सिरीमा एआई अपडेट ढिलाइ गरेको आरोप : २५ करोड डलर तिरेर मुद्दा सुल्झाउन एप्पल तयार
सारांश
- एप्पलले सिरीमा एआई अपडेट ढिलाइ गरेको आरोपमा २५ करोड डलर तिरेर मुद्दा सुल्झाउने सहमति गरेको छ।
- सेयरधनीले सन् २०२४ मा एप्पलले सिरीमा घोषणा गरिएका एआई सुविधाहरू नयाँ आईफोनमा नदिएको भन्दै मुद्दा दायर गरेका थिए।
- यद्यपि, एप्पलले आफ्नो कुनै गल्ती स्वीकार गरेको छैन र सम्झौता कार्यान्वयनका लागि अदालतको स्वीकृति आवश्यक छ।
क्यालिफोर्निया । प्रविधि क्षेत्रको विशाल कम्पनी एप्पलले आफ्नो चर्चित भ्वाइस असिस्टेन्ट ‘सिरी मा आर्टिफिसियल इन्टेलिजेन्स (एआई) अपग्रेडहरू ढिलाइ गरेको विषयमा सेयरधनीहरूले दायर गरेको मुद्दा सुल्झाउन २५ करोड अमेरिकी डलर तिर्ने सहमति गरेको छ।
मंगलबार भएको यस सम्झौतासँगै एप्पलले अदालतमा लामो समयदेखि चलिरहेको कानुनी झमेलाबाट मुक्ति पाउने संकेत देखिएको हो।
यो विवाद सन् २०२४ देखि सुरु भएको हो, जब पिटर ल्यान्डसेफ्ट नाम गरेका सेयरधनीले क्यालिफोर्नियाको अमेरिकी संघीय अदालतमा एप्पलविरुद्ध मुद्दा दायर गरेका थिए। सन् २०२४ को आफ्नो वार्षिक सफ्टवेयर विकासकर्ता सम्मेलन (डब्लूडब्लूडीसी) मा एप्पलले नयाँ आईफोनहरूसँगै सिरीमा थुप्रै शक्तिशाली एआई सुविधाहरू उपलब्ध गराउने ठूलो घोषणा गरेको थियो र त्यसको आक्रामक रूपमा विज्ञापनसमेत सुरु गरेको थियो। तर, जब नयाँ आईफोनहरू बजारमा आए, ती घोषित एआई सुविधाहरू त्यसमा सामेल थिएनन्।
यो ढिलाइले कम्पनीको साख र सेयर मूल्यमा असर पुर्याएको र यसबाट सेयरधनीहरूलाई ठूलो आर्थिक नोक्सानी भएको दाबी वादी पक्षले गरेका थिए। सन् २०२५ मा एप्पलले सिरीको पूर्ण एआई ओभरहल यो वर्षभन्दा अघि नआउने स्पष्ट पारेको थियो। हालै एप्पलका कार्यकारीहरूले नयाँ सिरीका सुविधाहरू आगामी महिना आयोजना हुने वार्षिक विकासकर्ता सम्मेलनमा मात्रै सार्वजनिक गरिने पुष्टि गरेका छन्।
यो सम्झौतामा एप्पलले आफ्नो कुनै गल्ती वा कमजोरी भने स्वीकार गरेको छैन। सम्झौतालाई पूर्ण रूपमा लागू गर्न अझै अदालतका न्यायाधीशको अन्तिम स्वीकृति आवश्यक पर्छ।
एप्पलले एक विज्ञप्ति जारी गर्दै सन् २०२४ मा ‘एप्पल इन्टेलिजेन्स’ सार्वजनिक गरेयता कम्पनीले अन्य धेरै एआई सुविधाहरू प्रयोगकर्तामाझ ल्याइसकेको दाबी गरेको छ।
आफ्नो बचाउ गर्दै एप्पलले विज्ञप्तिमा लेखेको छ, ‘एप्पलले दुईवटा थप सुविधाहरूको उपलब्धतासँग सम्बन्धित दाबीहरूलाई समाधान गर्न यो सम्झौता गरेको हो। हामीले हाम्रा प्रयोगकर्ताहरूलाई सबैभन्दा नवीन उत्पादन र सेवाहरू प्रदान गर्ने हाम्रो मुख्य काममा ध्यान केन्द्रित गरिरहनका लागि यो विषयलाई सहमतिमा टुङ्ग्याएका हौँ।’
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण