कृषिबाटै आर्थिक रूपमा कायापलट गरे मण्डलले, अन्य युवा पनि प्रेरित
सारांश
- महोत्तरीका युवा कृषक रामध्यान मण्डलले व्यावसायिक कृषिबाट आर्थिक रूपमा कायापलट गरेका छन् ।
- उनले लिजमा लिएको २२ बिघा जमिनमा तरबुजा खेती सुरु गरी हालसम्म १४ लाख रुपैयाँ लगानीमा ३ लाख ५० हजारको तरबुजा बिक्री गरिसकेका छन् ।
- मण्डलको यो सफलताले धेरै युवालाई स्वदेशमै कृषि पेसा अपनाउन प्रेरित गरेको छ ।
जनकपुरधाम । महोत्तरी जिल्लाका युवामा वैदेशिक रोजगारीप्रति आकर्षण बढिरहेका वेला एक युवा कृषकले स्वदेशमै परिश्रम गरेर राम्रो आम्दानी गर्न सम्भव रहेको उदाहरण प्रस्तुत गरेका छन् ।
महोत्तरीको सम्सी गाउँपालिका–५, गाढाका रामध्यान मण्डल व्यावसायिक कृषिका माध्यमबाट आर्थिक रूपमा कायापलट गर्न सफल भएका छन् ।
केही वर्षदेखि व्यावसायिक रुपमै कृषि पेसामा लागेका मण्डलले महोत्तरीको रामगोपालपुर नगरपालिका, लक्ष्मीपुरस्थित वर्षौंदेखि बाँझो रहेको जमिनमा तरबुजा खेती गरेका छन् । अहिले उनी तरबुजाको स्याहार–सुसारदेखि पाकेको तरबुजा बजारसम्म पुर्याउने काममा व्यस्त छन् ।
रामगोपालपुर नगरपालिकास्थित माध्यमिक विद्यालय, बसपिट्टीको २२ बिघा जग्गा वार्षिक ६ लाख ५० हजार रुपैयाँमा लिजमा लिएर उनले खेती सुरु गरेका हुन् । त्यसमध्ये करिब ७ बिघा जमिनमा उनले तरबुजा खेती गरेका छन् । तरबुजा खेतीमा हालसम्म १४ लाख रुपैयाँ खर्च भइसकेको उनले बताए ।
पहिलो चरणमै ३ लाख ५० हजार रुपैयाँ बराबरको तरबुजा बिक्री गरिसकेको मण्डलले बताए । यस सिजनमा तरबुजाबाट २५ लाख रुपैयाँसम्म आम्दानी गर्ने लक्ष्य रहेको उनको भनाइ छ ।
मण्डलले ६ वर्षदेखि वैष्णोदेवी कृषि फर्ममार्फत सम्सी गाउँपालिका र रामगोपालपुर नगरपालिकामा गरी ५४ बिघा जमिनमा फलफूल, तरकारी, माछापालन र कुखुरापालन गर्दै आएका छन् । उनको कृषि व्यवसायमा अहिले १६ देखि १७ जनाले रोजगारीसमेत पाएका छन् ।
मण्डलले कृषि पेसा अवसरमात्र नभई चुनौतीपूर्ण पनि रहेको बताए । खेतमा लगाएको तरबुजा चोरी हुने, जंगली जनावरले नोक्सान पुर्याउने र सुरक्षाको अभाव रहने समस्या रहेको उनको भनाइ छ । विशेषगरी निलगाई लगायतका जनावरले फल लागेका बाली नष्ट गर्न सक्ने डरले उनलाई सधैँ चिन्ता लागिरहन्छ ।
खेतीका लागि आवश्यक विद्युत र पानीको सहज पहुँच नहुँदा थप समस्या हुने मण्डलले बताए । खेतमा सिँचाइको समस्या समाधान गर्न उनले दमकलको प्रयोग गरेका छन् ।
मण्डलका अनुसार स्थानीय सरकारले विद्युत र खानेपानीको उचित व्यवस्थापन गर्न नसक्दा धेरै कृषक खेतीप्रति आकर्षित हुन सकेका छैनन् । सरकारले समयमै मल, बिउ, पानी र विद्युतको व्यवस्था गरिदिए कृषि क्षेत्रबाट राम्रो लाभ लिन सकिने उनले बताए ।
मण्डलका अनुसार तरबुजा खेतीको उपयुक्त समय पुसदेखि माघसम्म हो । यसपालि उनले माघ महिनामा बिरुवा रोपेका थिए । बिरुवा रोपेको करिब ७० दिनभित्र फल लाग्न सुरु हुन्छ भने ९० दिनभित्र पूर्ण रूपमा पाकेर बजारमा पठाउन सकिन्छ । गर्मी मौसममा बढी माग हुने भएकाले तरबुजा खेतीबाट राम्रो आम्दानी हुने उनले बताए ।
_tMHthpPXpm.jpg)
मण्डलले यसपालि तरबुजाको बिरुवा भारतको मद्रासबाट ल्याएर रोपेका हुन् । बजारमा भारतबाट आयात हुने तरबुजाको विकल्प नेपाली किसानले उत्पादन गरेका तरबुजा बन्न सक्ने उनको भनाइ छ । भारतबाट आउने फलफूलमा विषादी प्रयोग हुने भएकाले स्वदेशमै उत्पादन भएका फलफूल स्वास्थ्यका दृष्टिले राम्रो हुने उनले बताए ।
मण्डलले उत्पादन गरेको तरबुजा अहिले जनकपुर, ढल्केवर, बर्दिबास लगायतका बजारमा बिक्री भइरहेको छ । बजारको अभाव नभएको र उपभोक्ताबाट राम्रो माग आएको उनको भनाइ छ ।
सन् २०१५ मा वैदेशिक रोजगारीका लागि विदेश गएका मण्डल १३ महिनामै स्वदेश फर्किएका थिए । विदेशको दुःख, परिश्रम र परिवारबाट टाढा रहनुपरेको अनुभवपछि उनले आफ्नै देशमा केही गर्ने सोच बनाए । त्यसपछि कृषि क्षेत्रमा लगानी सुरु गरेर आज सफल कृषक बनेका छन् ।
उनको सफलताबाट धेरै युवा प्रभावित भएका छन् । एकडारा गाउँपालिका–४ का राकेश यादवले रामध्यान मण्डलको कामबाट आफू प्रभावित भएको बताए । अब आफू पनि कृषि पेसामा लाग्ने निष्कर्षमा पुगेको यादवले बताए ।
सम्सी गाउँपालिका–५ का रविन्द्र ठाकुरले पनि रामध्यान मण्डलबाट प्रेरणा लिएर दुई वर्षदेखि माछापालन र तरकारी खेती गरिरहेका छन् ।
सर्लाहीको पर्सा गाउँपालिकाका बनिन्द्र मुखियाले पनि रामध्यान मण्डलसँगै सल्लाह लिएर केरा, तरबुजा र माछापालन सुरु गर्ने तयारी थालेका छन् । उनले करिब ७ बिघा जमिनमा खेती गर्ने योजना बनाएका छन् ।
सम्सी गाउँपालिका–३ का रामजतन साहले आफू विदेशबाट फर्किएपछि राम ध्यानको कृषि कार्य देखेर प्रभावित भएको बताए । उनले रामध्यानसँग सल्लाह लिएर ६ महिनादेखि कृषि पेसामा लागेको र अहिले आम्दानी पनि सन्तोषजनक रहेको जानकारी दिए ।
जलेश्वर नगरपालिका–१० का विवेक कर्ण पनि ३ बिघा जमिनमा केरा र तरकारी खेती गर्दै आएका छन् । उनले पनि रामध्यान मण्डलकै सफलताबाट आफू कृषि पेसामा समर्पित भएको बताए ।
सरकारले किसानलाई आवश्यक मल, बिउ, सिँचाइ र विद्युतको व्यवस्था मिलाइदिए हजारौँ युवा विदेशिनुपर्ने अवस्था अन्त्य हुन सक्ने रामध्यान मण्डलको भनाइ छ । विदेशमा पसिना बगाउनुको सट्टा आफ्नै देशमा मेहनत गर्दा परिवारसँगै बसेर आत्मसम्मानका साथ जीवनयापन गर्न सकिने उनले प्रस्ट पारे ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
रास्वपामा संस्थापक सदस्य स्वतः केन्द्रीय सदस्य बन्ने निर्णय खारेज, केही नेता असन्तुष्ट
-
मौन आँसुको विकासे समाजशास्त्र
-
नयाँ दिल्लीमा कक्रोच जनता पार्टीको निरन्तर धर्ना : शिक्षा मन्त्रीको राजीनामा माग
-
केप भर्डेका गोलकिपर भोजिन्हा र उनकी आमा आनाको यो जीत
-
रास्कोट नगरसभामा ५६ करोड ६७ लाखको बजेट पेस
-
रणवीर सिंह बने सबैभन्दा महँगा भारतीय अभिनेता, ‘धुरन्धर’बाट कमाए ३२५ करोड भारु
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण