रममा बाटोमै मृत्यु भएको छ।

काठमाडौँ । तराईका विभिन्न जिल्लामा भएका छुट्टाछुट्टै सडक दुर्घटनामा परी एक बालिकासहित तीन जनाको मृत्यु भएको छ। 

सर्लाही, महोत्तरी र सिराहामा भएका यी सवारी दुर्घटनामा परि पैदलयात्री र चालकले ज्यान गुमाएका हुन्।

पहिलो दुर्घटना सर्लाहीको बागमती नगरपालिका–२ धरहरा चोकस्थित सडकमा भएको हो। सोमबार बेलुकी बीआर ३३ बीएफ ७८२१ नम्बरको भारतीय मोटरसाइकलले पैदल हिँडिरहेका स्थानीय ७५ वर्षीय हरि बहादुर अधिकारीलाई ठक्कर दिएको थियो। मोटरसाइकलको ठक्करबाट गम्भीर घाइते भएका अधिकारीलाई तत्काल उपचारका लागि बारास्थित एलएस न्यूरो अस्पताल पुर्‍याइएको थियो। उनको उपचारकै क्रममा अस्पतालमा मृत्यु भएको प्रहरीले जनाएको छ। ठक्कर दिने मोटरसाइकल चालकलाई प्रहरीले नियन्त्रणमा लिएर कानुनी कारबाही अगाडि बढाएको छ।

यसैगरी महोत्तरीको बर्दिबास नगरपालिका–४ स्थित लक्ष्मी खोलाको पूर्वपट्टी रहेको सडक खण्डमा अर्को दुर्घटना भएको छ। सोमबार राति प्र.२–०२–००१ त २१०८ नम्बरको ट्याक्टर अनियन्त्रित भई सडकमै पल्टिएको थियो। उक्त दुर्घटनामा परेर ट्याक्टर चालक बर्दिबास नगरपालिका–५ गढन्ता टोल बस्ने २६ वर्षीय अनिल कार्कीको घटनास्थलमै मृत्यु भएको छ। तीव्र गतिका कारण ट्याक्टर अनियन्त्रित भएको हुनसक्ने प्रहरीको अनुमान छ।

अर्को दुःखद दुर्घटना सिराहाको सिराहा नगरपालिका–१७ मा भएको छ। माडर चोकबाट भन्सार कार्यालयतर्फ जाँदै गरेको प्र.२–०१–००४ प ९३४७ नम्बरको मोटरसाइकलले पैदल हिँडिरहेकी ३ वर्षीया बालिका अलीना खातुनलाई ठक्कर दिएको थियो। सोमबार बिहान भएको उक्त दुर्घटनामा परि गम्भीर घाइते भएकी सिराहा नगरपालिका–१६ माडर बस्ने महमद अजातकी छोरी अलीनालाई तत्काल न्यूरो अस्पताल जनकपुर लगिएको थियो। 

त्यहाँ उपचार सम्भव नभएपछि थप उपचारका लागि विराटनगरतर्फ लैजाने क्रममा मंगलबार बिहान बाटोमै उनको मृत्यु भएको हो। दुर्घटना लगतै मोटरसाइकल चालक फरार भएकाले प्रहरीले उनको खोजी कार्य तीव्र बनाएको छ। 

सबै दुर्घटनाका सम्बन्धमा स्थानीय प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप