बुधबार, १० असार २०८३
ताजा लोकप्रिय

दिल्लीमा एभरेस्ट चेम्बरको नयाँ नेतृत्व चयन, मोहन कार्की बने अध्यक्ष

मङ्गलबार, २२ वैशाख २०८३, १८ : ५०
मङ्गलबार, २२ वैशाख २०८३

काठमाडौँ । भारतमा रहेका प्रवासी नेपाली उद्योगी-व्यवसायीहरूको छाता संगठन एभरेस्ट चेम्बर अफ कमर्स एन्ड इन्डस्ट्रिज (ईसीसीआई)को अध्यक्षमा मोहन कार्की चयन भएका छन् । आइतबार नयाँ दिल्लीमा भएको पाँचौँ साधारणसभाले कार्कीको नेतृत्वमा २७ सदस्यीय नयाँ कार्यकारिणी समिति सर्वसम्मत चयन गरेको हो । 

योग विषयमा विद्यावारिधि गरेका कार्की द योगगुरु इन्स्टिच्युटका संस्थापक समेत हुन् । संस्थाले सदस्य विस्तार भएका राज्यहरूलाई ६ क्षेत्र (जोन)मा विभाजन गरी उपाध्यक्षहरू चयन गरेको छ । जसअनुसार केन्द्रबाट राजकुमार श्रेष्ठ, राम नेपाल र प्रमोद खरेल चयन भएका छन् । महाराष्ट्रबाट मनोज कोटाल, नेपालबाट दुर्गा सुवेदी, मध्यप्रदेशबाट गणेश पाण्डे र पश्चिम बंगालबाट खेमराज बराल चयन भएका छन् । 

ईसीसीआईको महासचिवमा चन्द्र लामिछाने, उपमहासचिवमा एलपी पाण्डे, कोषाध्यक्षमा सीए सन्दीप कौशल चयन भएका छन् । 

कार्यक्रममा नवनिर्वाचित अध्यक्ष कार्कीलाई निवर्तमान अध्यक्ष युवराज बरालले पदभार हस्तान्तरण गरेका थिए । नवनिर्वाचित अध्यक्ष कार्कीले संस्थालाई सशक्त नेटवर्किङ प्लेटफर्मका रूपमा अघि बढाउने प्रतिबद्धता व्यक्त गर्दै पारदर्शिता र संस्थागत विकासलाई प्राथमिकता दिने बताए । 

कार्यक्रममा नेपाली दूतावासका नियोग उपप्रमुख सुरेन्द्र थापाले भारतमा प्रवासी नेपाली व्यवसायीहरूको संगठनप्रति गर्व व्यक्त गर्दै दूतावासले विगतको जसरी नै नयाँ कार्यसमितिसँग सहकार्य गर्ने आश्वासन दिए । 

सन् २००८ मा स्थापना भएको ईसीसीआईका संस्थापक अध्यक्ष चिरञ्जीवी मरासिनी हुन् । हाल यो संस्थामा भारतका विभिन्न ६ राज्यमा रहेका ५०० भन्दा बढी नेपाली मूलका उद्योगी–व्यवसायी आबद्ध छन् । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप