सुदूरपश्चिम एमालेको विवाद सुल्झाउन ओलीले बढाए सक्रियता
सारांश
- नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले सुदूरपश्चिम प्रदेश संसदीय दलभित्रको विवाद समाधान गर्न सक्रियता बढाएका छन् ।
- सुदूरपश्चिमका एमाले प्रदेश सभा सदस्यहरूलाई काठमाडौँ बोलाएर संसदीय दलको नेतृत्वबारे छलफल गरिनेछ ।
- बैठकमा संसदीय दलको नेताको विषयसँगै प्रदेश सरकारको भविष्य र नयाँ सत्ता समीकरणबारे पनि छलफल हुनेछ ।
धनगढी । नेकपा एमाले सुदूरपश्चिम प्रदेश संसदीय दलभित्रको विवाद चुलिँदै गएपछि पार्टी अध्यक्ष केपी शर्मा ओलीले समाधानका लागि सक्रियता बढाएका छन् । संसदीय दलको नेतृत्वलाई लिएर उत्पन्न आन्तरिक किचलो मिलाउन अध्यक्ष ओलीले सुदूरपश्चिमका एमाले प्रदेश सभा सदस्यहरूलाई काठमाडौँ बोलाएका हुन् ।
अध्यक्ष ओली र सुदूरपश्चिमका प्रदेशसभा सदस्यहरूबिच बुधबार भक्तपुरको गुण्डुमा निर्णायक छलफल हुँदैछ । छलफलका लागि संसदीय दलका नेता एवं पूर्वमुख्यमन्त्री राजेन्द्र सिंह रावलसहित सबै ११ जना सांसद काठमाडौँ आइपुगेका छन् । बैठक बिहान ११ बजेका लागि तय गरिएको भए पनि समय केही हेरफेर हुन सक्ने एक सांसदले जानकारी दिए ।
सुदूरपश्चिम प्रदेश सभा एमाले संसदीय दलका नेता राजेन्द्र सिंह रावलको कार्यशैलीप्रति पार्टीका सांसदहरूले लामो समयदेखि असन्तुष्टि व्यक्त गर्दै आएका छन् । निर्वाचन परिणाम सार्वजनिक भएदेखि नै सांसदहरूको एउटा समूहले रावललाई हटाएर नयाँ नेतृत्व चयन गर्नुपर्ने माग राख्दै आएको छ । उनीहरूले सहमतिमा नेतृत्व परिवर्तन नभए लोकतान्त्रिक प्रक्रियाबाट भए पनि नयाँ नेता छान्न पाउनुपर्ने अडान अध्यक्ष ओलीसमक्ष राख्ने तयारी गरेका छन् ।
बैठकमा संसदीय दलको नेताको विषयमात्र नभई प्रदेश सरकारको भविष्य र नयाँ सत्ता समीकरणबारे पनि गम्भीर छलफल हुने बुझिएको छ । हाल सुदूरपश्चिममा नेपाली कांग्रेसका कमलबहादुर शाहको नेतृत्वमा एमालेसहितको गठबन्धन सरकार छ । पछिल्लो समय एमालेभित्र कांग्रेससँगको सहकार्यप्रति असन्तुष्टि बढ्दो छ ।
एमाले स्रोतका अनुसार कांग्रेससँगको साझेदारी तोडेर नेपाली कम्युनिस्ट पार्टी (साविकको माओवादी केन्द्र, एकीकृत समाजवादी लगायतका दल)सँग सत्ता समीकरण बनाउने विषयमा केन्द्रमा पनि संवाद भइरहेको छ । सुदूरपश्चिम प्रदेश सभामा एमालेका ११ र नेकपाका २२ सांसद छन् । नेकपामा २२ मध्ये एक सांसद निलम्बित छन् । एमाले र नेकपाबिच सहमति जुटेमा नयाँ सरकार निर्माणका लागि आवश्यक बहुमत पुग्ने देखिन्छ ।
प्रदेश सरकारका आन्तरिक मामिला तथा कानुनमन्त्री एवं एमाले नेता हिरा सार्कीले संसदीय दलको नेताका विषयमा छलफल हुन लागेको पुष्टि गरे पनि सरकार परिवर्तनबारे भने अहिले नै ठोस निर्णय भइनसकेको बताए । ‘हामी अहिले सरकारमै छौँ र काम गरिरहेका छौँ । केन्द्रले जे निर्णय गर्छ, हामी त्यसैलाई पालना गर्छौं,’ उनले भने । सरकारको सहकार्य टुट्ने विषयमा आफूलाई कुनै जानकारी नरहेको उनले बताए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
स्वाद र सुगन्धले चर्चित जोरायले बासमती पुनः किसानको रोजाइमा
-
झापामा लागुऔषध सेवन र कारोबार घटाउन अभियान सञ्चालन
-
भन्सालीको ‘लभ एन्ड वार’ को सेटमा भयानक दुघर्टना, एक जनाको मृत्यु
-
टिपर दुर्घटनामा चालकको मृत्यु
-
पूर्वप्रधानन्यायाधीश पराजुली भन्छन्, ‘न्यायाधीशलाई गोलाप्रथाबाट मुद्दा तोक्ने व्यवस्था संविधानसम्मत छैन’
-
‘झिंगे दाउ २’ असोजमा रिलिज हुने
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण